अष्ट्रेलियामा सौरभकिरण श्रेष्ठद्वारा लिखित तथा इस्ती सार्सफिल्डको चित्रद्वारा सजिएको बालचित्र पुस्तक लोकार्पित
२३ असोज, झापा । अष्ट्रेलियाको सिड्नीमा सौरभकिरण श्रेष्ठद्वारा अङ्ग्रेजी भाषामा लिखित तथा इस्ती सार्सफिल्डको चित्रद्वारा सजिएको बालचित्र पुस्तक How Our Garden Grows को लोकार्पण भएको छ । सिडवेस्टले आयोजना गरेको सो कार्यक्रममा ७५ भन्दा बढी अतिथि, सामुदायिक अगुवा, लेखक तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो । ८ अक्टोबर बिहीबार साँझ सम्पन्न भएको कार्यक्रमको सञ्चालन सिडवेस्टका बसोबास तथा बहुसांस्कृतिक सेवा प्रमुख क्लेमेन्ट मेरुले गरेका थिए। उनले अतिथिहरूलाई स्वागत गर्दै पुस्तकले उठाएको अपनत्व, विकास र सामुदायिक सम्बन्धका विषयहरूमा प्रकाश पारेका थिए ।
सिडवेस्टकी प्रमुख कार्यकारी अधिकृत (CEO) एल्फा मोराइटाकिसले उपस्थित सबैलाई औपचारिक स्वागत गर्दै सौरभ किरण श्रेष्ठ र चित्रकार इस्ती सार्सफिल्डलाई बधाई व्यक्त गरिन्। आफ्नो सम्बोधनमा उनले सौरभको कथा, कविता लेखन, सम्पादन तथा साहित्यिक अनुभवका साथै अष्ट्रेलियामा नेपाली भाषाको साहित्य प्रवर्द्धनमा पुर्याएको योगदानको प्रशंसा गरिन्।
कार्यक्रममा वेस्टवर्डस् का कार्यकारी तथा प्रकाशन निर्देशक माइकल क्याम्पबेलको सहजीकरणमा एक अन्तरक्रियात्मक छलफल आयोजना भयो । छलफलमा पुस्तक निर्माणको यात्रा, लेखक र चित्रकारबीचको सहकार्य तथा बालचित्र पुस्तक प्रकाशन प्रक्रियाबारे चर्चा गरियो । सौरभकिरण श्रेष्ठले नेपालबाट अष्ट्रेलियासम्मको आफ्नो व्यक्तिगत यात्राका अनुभव तथा कथाको प्रेरणाबारे जानकारी दिए। त्यस्तै, इस्ती सार्सफिल्डले आफ्नो कलात्मक सिर्जना प्रक्रिया र शब्द तथा चित्रबीचको सम्बन्धबारे विचार राखिन्।
छलफलपछि सौरभ किरण श्रेष्ठले How Our Garden Grows वाचन गरेका थिए । चार वर्ष वा सोभन्दा माथिका बालबालिकाका लागि उपयुक्त यस चित्रपुस्तकले सानो कार्यबाट पनि कसरी समुदायका मानिसहरूलाई एकसाथ ल्याउन सक्छ र छिमेकीहरूमा सामुदायिक भावना जगाउन सक्छ भन्ने सन्देश दिएकाे छ । वाचनका क्रममा पुस्तकका चित्रहरू पर्दामा प्रदर्शन गरिएको थियो, जसले सहभागीहरूलाई कथासँग अझ नजिक भएर अनुभव गर्ने अवसर जुटाएकाे थियाे ।
पुस्तकको औपचारिक लोकार्पण ब्ल्याकटाउन पुस्तकालय सेवा अन्तर्गतका आउटरिच कार्यक्रम संयोजक मार्गरेट रेडरपमे ले गरिन्।
अष्ट्रेलियामा प्रकाशित साैरभको याे पहिलो अङ्ग्रेजी भाषाको पुस्तक भएकाेले यस लोकार्पणलाई उपस्थित सबैले एउटा महत्वपूर्ण उपलब्धि रूपमा हेरिएकाे छ । यस पुस्तककाे पाण्डुलिपिले सन् २०२२ मा वेस्टवर्डस् एकेडेमी कार्यक्रममार्फत आफ्नो यात्रा शुरु गरेको थियो र अहिले सामुदायिक भावना तथा आपसी सम्बन्धलाई सशक्त प्रस्तुत गर्ने बालचित्र पुस्तकका रूपमा प्रकाशित भएको छ ।
कार्यक्रममा बोल्दै एल्फा मोराइटाकिसले अष्ट्रेलियाली साहित्यमा बहुसाँस्कृतिक समुदायका आवाजहरूको महत्वमाथि जोड दिइन्। उनले यस पुस्तकमार्फत बालबालिका किशाेर तथा अभिभावकमा समावेशिता, अपनत्व र आपसी समझदारी प्रवर्द्धन गर्न सक्ने कुरा उल्लेख गरिन्।