अन्तरङ्गमा ‘सनेस’ लघुकथा सङ्ग्रह

दिलिप घिमिरे · साउन १८, २०८१ ५:१३ AM
Cover Image for News


आफन्त भेट्नका खातिर जुरमुराएर मेरो हातमा परेको यो कोसेली स्वरूपको उपहार खोल्न पाउँदा म साह्रै खुसी भएँ । यो सौगात एउटा कुरो भनेझैँ गरी अर्को कुराको अपेक्षामा संरचित छ भन्ने सुइँको बाहिरी गाताले दिएको छ । अब यसभित्र के के कुराको छनक छ त ? त्यही विषयलाई छोटकरी रूपमा यहाँ खोतल्ने प्रयास गरिएको छ ।

वि.सं. २०१३ श्रावण १७ गते बुधबारका दिन माता तुलसादेवी र पिता गणेशप्रसाद दाहालका सुपुत्रका रूपमा जन्म लिएका उमानाथ दाहाल अर्थशास्त्रमा स्नातकोत्तर गर्ने व्यक्ति हुन् । प्राध्यापन पेसामा आबद्ध दाहालले कथा, कविता, गीत, लेख र लघुकथाबाट साहित्यलाई अगाडि बढाएको देखिन्छ ।

 उनी २०७९ देखि लघुकथामा अन्तरघुलन भई हाल सनेस लिएर पाठकसमक्ष उपस्थित भएका छन् । यो उनको लघुकथामा पहिलो र प्रकाशित कृतिमा पाचौँ कृति हो । सर्वप्रथम उनी ‘चुनाव’ लघुकथा लिएर लघुकथामा देखा परेका हुन् ।  

लघुकथा एउटा सलाईको काँटी हो, त्यसलाई सट्ट बारुदमा रगेटिन्छ, झ्वाप्पै सल्केर दनदनी बल्छ अनि झ्याप्पै निभ्छ । लघुकथाको विषय झ्वाट्ट उठान हुन्छ । त्यसमा अल्प पात्रका माध्यमबाट विषयलाई कार्यव्यापारतर्फ लगिन्छ । परिवेशगत आधारमा लघुकथाको विकासात्मक अवस्था तुरुन्तै चरमोत्कर्षतर्फ लाग्छ अनि सन्देश प्रवाह गर्दै आकस्मिक तरिकाले व्याङ्ग्यार्थ ढङ्गबाट समापन हुन्छ ।

अब यस लघुकथा सङ्ग्रह सनेसले कुन कुन विषयलाई आत्मसाथ गर्दै लघुकथाको संरचनात्मक ढाँचालाई कसरी अङ्गिकार गरेको छ त ? यसले केही सुधारात्मक पक्षको अपेक्षा गरेको छ कि छैन ? भन्ने कोणबाट सनेस लघुकथा सङ्ग्रहलाई हेरौँ  ।  

कथाकार उमानाथ दाहाल
‘सनेस’ सताक्षीधाम साहित्य सङ्गमबाट प्रकाशित लघुकथा सङ्ग्रह हो । यस लघुकथा सङ्ग्रहमा भगवान्देखि पेन्सनसम्म गरी जम्मा ६२ वटा लघुकथा उनिएका छन् । विविध विषयवस्तुलाई बोकेर आएको सनेसमा मूलतः सामाजिक यथार्थका विषयवस्तु बढी मात्रामा रहेको देखिन्छ ।

 विषयवस्तुगत हिसाबले हेर्दा उनका कथामा समकालीन र परम्परागत सामाजिक विषयवस्तु, शैक्षिक क्षेत्रमा देखा परेका विषयवस्तु, राजनीतिक स्तरका विषयवस्तु, पारिवारिक तथा सांस्कृतिक विषयमा आधारित विषयवस्तु, सामाजिक तथा वर्गीय विभेदका विषयवस्तु, साहित्य, स्वास्थ्य, कुसंस्कार, विकृति तथा विसङ्गतिका विषयवस्तु रहेको देखिन्छ । कथालाई कथावस्तु वा कथानकका आधारमा हेर्दा उनका कथा सामाजिक यथार्थताको नजिक देखिन्छन् । समाजभित्रको राजनीति, परम्परा, संस्कार संस्कृति, विभेद, शिक्षा, स्वास्थ्य, साहित्य, बेरोजगार, राष्ट्र र राष्ट्रियता, अध्यात्मकता, विद्रोह आदि विषयलाई वर्णनात्मक शैलीमा यथार्थपरक ढङ्गबाट प्रस्तुत गरिएको छ ।

संरचनात्मक दृष्टिले हेर्दा सनेस लघुकथा सङ्ग्रह शब्द सङ्ख्या, आदि मध्य र अन्त्य, लघुकथाको उठान, विकास, उत्कर्ष, ह्रास र अन्त्यका हिसाबले धेरै लघुकथा सबल रहेका देखिन्छन् ।               केही लघुकथाहरू त्यसको संरचनामा उनिने प्रयासमा छन् । लघुकथा सङ्ग्रहमा रहेका लघुकथा १५ शब्ददेखि ३०० शब्दसीमा भित्र अडिएका छन् । १५ शब्दको ‘एउटा गल्ती’ शीर्षकको लघुकथा संरचनात्मक हिसाबले अथवा लघुकथाको मर्मअनुरूप बन्न सके अनि ३९ शब्दमा संरचित भाग लघुकथाको विकास र उत्कर्षको तालमेल मिल्न गए लघुकथा लघुकथामा फुल्न सक्छन् ।

पात्रको चयन, पात्रको भूमिका अनि पात्रले विषयवस्तुलाई जाग्दो, जिउँदो, भरिलो, रसिलो, कँसिलो र विषयवस्तुलाई कार्यव्यापारात्मक बनाउनका लागि तत्पर रहेको देखिन्छ । आफ्नो भूमिका निर्वाह गर्नका लागि र स्तरीय बनाउन भूमिकाअनुसार पात्र उपस्थित भएका छन् । पात्र परिवेश सुहाउँदा छन् । एकाध लघुकथामा विषयले मागेभन्दा बढी देखिए पनि त्यसमा सचेतता अपनाइएको देखिन्छ । अल्प विषय अनि ज्यादै थोरै शब्द सङ्ख्या भएका लघुकथामा विषय विस्तार र पात्रको खाँचो देखिन्छ जुन उदाहरणका लागि माथि १५ शब्दे लघुकथालाई लिन सकिन्छ ।

उमानाथको सनेस लघुकथाले बोकेको परिवेश एउटै खालको देखिँदैन । परिवेशमा फरकपन छन् । यस सङ्ग्रहमा ग्रामीण र सहरिया परिवेशमा लघुकथा जगाइएको छ, फक्राइएको छ र बिस्तार गरिएको छ । परिवेशले उनका लघुकथाई सार्थक र सफल बनाएका छन् । विषयवस्तु सुहाउँदो परिवेश छ । परिवेश सुहाउँदा पात्र पनि रहेका देखिन्छन् । यसलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेशमा हेर्दा दुवै परिवेशको प्रयोग भएको देखिन्छ । समयगत हिसाबले हेर्दा उनका लघुकथा लघुकथागत समयगत परिवेश बोक्ने खालका छन् ।

उद्देश्यगत आधारमा हेर्दा ‘सनेस’ लघुकथा सङ्ग्रहले विविध सन्देश बोकेर आएको छ । जसले समाजभित्रका सामाजिक विषयमा विविधता देखाई त्यसमा रहेका सवल पक्षको आत्मसाथ गर्दै समाजमा रहेका विकृति, विसङ्गती, दमन, अन्याय, अत्याचार, देखावटी प्रवृत्तिको अन्त्य गनुपर्ने सन्देश प्रवाह गरेका छन् । त्यस्तै केही लघुकथाको माध्यमबाट भौतिक सम्पत्तिको मोहमा आफ्नो संस्कार, संस्कृति अनि बुबाआमाप्रतिको गलत चिन्तनलाई उठाउँदै त्यसप्रति सचेत रहनुका साथै समाज परिवर्तनका लागि सन्देश प्रदान गरेका छन् ।

 समाजमा विद्यमान रहेका चाडपर्व, दानदक्षिण, फजुल खर्च र अरूको सिको गरी आफ्नोपन गुमाउँदै जाने प्रवृत्तिप्रति सचेत गराई त्यसमा सुधार गरी आफ्नोपन बनाउने सन्देश दिइएका छन् । महिला अधिकार, शिक्षा, स्वास्थ्य, रोजगार आदिका समस्यालाई इङ्कित गर्दै त्यसको सही समाधान र सुधारको बाटो देखाउने सन्देश दिएका छन् ।
भाषाशैलीगत आधारमा पनि लघुकथालाई हेर्नु उपयुक्त हुन्छ । भाषाशैलीभित्र, भाषिक संरचना, शुद्धता, प्रतीकात्मकता, बिम्बात्मकता, आलङ्कारिकता, प्रस्तुति शैली आदि कुरा रहन्छन्  । सनेस लघुकथालाई भाषाशैलीका आधारमा हेर्दा शब्द, वाक्य, भावका आधारमा अर्थयुक्त ढाँचामा रहेको देखिन्छ तर वर्णविन्यासगत आधार, पदयोगको आधारबाट हेर्दा केही सुधारको बाटो खोजेको देखिन्छ । 

केही मात्रामा चिह्नको उपयुक्त स्थानमा प्रयोग गर्नुपर्ने देखिन्छ । कुनै कथाले शब्दमा सुधार खोजेको देखिन्छ । जसमा उदाहरणका लागि देश प्रेम र परिवर्तनलाई हेर्दा त्यसको प्रमाण पाउन सकिन्छ ।
शीर्षकीकरणका आधारमा हेर्दा सनेसमा रहेका आधिकांश शीषर्क सार्थक, सफल, उपयुक्त र कसिला खालका देखिन्छन् । पछि, कीलो, भाग, हुँदैन जस्ता केही शीर्षकको ओझ अझ दरिलो बनाउन पाउँदा लघुकथाले बलियो आधार बनाउन सक्छन् ।

सनेस लघुकथा सङ्ग्रहमा रहेका भगवान्, नामसारी, शहीद बस्ती, आशय, देश प्रेम, परिवर्तन, परिणाम, नियति, बुद्धि, गुरु पूर्णिमा, अभाव, व्यवसाय, हौसला मूल्य, आगो, कर्मको प्रसादी, समानता, मित्र, मतलबी, छेपारे, नैतिकता, सम्पत्ति, अलपत्र, चिन्ता, मिलाप, परिस्थिति, उदाहरण, कर्मको फल, सन्देश, नीति, नाटक, आरक्षण, सहन, असर, कर्तव्य, प्रशंसा, जिम्मेवारी, सोच, इच्छा, फरक, कीलो, कुर्सी, स्वार्थी, हुँदैन, प्रयास, माली, विवशता, एउटा गल्ती, भाग, परालको आगो, रोजगारी, ३६४ दिन, पछि, साहित्य, संरक्षण, महसुस, माला, स्मरण, दिवस, सक्षम, जन्मदिन, पेन्सन लघुकथाहरू रहेका छन् । लघुकथामा अभाव, आगो, नाटक, ३६४ दिन, जन्मदिन, पेन्सन जस्ता कथाले लघुकथाको उच्चता देखाएका छन् ।

 एउटा गल्ती, भाग, पछि, माला जस्ता केही लघुकथा थोरै सुधारको खोजीमा छन् ।
सनेस लघुकथा सङ्ग्रहका आधारमा उमानाथ दाहाललाई हेर्दा उनमा सामाजिक यथार्थता देखाउनु, समाजका विकृति, विसङ्गतिलाई देखाउनु, राजनीतिक विषयवस्तु प्रस्तुत गर्नु, राष्ट्र र राष्ट्रियता देखाउनु, महिला विभेदलाई देखाउनु, रोजगारी र वैदेशिक अवस्थाको चित्रण गर्नु, पारिवारिक विषयवस्तुलाई प्रत्यक्ष रूपमा उतार्नु जस्ता विशेषताहरू देखिन्छन् । 

कथाले दिने विषयवस्तु, पात्र चयन, परिवेश, उद्देश्यका आधारमा कथा सफल रहेका छन् । भाषाशैलीका आधारमा लघुकथा सङ्ग्रहले केही सुधारको अपेक्षा गरेको देखिन्छ ।
              अस्तु !

ट्यागहरू:
सहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
अर्को उल्लेख्य कृति : 'भद्रपुरको प्रतिबिम्ब'
अर्को उल्लेख्य कृति : 'भद्रपुरको प्रतिबिम्ब'
नकुल काजी पोष्ट- खगिन्द्रा खुसी - मङ्गलबार १० सेप्टेम्बर २०२४
कविताको आँखामा सपनाहरूको बही
कविताको आँखामा सपनाहरूको बही
कविता शर्मा पौडेल पोष्ट-दिलिप घिमिरे - मङ्गलबार ३ सेप्टेम्बर २०२४
प्रेमका पाँच औंला कविता सङ्ग्रहको संक्षिप्त समीक्षा
प्रेमका पाँच औंला कविता सङ्ग्रहको संक्षिप्त समीक्षा
प्रा.डा.गङ्गाप्रसाद अधिकारी पोष्ट - खगिन्द्रा खुसी - शुक्रबार १६ अगष्ट २०२४