चार स्रष्टालाई झपट पुरस्कार प्रदान गरिने
झापा १५ फागुन /झपट पुरस्कार व्यवस्था समितिले यसवर्ष चार जना स्रष्टालाई झपट पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ।
समितिका अध्यक्ष अरुण राणाको अध्यक्षातामा बसेको बैठकले सो निर्णय गरेको हो।समितिले विज्ञप्तिमार्फत पुरस्कृत हुनेकाे नामावली सार्वजनिक गरेकाे हो।
विज्ञप्ति अनुसार सनत रेग्मी र राजेन्द्र थापालाई जनही एकएक लाख रुपैयाँ राशि तथा डा.गोपालप्रसाद शर्मा र डा.कान्छी महर्जनलाई संयुक्त रूपमा एक लाख रुपैयाँ राशिको झपट पुरस्कार प्रदान गरिने छ।
आख्यानका माध्यमबाट नेपाली साहित्यको श्रीवृद्धिमा विशिष्ट योगदान दिएबापत सनत रेग्मीलाई झपट पुरस्कार प्रदान गर्न लागिएको हो। यसैगरी शब्दमार्फत नेपाली भाषालाई जनप्रिय बनाउन उद्धत गीतकार जनरल राजेन्द्र थापालाई ‘यज्ञ केशर पुरस्कार’ प्रदान गरिने भएको छ ।
नेपाली भाषासाहित्यमा विद्यावारिधि गर्ने डा.गोपालप्रसाद शर्मा र डा.कान्छी महर्जनलाई ‘सैनध्वज नन्दकुमारी शोध पुरस्कार’ प्रदान गरिने भएको छ ।
इन्दिरा प्रसाईको संयोजकत्वमा गठित प्रा.डा.हेमचन्द्र नेपाल र प्रा.डा. भरतकुमार भट्टराई सदस्य रहेको झपट पुरस्कार छनोट समितिले पुरस्कृत स्रष्टाहरुको नाम सिफारिस गरेको हो।