अनेसास नेपालद्वारा ई. रोहिणी शर्मालाई स्वागत सम्मान

खगिन्द्रा खुसी · असोज ३०, २०८३ ५:३३ PM
Cover Image for News

३० असोज,झापा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टरले अनेसास बोर्ड अफ ट्रस्टीका सल्लाहकार ई. रोहिणी शर्मालाई स्वागत सम्मान गरेको छ ।

अस्ति असोज २८ गते बुधवार संस्थाको कार्यालय मिनभवनमा बसेको कार्यसमितिका पदाधिकारी सदस्यसहित अनेसास केन्द्रका पूर्व उपाध्यक्ष राधेश्याम लेकालीको उपस्थितिमा शर्मालाई स्वागत सम्मान गरिएको हो ।

अध्यक्ष मन्जिला शर्माको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा मन्जिला शर्माले अनेसास नेपाल च्याप्टरको आगामी कार्यका बारेमा र अवस्थाका बारेमा प्रकाश पारेकी थिइन् ।

यसैगरी पूर्व अध्यक्ष राधेश्याम लेकालीले अनेसास नेपाल च्याप्टरको स्थापनाकालदेखि प्रशासनिक दर्ताको अवस्था र त्यसपछि च्याप्टरले गरेका कार्यक्रमका विषयमा बोलेका थिए । यसैगरी लेकालीले अनेसास नेपाल च्याप्टरको महत्व र यसले आगामी दिनमा गर्नुपर्ने ठूला ठूला कार्यहरूको बारेमा बोल्दै अन्य देशमाभन्दा नेपालमा अनेसास भवनको अत्यन्त आवश्यकता भएको र यहाँ अनेसास भवन हुँदा विश्वभरिका नेपाली साहित्यकारहरू नेपाल आफ्नो मातृभूमि आइरहने हुँदा उक्त भवनको प्रयोग हुने कुरा बताएका थिए । त्यसका लागि आफूले पहल पनि गरेको कुरा स्मरण गरे ।

त्यसैगरी सल्लाहकार रोहिणी शर्माले नेपाल च्याप्टरको महत्व र यसले गरेका कार्यहरुको खुलेर प्रशंसा गरेका थिए । त्यसैगरी शर्माले अनेसासले आगामी दिनमा गर्नुपर्ने कार्यहरूका विषयमा बोल्दै सन् २०२८ को अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन नेपालमा र नेपाल च्याप्टरले आयोजना गर्नुपर्ने र सो का लागि आफू सक्दो सहयोग गर्न तयार रहेको कुरा बताएका थिए ।

पूर्व अध्यक्ष लेकालीले त्योभन्दा अघि नेपाल च्याप्टरले  क्षेत्रीय सम्मेलन पनि गर्न सक्ने कुरालाई शर्माले समर्थन जनाउँदै नेपाल च्याप्टरले गर्ने हरेक विशेष महत्वका कार्यक्रमहरूमा आफू सदैव सहयोग गर्न तयार रहेको कुरा बताएका थिए ।

यसै अवसरमा अनेसास नेपाल च्याप्टरको कार्यसमिति सदस्य केवरा भट्टराईलाई बधाई शुभकामना दिइएको थियो । अध्यक्ष मन्जिला शर्मा, राधेश्याम लेकाली, रोहीणी शर्मालगायत उपस्थिति सबैले उनलाई टोखा नगरपालिकाले आयोजना गरेको खुला कविता प्रतियोगितामा द्वितीय स्थान हासिल गर्न सफल भएकोमा बधाई दिएका हुन् ।

स्वागत सम्मान गरेकै दिन अनेसास नेपाल च्याप्टरका महासचिव रमेश दाहालको शुभ जन्म दिन परेको हुँदा केक काटेर दाहालको शुभ जन्मोत्सव मनाइएको थियोे । खादामाला तथा केक काटी गरिएको शुभ जन्मोत्सवका अवसरमा दाहाललाई शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रम महासचिव रमेश दाहालले सञ्चालन गरेका थिए ।

ट्यागहरू:
literature photos
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।