अभाव

रोशन परियार · कार्तिक २०, २०८१ १०:२१ PM
Cover Image for News


तिमी साथ भएपछि 
मलाई धेरै चिजको अभाव हुनेछ 

अँगालो भरिने छ तर आँत खाली हुनेछ
उज्यालो छाउने छ तर अँध्यारोको अभाव हुनेछ
सुखले शिखर चुम्ने छ तर पीडाको अभाव हुनेछ 

खुशीको छाँगा बनेर उर्लिनेछ्यौ तिमी
मलाई भत्किने तलाउहरूको अभाव हुनेछ 

सुविधा बन्ने छ्यौ तिमी
मलाई अप्ठ्याराहरूको अभाव हुनेछ
चौडा सडक बनेर फैलिने छ्यौ 
मलाई यात्राहरूको अभाव हुनेछ 

हाँसो मिल्ने छ आँशुको अभाव हुनेछ
साथ मिल्ने छ समस्याको अभाव हुनेछ
स्पर्श पाउने छु अनुभूतिको अभाव हुनेछ 
मल्हम पाउने छु घाउको अभाव हुनेछ 

तिमी नतिजा बनेर आउने छ्यौ
मलाई परीक्षाको अभाव हुनेछ
तिमी समाधान बन्ने छ्यौ
मलाई अभ्यासको अभाव हुनेछ 

यसकारण अहिले आउँछु नभन्नू
म आफूलाई अभावमा दबाब दिन चाहन्छु
म अभावहरूकै हात समातेर तिमीसम्म पुग्न चाहन्छु
किनकि
म सम्पूर्णतामा भन्दा अपूर्णतामा जीवनको महत्व बढी देख्छु।


ट्यागहरू:
सहित्य कविता
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
सडकको रोदन
सडकको रोदन
कवि-कृष्ण धराबासी पोष्ट-दिलिप घिमिरे - सोमबार २० अप्रिल २०२६
म हरिण हुँ
म हरिण हुँ
कवि-दिल भूटानी, पोष्ट-दिलिप घिमिरे - आइतबार ५ अप्रिल २०२६
चाहना
चाहना
कवि कर्ण गुरुङ पोष्ट दिलिप घिमिरे - शुक्रबार ३ अप्रिल २०२६
तिर्खालु रहर
तिर्खालु रहर
कवि-राजिव आचार्य - शनिबार २१ फेब्रुवरी २०२६