बावऋ एक टिप्पणी
बावऋ एक टिप्पणी, लेखकः मिलन संग्रौला, प्रकाशकः फाइनप्रिन्ट काठमाडौं २०८१, विधाः आख्यान (उपन्यास)
संरचनाः नौ वटा खण्ड वा अध्यायमा ( जदौ, बाफ, कुहिरो, बादल, हुस्से, वर्षा, झरी, चट्याङ बेग्लै पानो जस्ता उपशीर्षक) दिएर ३०२ पृष्ठमा यो उपन्यास संरचित छ ।
लेखकका अन्य कृतिः च्याट
गर्ल कथा संग्रह, पर्पला उपन्यासको प्रकाशन पछि बावऋ उपन्यास आएको छ ।
१. शीर्षकः तीन जना मुख्य पात्र ऋतु, बादल र वर्षाका पहिलो अक्षरको कर्तन पद्धतिबाट बावऋ उपन्यासको नामाकरण भएको छ । प्रतीकात्मक हिसावले यो प्रकृति चक्र पनि हो । त्यसकारण उपन्यासको शीर्षक सार्थक बनेको छ । यिनै तीनजना पात्रको चरित्रमै उपन्यास केन्द्रित छ ।
२. आख्यानः तेह्रथुमको एउटा दुर्गम गाउँमा प्राथमिक स्कूल पढ्दै गरेको बादललाई राम्रो शिक्षा दिन उनका बावुले फिदिमको बोर्डिङबाट एस.एल.सी. पास गर्छ । माओवादी द्वन्द्वको सन्त्रासका कारण गाउँ नै बसाइँ सरेर मधेश झर्छन् । ऋतुलाई माओवादीले लैजान्छन् र बेपत्ता बनाउँछन् । बर्षा र बादलको मधेशमा भेट हुन्छ । बादल जवरजस्त बर्षाको प्रेमको अँगालोमा बाधिन पुग्छ । ऋतुलाई भेट्न बादल पहाड जाँदा भेट्न सक्दैन । बारीमा राखेको बम पड्केर क्षतविक्षत हुन्छ । उसको अन्य उपचार पछि अन्त्यमा आँखाको उपचार हुन्छ । यहीँबाट उपन्यास सुरु भएको छ । उपचारका क्रममा वर्षाले बादलको सेवा गर्छे, परिचारिकाको काम गर्छे । आँखा बन्द भएको बेलामा बादलको बाबुले यो उपन्यासको पाण्डुलिपि पढेर सुनाइ रहेको अवस्थामा पाठकले पढ्न पाउँछन् । अथवा पूर्वदीप्ति शैलीमा उपन्यास प्रस्तुत छ । वर्षाले लेखेको उपन्यासको पाण्डुलिपि बिरामी बालदलालई पढेर सुनाउने काम उसका बाबुले गरेका छन् ।
३ पात्रः विभिन्न सहायक र गौण पात्र भए पनि उपन्यासका मुख्य पात्रहरूमा बादल वर्षा र ऋतु रहेका छन् । ऋतुले बालद्वारा वर्षा गराएको छ । वर्षा वा पानी बाफ भएर बादल हुने वर्षा गराउने कार्यमा ऋतुकै चक्र चलेको कुरा प्रतीकात्मक रुपमा आएको छ । तीन पात्रको प्रेमको त्रिकोणात्मक चित्र यस उपन्यासमा आएको छ । हेरि र उसका जिग्री दोस्तहरूले आजका युवाहरुको प्रतिनिधित्व गरेको छ । रिट्ठे माओवादी द्वन्द्वको प्रतिनिधि पात्र हो ।
४ परिवेशः तेह्रथुम, फिदिम, झापा, ताप्लेजुङको भूगोल यस उपन्यासले ओगटेको छ । माओवादी द्वन्द्वकालको सेरोफेरो र दुई बन्दुकमा चेपिएका निरीह जनताको सन्त्रासयुक्र कठिन परिस्थिति उपन्यासको परिवेश वनेको छ । द्वन्दले कसलाई कहाँ पुर्यायो, कसरी घरबार उडायो, कतिलाई बेपत्ता बनायो, कति अङ्गभङ्ग भए , कतिको मानसिक सन्तुलन गुम्यो, आदिको चित्र खिच्दै देशै सम्याउने सपना बोकेर युद्धमा होमिएका योद्धाहरू पश्चातापमा जलेको शब्दचित्र खिच्ने प्रयत्न उपन्यासमा गरिएको छ ।
५ द्वन्द्वः यस उपन्यासमा आन्तरिक र बाह्य दुई किसिमका द्वन्द्व छन् । बाह्य द्वन्द्वमा जनताको नाउँमा जनता नै मारेर गरिएको असफल क्रान्तिले निम्त्याएको क्षतविक्षत सामाजिक अवस्था, बन्दुकेहरुको ज्यादतिको कारण पुर्खादेखिको थातथलो छोडेर बर्साँ हिँड्न बाध्य गाउँले, घाइतेहरुको बिल्लिबाठ, दुई बन्दुकको सन्त्रासले असन्तुलित भएको मानसिक अवस्था, बेपत्ता नागरिक अङ्गभङ्ग भएका, परिवार गुमाएका, घर व्यवहार समाप्त भएका योद्धाहरुको पश्चात्ताप आदि जस्ता कुरा उपन्यासमा वाह््य द्वन्द्वका रूपमा आएका छन् । ‘जसले विराए पनि भैरेलाई भकुर्नु’ भन्ने उखान झैं सरकार र माओवादी दुवै तर्फबाट सर्वसाधारण जनता भकुरिएका छन् ।
६ अन्यः यस उपन्यासमा सामाजिक राजनैतिक शैक्षिक अन्य केही पक्ष भए पनि मूलरुपमा उपन्यासकारले बादल, वर्षा र ऋतुको त्रिकोणात्मक प्रेम कहानीलाई नै अघि सारेका छन् । अन्य विषयहरू परिस्थितिजन्य परिवेशका रुपमा मात्र आएका छन् । शिक्षाका व्यापारी बोर्डिङ साहूहरूको सामान्य झलक, होस्टलबस्ने विद्यार्थीहरको हर्कत, माओवादी द्वन्द्वले थिलथिलिएर थाकथलो छोडेर भागेका, बसाईँ सरेका, छिन्नभिन्न परिवारहरुको शब्दचित्र, हेरी र उसका जिग्री दोस्तहरुले सङ्केत गरेको युवाहरुको भविष्य, इत्यादि पक्षहरुलाई पनि समेट्ने प्रयत्न उपन्यासमा गरिएको छ ।
७ यस उपन्यासको अर्को पक्ष भनेको खेलकुद कला साहित्य हो । यसतर्फ उपन्यासकारको झुकाव देखिन्छ । उपन्यासको नायक बादल गीतकार हो । उसको कला गला राम्रो छ, ऋतु राम्रो नाच्न जान्ने कलाकार हो र वर्षा उपन्यास लेख्ने साहित्यकार हो । बद्री क्रिकेटर हो, तर खेलाडी र कलाकारहरु आफ्नो खेल र कलालाई पेसा बनाएर बाँच्न सक्ने अवस्था नदेखेर विदेश पलायन हुनथालेको सङ्केत पनि उपन्यासमा गरिएको छ ।
८ यस उपन्यासको अर्को पक्ष हो – उपन्यासभित्र पत्राचार अथवा पत्र साहित्य । यहाँका पात्रहरु आŠना मनका भावना चाहना पत्रमार्फत व्यक्त गर्छन् । नेपाली साहित्यको प्राथमिक कालको अन्त्य र आधुनिक कालको सुरुसुरुतिर यो शैली निकै प्रचलित थियो । उपन्यासकारले पनि त्यो शैलीलाई यहाँ आत्मसात् गरेका छन् ।
९ उपन्यासको भाषा सरल सहज नै छ । स्थानीय बोली वा कथ्य भाषालाई टिप्ने प्रयत्न गरिएको छ । उपन्यास पूर्वदीप्ति शैलीमा प्रस्तुत छ । सुन्दर मनोरम र कठोर दुवै कृतिको प्रयोग गरिएको छ । अस्पतालमा वर्षाको मौनताले कौतुहलताको राम्रो काम गरेको छ । पात्रहरुको त्रिकोणात्मक प्रेम कहानी सहज रुपमा प्रकट भएको छ । पात्रको नामाकरणले प्रकृति चक्रलाई समेत प्रतीकात्मक किसिमले प्रस्तुत गरेको छ । उपन्यास सफल नै छ ।