वानीरा फाउन्डेसनद्वारा चार व्यक्तिहरुलाई ‘वानीरा पुरस्कार’ समर्पण
झापा ८ बैशाख/वानीरा फाउन्डेसनले चार जना प्रतिभाशाली व्यक्तिहरुलाई ‘वानीरा पुरस्कार’ सोमबार समर्पण गरेको छ।
वानीरा फाउन्डेसनका संरक्षक इन्जिनियर शङ्कर गिरिले राजधानी काठमाडौँमा स्थापित वानीरा सभागृहमा एक समारोहकाबीच ‘नेपाली भाषा साहित्यको सिर्जनामा साढे सात दशकदेखि निरन्तर साधनारत एवम् नेपाली भाषाको श्रीवृद्धिका लागि समेत समर्पित माधव खनाल ‘भावुक’लाई २०८२ सालको ‘वानीरा प्रज्ञा पुरस्कार’ समर्पण गरे ।
समारोहमा गिरिले ‘आफ्नै स्रोत र साधनबाट विगत चार दशकअघिदेखि कम्प्युटरमा नेपाली लिपिको निर्माणका साथै कृत्रिम बौद्धिकतामा आधारित यन्त्र मानवको आविष्कार गरी अन्तर्राष्ट्रिय जगत्मा समेत नेपालको गौरव बढाएबापत कम्प्युटर वैज्ञानिक मुनि शाक्यलाई ‘वानीरा शङ्कर पुरस्कार’ समर्पण गरे ।
यी दुवै पुरस्कारका राशि जनही एकएक लाख रुपियाँ रहेका छन् । सोही समारोहमा संस्थापक गिरिले ‘आख्यान, कविता र हास्यव्यङ्ग्य लेखनमा समर्पित रही नेपाली भाषासाहित्यको संवर्धनमा उल्लेख्य योगदान दिएबापत चितवनका धनराज गिरिलाई पचास हजार रुपियाँ राशिको ‘वानीरा पुरस्कार’ समर्पण गरे।
यसअघि वानीरा सङ्ग्रहालयमा अवस्थित डा.गिरीको पूर्ण कदको सालिकमा वानीरा फाउन्डेसनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईबाट माल्यार्पण गरिएको थियो ।
इञ्जिनियर शङ्कर गिरीको प्रवल इच्छा बमोजिम २०७९ साल वैशाख २० गते वानीरा फाउन्डेसनको भवन तथा सङ्ग्रहालयको स्थापना भएको हो ।
वानीरा फाउन्डेसनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित सो समारोहमा पुरस्कृतहरु, वानीरा फाउन्डेसनका उपाध्यक्ष प्रा.डा.ऋषिराम शर्मा, कार्यक्रम संयोजक भगवती बस्नेत र सदस्यसचिव नरेन्द्रराज प्रसाईबाट वानीरा गिरिबारे मन्तव्य प्रकट भएको थियो ।