आयो झोंक हवा सुसाउदै गगनमा, छायो अध्यारो सब. -सुनिता पाण्डे (सोनी)
आयो झोंक हवा सुसाउदै गगनमा, छायो अध्यारो सब
धिप्-धिप् बत्ति मलिन भो जगतमा, बुझ्यो दियालो अब
युगै अन्त्य भए सरि विलिन भो, उड्यो तुआलो जब
बल्दो लास रह्यो, विच हृदयमा, बन्यो खरानी शव ।
कालो रात अझङ्ग त्यो भयको, आयो उठाई लग्यो
मुर्झायो अब शुन्य भो बाग बँगिचा, स्वपना सरीको भयो ।
बर्सायो कसले पो उग्रपात नगिचै, उठ्नै नसक्ने भयो
फर्कन्नन् अवता शरिर उनको, छायाँ धमिलो रह्यो ।
झुल्का तेज निकाली पङ्ख सारी त्यो, आयो अनौठा गरी
पल भरमै भयो खरानी जव त्यो, टर्दै नटर्ने गरी ।
अस्तायो जब सुर्य पश्चिम दिशा, झुल्की नआउने गरी ।
क्षण भर मात्र थियो त्यो देह उनको, विलायो नदेख्ने गरी ।
देख्दा नाल विच शरिर जब त्यो, वाक्यै रहेझै भयो ।
गाढा भो अबता निद उनको, ब्यूझि नसक्ने भयो ।
हरायो अब छैन कान्ति उनको, बोल्नै नसक्ने भयो
जल्ला शान्ति दिप अखण्डको र मरुला, खुट्का त्यसैको रह्यो ।