ऐसेलुकाण्ड

प्रा.डा.गङ्गाप्रसाद अधिकारी पोष्ट - खगिन्द्रा खुसी · साउन २८, २०८१ १०:३४ PM
Cover Image for News

मैले मेरो विद्यालयीय जीवनका सारै कष्टकर दिनहरू कक्षा तेस्रो र चौथो पढ्दा बिताएँ जस्तो लाग्छ । कारण हो शिक्षकको दुराग्रही स्वभाव र क्रूरता अनि आमाको देहावशान । स्कुलको शिक्षक भगौडो इन्डियन आर्मी, ताप्लेजुङतिरको । नाम बिर्सेको छैन तर भन्दिनँ । मेरा समकालीनहरूलाई थाहा छ । क्रूरताको नमुना मान्छु म उसलाई अहिले पनि । जम्मै ८–९वर्षको बच्चो ममाथि उसका ज्यादती अहिले सम्झँदा पनि आङ सिरिङ्ङ हुन्छ  मेरो ।  कसरी खपेँ होला आर्मीको यातना म कलिलो बच्चोले ! मलाई सजायदिन उसलाई कुनै निहुँ चाहिँदैनथ्यो । राम्रो काम गरे पनि यातना, नराम्रो गरे त अझ ठुलो यातना । ऊसले ममाथि गरेका कृत्यहरूबारे त कुनै समय म लेख्नेछु नै । अहिलेलाई यत्तिमात्रै भनेँ । 
एक दिनको कुरा ।सायद म चौथो कक्षामै पढ्थेँ । इरौंटार गाउँ पञ्चायत वडा नं. ६ मा पर्ने मेरो घरछेउमै स्कुल थियो उमामहेश्वर प्रा.वि. (हालमा.वि., रोङ गाउँपालिका) । आहालबारी भन्ने ठुलो टार बारी छ त्यहाँ । त्यसकै पूर्वपट्टि डाँडैमा रहेको लामो टारको सिरानमा स्कुल । स्कुलबाट पूर्वपट्टि भिरालो परेको जमिन छ तल तेलपानी खोलासम्मै । 
स्कुलको पूर्वतर्फ पाँच–छ कान्लामुनि नाखोपाबाट चिसापानी गाउँ जाने मूलबाटो अनि बाटामुन्तिर अलिक ओसिलो परेको ठाउँमा एउटा विशाल ऐसेलुको झ्याङ थियो, लटरम्मै पहेँलपुर ऐसेलु पाकेको । स्कुल पढ्ने ठेट्ने केटाकेटीलाई के चाहिन्थ्यो र यति भएपछि ! बाटो हिँड्ने मान्छे पनि त्यति हुँदैनथे, फाट्टफुट्ट मात्रै । बाटैछेउको त्यो लटरम्म ऐसेलुमा कसैको आँखा नपरेको हो कि अहिलेसम्म?
मेरा उस वेलाका कहिले मिल्ने र कहिले लाप्पा खेल्ने साथीहरू थिए रणबहादुर राई, जितबहादुर राई, चन्द्रमान राई, नरेन्द्र मङ्ग्राती आदि नाखोपा, सुनपानी, मसार गाउँतिरका अनि चिसापानीतिरका पदमलाल लाप्चा, चतुर्मान लाप्चा, पूर्णसिंह सोङमेन, पदम सोङमेन, गिरिभक्त र अरूअरू पनि । साथीहरूमा यी मध्ये को को संलग्न थिए मलाई अहिले याद भएन । हाम्रो एउटा पाँचसात जनाको टोली स्कुलको टिफिनमा त्यही ऐसेलुको झ्याङतिर हानियो । ओसिलो ठाउँको रसिलो ऐसेलु । काँडाको परवाह नगरी सबै झुत्ती खेल्न थाल्यौं ऐसेलुमा । ऐसेलु पनि कति हो ? त्यसरी ऐसेलु पाकेको त्यत्रो झ्याङ त हामी कसैले पनि यसअघि देखेका रहेनछौं । ऐसेलुमा झुत्ती खेल्दाखेल्दै समय बितेको पत्तै भएनछ । एउटा साथीले “ला ः घन्टी लागेको होइन?” भन्दा पो झसङ्ङ भइयो । बोटमा अझै ऐसेलु लटरम्मै थियो तर हाम्रो समय सकिएकाले त्यसलाई नछोडी भएन । केही साथीहरूले “सरलाई” भन्दै पातमा ऐसेलु पोको पनिपार्दै थिए । हामी त्यहाँबाट मन नलागीनलागी स्कुलतिर लाग्यौं । 
स्कुलबाट त्यति टाढा नभएपनि बाटो घुमाउरो भएकाले घुम्दै जाँदा झन्नै दश मिनेट जति लाग्थ्यो । हामी घुम्तीबाटो घुमेर स्याँस्याँगर्दै स्कुल पुग्यौं । स्कुल चकमन्न थियो । “लाःपढाइपनि सुरु भएछ!”भन्दै स्कुलभित्र छिर्यौं । लौ त्यहाँ त डेस्कमा हाम्रा कपी किताबमात्रै पडिरहेका, विद्यार्थी शिक्षक कोहीपनि छैनन् त ! हामीले सुनेको घन्टी त छुट्टीको पो रहेछ ! त्यति वेलाघडी कसैसँग हुँदैनथ्यो । अन्दाजको भरमा स्कुल लाउनु पर्ने, छुट्टी गर्नुपर्ने । अलि धुम्मधाम्म भयो भने रात परेछ भनेर दिउँसै बिदा पनि हुन्थ्यो । छुट्टी नै भइसकेकोमा हामी तीन छक्क पर्दै आआफ्ना किताब च्यापेर घरतिर लाग्यौं । 
कुरो यतिमै कहाँ सकिन्छ र ? खास कुरा त अब सुरु हुन्छ । विद्यार्थीको धेरै अभाव थियो उ वेला । घरघरमा गएर विद्यार्थी खोज्नु पथ्र्यो भरनाको समयमा शिक्षक, सञ्चालक समिति सबै भएर अहिले बोर्डिङ र प्राइभेट कलेजले जस्तै । विद्यार्थी खोज्ने टोलीमा मैले पनि साथ दिनुपथ्र्यो । म तेस्रो कक्षादेखि स्कुलकै सिनियर विद्यार्थी । सबैभन्दा ठुलो कक्षामा म मात्रै एक्लै । म कक्षा चढ्दै जाँदा स्कुल पनि अपग्रेट हुँदै जाने अवस्था थियो । कक्षा चारमा पढ्दा एकजना दाइ आए मसँग सहपाठी भएर नेकबहादुर राई । उमेरमा म भन्दा झन्डै दोब्बर उनी स्कुलमा धेरै समय टिकेनन् । अलिक पछि सुनेँ उनले बिहे गरे रे ! पछि भेट हुँदाहौ मेरो क्लास फ्रेन्ड ! मेरो साथी ! भन्थे मलाई । त्यो किस्सा पनिपछि मौका मिले कहुँला नै । 
अँ त त्यो कक्षामा नेकबहादुरले पनि छोडिसकेका थिए । म मात्रै एक्लै थिएँ । उमेर र कदले अरूभन्दा सानो भएपनि कक्षाको सबैभन्दा ठुलो मै थिएँ । अरूतल्ला कक्षाहरूमा त धेरै पनि थिए । सबै विद्यार्थी गरेर २२ जना थियौं जस्तो लाग्छ । पढाउने शिक्षक प्रायः एक जनामात्रै । त्यसैले कक्षा कोठा थिएनन् । सिङ्गै हलमात्र थियो, त्यही कक्षा कोठा त्यही कार्यालय । कार्यालय भन्नु के थियो र एउटा झोलामा सबै अटाउने । अर्को कुरा तागाधारी भनौं बाहुनको छोरो पनि म मात्रै अनि एक जना नरेन्द्र मङ्ग्राती मात्रै दलित, अहिलेको भाषामा मेरो बेस्ट फ्रेन्ड । 
अरू सबै मतवाली । शिक्षक पनि मतवाली विद्यार्थी पनि म बाहेक सबै । नरेन्द्र पानी नचल्ने सबैभन्दा तल्लो जाति, म सबैभन्दा उच्च भनिएको ब्राह्मण । 
शिक्षक थियो क्रूरतार साम्प्रदायिकताको उपल्लो नमुना । अरू मतवाली साथीहरू स्कुलमा उसलाई कोसेली ल्याइदिन्थे बोतलमा । त्यसैले उनीहरू प्यारा हुन्थे शिक्षकका लागि । म चाहिँ सञ्चालक समितिको कोषाध्यक्षको छोरो, ६० रुपियाँ तलब पनि समयमा दिन सक्नुहुन्नथ्यो मेरा बाले । त्यसमा पनि म बाहुनको छोरो । साथीहरूले ल्याइदिएको रक्सीको बोतलको बुजो उघारेर “चोखो चोखो बाहुन, चोखो चोखो !” भन्दै मलाई छर्किदिन्थ्यो । म भने पुरेतको छोरो, नाति । बाहुनले रक्सीको गन्ध आयो भने पनि नुहाएर चोखिनुपर्छ भन्ने परिवारको मान्छे । त्यो व्यवहारले म पानीपानी हुन्थेँ । आफ्नो जातै गएको महसुस गर्थें । एक प्रकारले हीनता बोधले म ग्रस्त हुन्थेँ । मलाई सजाय दिनकुनै निहुँचाहिन्नथ्यो । त्यसै पनि चड्कन लगाइहाल्थ्यो ठट्टा गरेजस्तो गरेर । एक्स आर्मीका कठोर हात मलाई भने मर्नु नै हुन्थ्यो । 

यो त केही सङ्केत मात्र हो । यस्ता अपमान र सजाय कतिभोगेँ कतिभोगेँ त्यो दुई वर्षमा । यस्तो क्रूर व्यक्ति शासक भएका वेला ऐसेलु काण्ड घट्यो मेरो जीवनमा । के निहुँ पाऊँ कनिका बुकाऊँ ।“तँ स्कुलको सबैभन्दा ठुलो, सिनियर होइनस् ?आफैं साथीहरूलाई समेत भुल्याएर कहाँ गएको थिइस् हिजो ?” अरू खतुकी साथीहरू रमिता हेर्ने म उनीहरूको समेत सजायको भागीदार ! भाटा त द्वन्द्वकालमा माओवादीहरूले के बर्साउँथे र मानिसलाई ! अब म यसभन्दा बढी वर्णन गर्न सक्तिनँ । आफैं अनुमान गर्नु होला पाठकवृन्द ! 

घरमा कसैको पोल लाउने चलन थिएन मेरो । जे जे भएपनि म सबै एक्लै सहन्थेँ । त्यस्तो बानी थियो मेरो । घरमा यदाकदा स्कुलका, साथीभाइसँग घरबाहिर भएका झैझगडा र अरू कुराहरू घरमा सुनाउनु राम्रो होइन भन्ने कुरा अभिभावकबाट सुन्ने गर्थेँ । सायद त्यसैको प्रभावहोला मैले कहिल्यै पनि स्कुलमा घटेका कुरा घरमा सुनाइनँ । अहिले लाग्छ, त्यो वेला मैले उक्त शिक्षकको ज्यादतीबारे घरमा सुनाएको भए पक्कै पनि त्यो आतङ्कबाट त्राण पाउने थिएँ । म मेरै बुद्धिले गर्दा त्यो क्रूर ज्यादती खप्न बाध्यभएँ । किनभने मेरा हजुर्बा र बा स्कुलका संस्थापक पनि र तत्कालका स्कुल सञ्चालक पनि । उहाँहरूले निजलाई बोलाएर “के गरेको ?” मात्र भनिदिँदा पनि त्यो मान्छे पानी हुनेथियो पक्कै । किनभने उसको दानापानी त मेरै बा हजुर्बाले भर्नुहुन्थ्यो । जे होस्, ऐसेलु काण्ड र त्यो शिक्षकको अमानवी यव्यवहार म जीवनभर भुल्नै सक्तिनँ । 

गंगाप्रसाद अधिकारी

२०७९ पौष, १६
निजी निवास,भद्रपुर ८

ट्यागहरू:
सहित्य literature sahitya svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
बिफरको तोबातोबा र थारमुङ्ग्राको कमाल
बिफरको तोबातोबा र थारमुङ्ग्राको कमाल
हेम अधिकारी पोष्ट - खगिन्द्रा खुसी - शनिबार ७ सेप्टेम्बर २०२४
तिते फापरको रोटी
तिते फापरको रोटी
हेम अधिकारी पोष्ट - खगिन्द्रा खुसी - मङ्गलबार ३ सेप्टेम्बर २०२४
द्रोण सर अब समाजको सम्पत्ति
द्रोण सर अब समाजको सम्पत्ति
कृष्ण धरावासी पोष्ट - खगिन्द्रा खुसी - बिहिबार २२ अगष्ट २०२४