बाँच्न धेरै छ चर्को
ढुङ्गाे गल्ने मेघ दर्कन्छ घाेल्छ
माथा फुट्ने घाम चर्कन्छ पाेल्छ।
काँढा टेकी उठ्न गर्दै जमर्को
मान्छे बन्दै बाँच्न धेरै छ चर्को ।।१
सच्चा मान्छे बन्न धेरै छ चर्को
आँधीबेरी लम्कदै जुध्न आओस्
ठण्डा गर्मी जेसुकैले सताओस् ।
प्यूँदै निल्दै द्वन्द्वकाे तिक्त सर्काे
मान्छे बन्दै बाँच्न धेरै छ चर्को ।।२
डण्डा वज्राेस् वज्र लाेहा गरुङ्गाे
थाप्लो थापी रुन्छ चैतन्य ढुङ्गााे ।
गड्दा भाला चस्कने झूर झर्काे
मान्छे बन्दै बाँच्न धेरै छ चर्को ।।३
ऐय्या भन्ने छैन सामर्थ्य हाम्रो
जे जे मिल्दा भन्दिनूपर्छ राम्रो ।
लड्दै बाधा विघ्न फाँडेर अड्काे
मान्छे बन्दै बाँच्न धेरै छ चर्को ।।४
कर्जा ल्यायौँ जन्मदै तिर्नुपर्ने
जिम्मेवारी काँधमा भिर्नुपर्ने ।
खप्दै पीडा मार मुङ्री उँभर्काे
मान्छे बन्दै बाँच्न धेरै छ चर्को ।।५
दायाँ बायाँ हाेस राखेर चल्दै
जाली सिल्ली गुप्त षड्यन्त्र छल्दै ।
हिड्ने बाटो छैन न्यानाे निखुर्काे
मान्छे बन्दै बाँच्न धेरै छ चर्को ।।६
जल्दै गल्दै दैन्य दारुण्य भित्र
पग्ली पिल्सी कष्ट कारुण्य भित्र ।
लाेकाचारी ढाेंगकाे लाम लर्काे
मान्छे बन्दै बाँच्न धेरै छ चर्को ।।७
तान्छन् खुट्टा खुम्चदै हिड्नुपर्छ
आफ्नो वैरी गन्धले चिन्नुपर्छ ।
सुन्दै टार्दै झ्याउ झर्काे ततर्काे
मान्छे बन्दै बाँच्न धेरै छ चर्को ।।८
झिक्दै झिक्दै निख्रने रिक्त खानी
पाेकाे पारी तौलँदा जिन्दगानी
जाेख्दा बच्ने शेष बाँकी चुभुर्काे
मान्छे बन्दै बाँच्न धेरै छ चर्को ।।९
बज्दा बज्दै ताल बिर्सेर रुक्दै
बग्दा बग्दै छाल बिर्सेर सुक्दै
टाल्दै तुन्दै लाजकाे बार बर्काे
मान्छे बन्दै बाँच्न धेरै छ चर्को ।।१०
भद्रपुर -१० , चन्द्रगढी झापा ।
२०७७/०५/०२