आर.बी. निश्चलको ‘ब्रह्माण्डको अन्त्य’ लोकार्पित
२१ असोज । झापा । साहित्यकार आर.बी. निश्चलको ‘ब्रह्माण्डको अन्त्य’ लोकार्पण गरीएको छ । तानसेनस्थित त्रिभुवन बहुमुखी क्याम्पस, नेपाली विभागले क्याम्पसमा क्याम्पस नेपाली विभाग प्रमुख महेन्द्र पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उक्त कृति लोकार्पण गरिएको हो । निश्चलको सातौँ काव्य कृतिका रूपमा आएको उक्त कृतिको विमोचन प्रमुख अतिथि क्याम्पस प्रमुख डा. टंकप्रसाद पन्थसहित तानसेन–९ का वडाध्यक्ष राजेशकुमार अर्याल, कार्यक्रमका अध्यक्ष एवं नेपाली विभाग प्रमुख उपप्राध्यापक महेन्द्र पन्थी, समीक्षक उपप्राध्यापकद्वय प्रेम खराल र प्रतिभा पौडेल, स्रष्टा निश्चल र उनकी पत्नी मीना खातीले संयुक्तरूपमा कृतिको विमोचन गरेका थिए ।
समीक्षक उपप्राध्यापक प्रतिभा पौडेलले कविताका तत्वका आधारमा निश्चलको कविता सङ्ग्रहमाथि विचार प्रस्तुत गरिन् । उनले कृतिको आवरण, कविताको संरचना, भाव पक्ष र कला पक्षलाई गहन ढङ्गले केलाइन् ।
साहित्यकार एवं उपप्राध्यापक प्रेम खरालले कवि निश्चलका कवितामा अस्तित्ववादी चेतना केन्द्रबिन्दु झल्किएको उल्लेख गरे।
स्रष्टा निश्चलले आफ्नो सिर्जनाको पृष्ठभूमि उल्लेख गर्दै आफ्नै पारिवारिक र सामाजिक परिवेशले सिर्जनातर्फ डोर्याएको स्मरण गरे । कार्यक्रममा साहित्यकार रामप्रसाद अर्याल, लेखक मन गहिरेले निश्चललाई प्रगतिको शुभकामना व्यक्त गरे ।
समारोहमा साहित्यकार तथा समालोचक डा. शंकरप्रसाद गैरेले स्वागत र विभागका सदस्य चतुर्भुज नेपालले कार्यक्रम सञ्चालन गरेका थिए ।