'परशु- कल्पना स्रष्टा सम्मान २०८२' नेपाली गीतकार किरण खरेललाई
झापा, २०८२ चैत ८ । 'परशु- कल्पना स्रष्टा सम्मान २०८२' नेपाली गीति साहित्यका अग्रज गीतकार किरण खरेललाई अर्पण गरिएको छ । साहित्यकार परशु प्रधान तथा उनकी धर्मपत्नी कल्पनाको नाममा प्रधानका चारजना सन्ततिद्वारा स्थापित सो सम्मानको राशि रू १,००१११/- रहेको छ । नेपाल स्रष्टा समाजले आयोजना गरेको विशेष कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व प्रा.डा. दयाराम श्रेष्ठले गीतकार किरण खरेललाई उक्त सम्मान अर्पण गरेका हुन्।
समाजका अध्यक्ष श्रीओम श्रेष्ठ'रोदन'को सभापतित्वमा भएको कार्यक्रममा अन्य आमन्त्रित व्यक्तित्वहरूमा गीतकार खरेलकी धर्मपत्नी उषा खरेल तथा गीतकारद्वय दिनेश अधिकारी, रमण घिमिरे र परशु प्रधानका भाइ समेत रहेका कवि शैलेन्द्र साकार र समाजका संरक्षक पवन आलोकको उपस्थिति रहेको थियो ।
प्रमुख आमन्त्रित व्यक्तित्व प्रा.डा.दयाराम श्रेष्ठले स्रष्टा परशु प्रधानको कृतित्व तथा व्यक्तित्वमाथि प्रकाश पार्दै २०४१ मा परशुका २५ कथाहरूको आफूले सम्पादन गरेको बताए । ३५ पृष्ठको भूमिका प्रभाववादी लेखिएछ जुन पूर्ण रहेनछ भनेर स्वीकारे । परशुका १३० भन्दा बढी कथाहरूको न्यायपूर्ण समीक्षा नभएको चर्चा गर्दै उनले अब नयाँ ढङ्गबाट समीक्षा गरिनुपर्ने बताए । १७-१८ वर्षको उमेरदेखि कथा, कविता तथा उपन्यास लेख्न शुरू गरेका परशुले जीवनभर जसै जस पाए तर आफूले भने सधैँ अपजस पाएको उनको दुखेसो थियो ।
समाजका अध्यक्ष श्रीओम श्रेष्ठ'रोदन'ले परशु प्रधान नेपाल स्रष्टा समाजको परिकल्पनाकार तथा स्थापनाकर्ता समेत रहेको बताए । स्रष्टाहरू मरेपछि मरे मरे तर बाँचेकाहरूको समेत खोजी हुने नगरेको तीतो यथार्थ कोट्याउँदै उनले परशु आफू मात्र लेख्ने नभई अरूलाई समेत लेख्न प्रोत्साहित गर्ने भएकाले अहिलेसम्म बाँचेको बताए । परशु-कल्पना स्रष्टा सम्मान अग्रज गीतकार किरण खरेललाई अर्पण गर्न पाएर समाज आफैँ सम्मानित भएको बताए । ८७ वर्षीय कालजयी गीतकार किरण खरेलको व्यक्तित्वमाथि समेत उनले प्रकाश पारेका थिए ।
शुभकामना मन्तव्य राख्दै गीतकार दिनेश अधिकारीले शुरूका दिनहरूमा लेखन कार्यमा प्रेरित गर्ने व्यक्ति परशु प्रधान रहेको बताए। सूचना विभागमा सँगै रहेर काम गर्दाको स्मरण पनि गरेका थिए।सम्मानित व्यक्तित्व किरण खरेलका बारे बोल्दै एक दिन एकजना पत्रकारले आफूलाई एक दिनका लागि कोही रोज्नु पर्यो भने को रोज्नु हुन्छ भन्ने सवालमा अग्रज गीतकार किरण खरेलको नाम लिएको थिएँ आज पनि लिन्छु भनेर बताए । गीत लेख्नुपर्छ गीत बज्नुपर्छ भन्ने मान्यता राख्ने किरण खरेल सबै महादेशमा चिनिएका छन् भनेर उनले बताए।
कार्यक्रममा समाजका संरक्षक पवन आलोक र रमण घिमिरेले पनि बोलेका थिए ।
कवि शैलेन्द्र साकारले दाजु परशु प्रधानको बाल्यकालको स्मरण गर्दै उनको जीवनी संक्षेपमा बताएका थिए । परशु प्रधान दौलतबिक्रम विष्ट तथा पोषण पाण्डेबाट प्रभावित रहेको बताए । परशु-कल्पना स्रष्टा सम्मानका संस्थापक परशु सुपुत्र प्रतीक प्रधानले आफ्नो स्वागत मन्तव्यमा आजको कार्यक्रम एउटा साहित्यिक तथा पारिवारिक जमघट भएको बताए। चारजना सन्तानको पालनपोषण र शिक्षा दीक्षाको प्रसङ्गमा उनले साहित्यकै योगदान रहेको बताए। प्रतिकूल मौसमका बावजुद पनि उपस्थित भइदिएर कार्यक्रम सफल तुल्याउने सबैमा आभार प्रकट गरेका थिए।
समाजकी सदस्य डा.शान्तिमाया गिरीले समाजको गतिविधि र क्रियाकलापमाथि प्रकाश पार्दै हावाहुरी र पानीको अवरोध अवस्थामा पनि उपस्थित हुने सबैलाई धन्यवाद ज्ञापन गरेकी थिइन्।
बालुवाटारस्थित मेरिडियन इन्टरनेशनल स्कुलमा भएको सो कार्यक्रमको सहजीकरण तथा सञ्चालन समाजका सदस्य प्रदीप सापकोटाले गरेका थिए।