छन्द–साधना पुरस्कार–२०८१ विनोदी र अलङ्कारलाई

खगिन्द्रा खुसी · भदौ २२, २०८१ १०:०१ PM
Cover Image for News

                  नेपाली छन्दकवितामा स्तरीकरण तथा मानकीकरण अभियानको घोषणासहित कविद्वय प्रा.डा. रामप्रसाद ज्ञवाली र प्रा.डा. देवी नेपालबाट सञ्चालित ‘छन्द–तरङ्ग’ले एक विज्ञप्तिमार्फत यस वर्षको ‘छन्दसाधना पुरस्कार’ घोषणा गरेको छ । २०७६ सालदेखि हरेक वर्ष छन्दकविताका एक जना विशिष्ट साधकलाई प्रदान गरिँदै आएको ‘विशिष्ट छन्दसाधना पुरस्कार’ र २०७९ सालदेखि चालिस वर्षभित्रका एक जना युवाकविलाई प्रदान गरिँदै आएको ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार’को घोषणा आज गरिएको हो । नेपाली छन्दकविता साधनामा सक्रिय दुई पुस्ताका छन्दसाधकहरूलाई जोड्ने र नयाँ पुस्तालाई छन्दकविता सिर्जनाका लागि उत्प्रेरित गर्ने उद्देश्यले ज्येष्ठ पुस्ता र युवा पुस्तालाई एकै ठाउँमा राखेर सम्मान गर्ने अभियान अन्तर्गत २०८१ सालको ‘विशिष्ट छन्दसाधना पुरस्कार’ वरिष्ठ कवि गोविन्दराज विनोदी (नवलपरासी) लाई र ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार’ प्रखर युवाकवि रूपक अलङ्कार (धादिङ) लाई प्रदान गरिने भएको छ । उक्त विशिष्ट छन्दसाधना पुरस्कारबाट यसअघि नै छन्दसाधकहरू रमेश खकुरेल, चन्द्रप्रसाद न्यौपाने, प्रा. घनश्याम कँडेल, रामचन्द्र भट्टराई र भुवनहरि सिग्देल पुरस्कृत भइसक्नुभएको छ भने छन्दसाधना युवा प्रतिभा पुरस्कारबाट युवाकवि सुदेश सत्याल र कविराज पौडेल पुरस्कृत भइसक्नुभएको छ ।

नेपाली कविताको इतिहासमा विगत लामो समयदेखि शास्त्रीय छन्दको विकास, विस्तार, परिष्कार तथा मानकीकरणका लागि अहोरात्र समर्पित भई नेपाली छन्दकविताको उन्नयनमा अतुलनीय योगदान दिएबापत वरिष्ठ कवि विनोदीलाई विशिष्ट छन्दसाधना पुरस्कार प्रदान गरिएको हो । वि.सं. २०१० साउन २८ गते रूपाकोट, कास्कीमा जन्मिएर विगत पाँच दशकभन्दा लामो समयबाट अत्यन्त सक्रियताका साथ कविता–काव्यको सिर्जनामा लाग्नुभएका विनोदीका ‘मेरो वर्तमानता’ (२०४७) लगायतका चारओटा कवितासङ्ग्रह, ‘छन्दविनोद’ (२०५९) लगायतका पाँचओटा खण्डकाव्य, ‘कैकेयी’ (२०७४) महाकाव्य, ‘आँखाका नानी’ (२०५७) लगायतका सातओटा बालकविता, गीत र गजलसङ्ग्रह, ‘निर्मम निर्मम घडीहरू’ (२०५६) गजलसङ्ग्रह र ‘सृष्टिमाथिका दृष्टि’ (२०६६) समीक्षासङ्ग्रह लगायतका भन्डै दुई दर्जन कृतिहरू प्रकाशन भइसकेका छन् । कविताको लघुतम रूप, लघु रूप, मध्यम रूप हुँदै बृहत् रूपसम्मका सिर्जनामा सफलतापूर्वक कलम चलाउँदै बहरबद्ध गजल र लयबद्ध बालकविताका साथै छन्दसिद्धान्तका विषयमा समेत विशिष्ट रचनाहरू प्रदान गरिसक्नुभएका विनोदीका छन्दकविताहरू कलासौन्दर्य र परिष्कृति शिल्पकारिताका दृष्टिले उच्चकोटिका मानिन्छन् । 

Govindaraj Binodi.jpg 60.81 KB
यसरी नै वि.सं. २०४३ भदौ १२ गते थाक्रे–८, धादिङमा जन्मिएर २०६० को दशकबाट सिर्जना यात्रामा सक्रिय रही हाल ‘अनाममण्डली’जस्तो नेपाली गजलको उन्नयनमा सक्रिय संस्थाको अध्यक्षसमेत रहनुभएका रूपक अलङ्कार प्रखर युवाकवि, गजलकार, समीक्षक, अनुवादक र प्रशिक्षकका रूपमा समेत परिचित हुनुहुन्छ । ‘देशको पुर्पुरो’ (२०६८) बहरबद्ध गजलसङ्ग्रह, ‘विश्रान्त’ (२०७८) महाकाव्य र ‘चाणक्यनीति दर्पण’ (२०८१) अनुवाद जस्ता कृतिहरू र सयौँ फुटकर छन्दकविता तथा बहरबद्ध गजलका माध्यमबाट सशक्त सिर्जना क्षमता, युगीन यथार्थमूलक वैचारिक सम्प्रेषण, जीवन्त वाचन कला र विभिन्न प्रशिक्षणका माध्यमबाट नयाँ पुस्तालाई छन्दकविताप्रति आकर्षण प्रदान गर्ने कार्यमा अतुलनीय योगदान दिएबापत युवाकवि रूपक अलङ्कारलाई छन्दसाधना युवा प्रतिभा पुरस्कार प्रदान गरिएको हो । 

उक्त दुवै पुरस्कार आगामी असोज ११ गते एक विशेष कार्यक्रमको आयोजना गरी प्रदान गरिने कुरा छन्द–तरङ्गबाट प्रेषित विज्ञप्तिमा उल्लेख गरिएको छ । विगत छ वर्षअगाडि २०७५ भदौ २२ गतेबाट काठमाडौँको वानेश्वर थापागाउँमा रहेको लेखनकुञ्जमा हरेक महिनाको तेस्रो शुक्रवार फरक फरक पुस्ताका तीन जना कविका पाँच पाँचओटा कविता प्रस्तुत गर्ने गरी सञ्चालन हुँदै आएको नेपाली कविताको इतिहासमा नै ऐतिहासिक महत्त्व राख्ने सशुल्क छन्दकविता श्रवणको मासिक कार्यक्रम ‘छन्द–तरङ्ग’ १९ औँ शृङ्खलासम्म अनवरत रूपमा सञ्चालन भएर विश्वव्यापी महामारीका रूपमा फैलिएको कोराना भाइरस (कोभिड–१९) का कारण २०७६ चैत्र महिनादेखि स्थगित भए पनि पुरस्कारलाई भने निरन्तरता दिएको र उक्त ‘विशिष्ट छन्दसाधना पुरस्कार’को रकम प्रमाणपत्रसहित रु. ४०,०००÷— र ‘छन्दसाधना युवा प्रतिभा पुरस्कार’को रकम प्रमाणपत्रसहित रु. २०,०००÷— रहेको कुराको जानकारी छन्द–तरङ्गका संयोजक द्वयमध्येका एक प्रा.डा. देवी नेपालले दिनुभएको छ । 

  

ट्यागहरू:
सहित्य कविता literature samachar nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू