आज अक्षय तृतीया पर्व: दान, जप र शुभ कार्यका लागि साइत हेर्नु नपर्ने विशेष दिन
आज बैशाख शुक्ल तृतीया,अर्थात् ‘अक्षय तृतीया’ पर्व । सनातन हिन्दु धर्ममा यस तिथिलाई अत्यन्तै शुभ र सिद्धिदायक मानिन्छ।
‘अक्षय’ को शाब्दिक अर्थ ‘कहिल्यै नाश नहुने’ वा ‘सधैँ बढिरहने’ हुन्छ। त्यसैले,आजको दिन गरिने पुण्य,दान,जप,तप र होमजस्ता कर्मले अक्षय फल प्रदान गर्ने शास्त्रीय मान्यता छ ।
बैशाख शुक्ल तृतीयामा गरिएको दान आदि कर्म कहिल्यै नष्ट हुँदैन र त्यसको फल अनन्त रहन्छ ।
अक्षय तृतीयालाई सबै सिद्धिदायक तिथि मानिन्छ । बैशाख महिनामा सूर्य ग्रह मेष राशिमा गोचर गरी उच्च हुने र आज चन्द्रमा पनि वृष राशिमा गोचर गरी उच्च भएको हुनाले आजको दिन अत्यन्तै शुभ रहेको छ।ज्योतिष शास्त्रीय दृष्टिकोणले हेर्दा,अक्षय तृतीया ‘अबूझ मुहूर्त’ को रूपमा परिचित छ।
सूर्य र चन्द्रमा दुवै शक्तिशाली अवस्थामा रहने हुँदा कुनै पनि शुभ कार्यका लागि पृथक् मुहूर्त अन्वेषण आवश्यक पर्दैन।अतः घरको जग पूजा,गृहप्रवेश, व्रतबन्ध,विवाह,व्यापारारम्भ आदि कार्यहरू स्वतः सिद्ध मानिन्छन् ।
आजकै तिथिबाट सत्ययूग आरम्भ भएको मानिन्छ।यूगादि तिथिमा विधिवत् धारसमुद्रमा स्नान गर्ने मानिसले कुरुक्षेत्रमा हजार गाई दान गरेको फल र भूमि दान गरेको फल समेत प्राप्त गर्दछ भनी शास्त्रमा वर्णन गरिएको छ।आज गरिने सत्कर्मले अनन्तसम्म फल प्राप्त भइरहन्छ भन्ने धार्मिक आस्था रहिआएको छ।