पानीहटक
(एकाङ्की)
पानीहटक
रुद्र बराल
पात्र-पात्रा
१ पुरोहित - ५५ -६० वर्ष
२.पुरोहित्नी - ५०-५५ वर्ष
३.मनोज - ३५-४० वर्ष
४.नेत्रलाल - ४५ -५० वर्ष
५.धरणीधर -४५ -५० वर्ष
६. विकास - २८-३० वर्ष
७. निकिता - २५-२७ वर्ष
८. नाटककार : ५०-५२ वर्ष
( एक पुरोहितको घरको सामान्य कोठा। कोठाभित्र पुरोहित्नी बाती कातिरहेकी। बाहिर मान्छेको कोलाहल सुनिन्छ।
... यो लोभी काठालाई पानीहटक गर्नु पर्छ।
.... एक सय रुपियाँका लोभले काठो डुम्राका घरमा न्वारन गर्न पुगेको
.... यस्ता टपरेलाई अब कसैले बोलाउनु हुँदैन यसलाई समाओ, समाओ, है है भागो, भागो । आदि कल्याङकुल्लुङ पुरुष तथा नारी कण्ठको आवाज। मञ्चमा हस्याङ र फस्याङ गर्दै सिदाको झोला लिएर पुरोहितको प्रवेश। भयभीत भएर पुरोहित्नीले प्रश्न गर्छे।)
पुरोहित्नी (अत्तालिँदै) : होइन बाहिर
केको हल्ला होला? तपाईँलाई नै
सरापे जस्तो पो छ त। हन के भयो?
पुरोहित स्वाँ स्वाँ गर्दै) के भन्छेस् बुढी,
आज त मेरो सातै फुके नि। धन्न दचुर्न
चिँ दचुरेनन्। कसो कसो उम्केर आएँ।
पुरोहित्नी : (अझ भयभीत हुँदै) दचुरे?
किन दचुर्ने? कसले? हन कसको के
बिराउनु भो तपाईँ ले? हुनत तपाईँको
पनि मुख त छुच्चै छ। कसैलाई केही
भन्नुभो कि?
पुरोहित : (कुर्सीमा बसेर) होइन नि,
कसलाई के भन्नु? धन्न त्यो
धनबहादुरको छोरो त्यो गोर्खाको के
सङ्गठन गर्छ नि त्यो सम्मेलन हो कि
अधिवेशन भन्ने, त्यसैले हकार पकार
पारेर मान्छेलाई ठन्डा पारो नि गाँठे,
नत्र त आज मेरो के गति पो हुन्थ्यो
होला।
पुरोहित्नी : हन कुरो चैँ के हो भन्नु न।
कसको के बिराउनु भो र तपाईँले?
पुरोहित : कसको पो के बिराउनु नि! त्यो
जन्तरे दमाईको नाति जन्मेछ। मेरो
त लङ्गौटे साथी परो। चाइने जो
नातीको न्वारान गर्देऊ न बिष्ट
भनेर हिरिक्कै गरो। दमाई पुरेत कतै
पाएन अरे। आखिर हामी सबै हिन्दू
हौँ, गोर्खा हौँ, चाइने जो शास्त्र पनि
एउटै हो भनेर ला न त पढिदिनु न
भनेर न्वारान गर्न गाको भाले
सातो ...
( मनोजको प्रवेश)
मनोज : अँ, हो, मैले भाले सातो फुकेँ
गुरुमा ...
पुरोहित्नी : तिमीले फुकेऊ! तिमीले!!!
मनोज : अँ मैले। तर पुरोहित बाको
होइन, ती तथाकथित धर्म र
संस्कृतिका रक्षक जातिद्रोहीहरूको।
जसले धर्मग्रन्थको 'ध' अक्षर पढेका
छैनन्, जसले गोर्खा जातिको संरचना
केही जानेकै छैनन्, जसले आसामे,
बङ्गाली, हिन्दी राजस्थानी भाषा
बोल्ने अरू अरू जातिका घरमा भने
ठुलो-सानो जात नभनी बिहेबटुल,
न्वारान-सराध सबैमा भोज-भतेर
खान्छन्। अरू त के नछुने हुँदाको
बिहेमा समेत उपहार बोकेर मासु
खान पुग्छन्, तिनै भन्डहरूलाई।
पुरोहित : हो बाबु हो, मलाई त झन्नै
मारेनन् चाइने जो। ईश्वरले धन्न
तिमीलाई पठाएछन् गाँठे।
पुरोहित्नी: अनि के दमाई, कामी, सार्की,
भुजेलका घराँ उनीहरू जाँदैनन्,
रक्सी धोक्न। तल्लोजातका राम्रा
तरुणी देखे आँखा गाड्दैनन्? अनि
न्वारान चाहिँ नचल्ने?
(भित्रबाट एउटा ब्रेकिङ न्युज आउँछ। सबैले कान थापेर सुन्छन्। Big breaking news, big breaking news. फेरि धर्मान्तरित भए गोर्खा परिवार, धर्मान्तरित भए गोर्खा परिवार, आज फेरि गोर्खा परिवार धर्मान्तरित भएको समाचारले सनसनी फैलाएको छ।सनसनी फैलाएको छ गोर्खा धर्मान्तरित भएको समाचारले। दार्जिलिङका सात गोर्खा जनजाति परिवार भए धर्मान्तरित। उनीहरूको गोर्खाका उच्च वर्णका मानिसबाट सधैँ अवहेलना, तिरस्कार झेल्नुपरेको आरोप।)
पुरोहित : अर्चनाकी आमा, चाइने जो त्यो
अर्चनाले मोबाइलमा सम्चार
सुनिरहेकी होला। जा जा चैनेजो
मोबाइल चाहिँ लिएर आइज। (पुरोहित्नी भित्र पसेर मोबाइल लिएर आउँछिन्। र पुरोहितलाई दिएर फेरि प्रस्थान)
पुरोहित : लु लु बाबु भर्खर यसले यो के
भन्दै थियो चाइने जो फेरि सुनौँ
न चाइने जो।
( मोबाइल मनोजलाई दिन्छन्।
मनोजले फेरि रि प्ले गर्छन् -Big
breaking news, big breaking news. फेरि धर्मान्तरित भए गोर्खा परिवार, धर्मान्तरित भए गोर्खा परिवार, आज फेरि गोर्खा परिवार धर्मान्तरित भएको समाचारले सनसनी फैलाएको छ।)
मनोज : गुरुबा, हो हाम्रा मानिस फेरि
धर्मान्तरित भए। हाम्रो समाजको यो
जात-पात र छुवाछुत व्यवस्था यसका
लागि दायी हो। हामी तल्लो
जातकालाई घृणा गर्छौँ। छि: छि: र दुर्
दुर् गर्छौँ। यो अन्याय र अवहेलना
रोकिएन भने हाम्रो जात यसरी नै पहिरो
गएर माटामा मिल्ने छ।
पुरोहित : अनि धर्मान्तरित हुनेलाई त
चाइने जो धेरै पैसो मिल्छ अरे नि
बाबु। पढ्ने सुबिधा पनि
मिल्छ अरे भन्छन् नि, के साँचो हो र
बाबु?
मनोज : हेर्नुहोस् पुरेतबा, मान्छे धनी होस्
या गरिब ऊ आत्मसन्मानका साथ
बाँच्न चाहन्छ। यदि उसले सधैँ
आत्मसन्मान हनन् भएको अनुभव
गर्यो भने धेरैदिन खपिरहँदैन।
यसमा हाम्रै दोष छ। अनि गरिबीले
पनि मानिसलाई लाचार बनाएको
हुन्छ। यी धर्मान्तरण गराउनेले
यसैको मौका त छोपेका हुन्। तर के
उनीहरूको धर्म लिनेहरूमा गरिब
छैनन्? माग्ने छैनन् र? कति छन्
कति।
( बाहिर हल्ला सुनिन्छ।
...केको नाटक देखाका?
....यहाँ आमाबाबुको सोरै आना दोष छ
… अँ अँ ठिक हो ( संयुक्त स्वर)
.....यी बाबुआमालाई चारपाटा मुडेर गाउँ डुलाउनु पर्छ।
… चन्द्राइन गराउनु पर्छ,
… बढिया, बढिया( संयुक्त स्वर)
( मञ्चमा नेत्रलाल र धरणीधरको प्रवेश)
पुरोहित + मनोज : (आत्तिँदै) हैन के भो?
के भो? केको हल्ला हो हँ यस्तो?
नेत्रलाल : तल्ला गाउँका ती मोतिलाल
शर्माकी छोरी साइँला जोगीका
छोरासँग भागिछे।
धरणीधर : यो कुरा सप्पै आमा चाहिँलाई
थाहा थियो। आमाले पैसा दुहुन्जेली
छोरीलाई केही भनिन, दिन रात त्यो
विकासेको त्यहीँ रासोबासो थियो।
पुरोहित : मैले दमाईको घरमा न्वारान गर्दा
चाइने जो मलाई कुटौँ र मारौँ गर्ने
यिनै शर्मा हुन्। हे हरि ... यी कानले
के सुन्न पाइयो! लौ नानी हो बस्तै गर,
मेरो त प्रेसरै बढ्यो। एकछिन ढल्किनु
पर्यो म त। ( प्रस्थान)
मनोज : मोतिलाल शर्माकी छोरी भन्नाले
ती प्राइभेट कम्पनीमा नोकरी गर्ने
निकिता बैनी होइनन्? विकास
पनि त्यही कम्पनीकै त डाइरेक्टर
हुन्।
नेत्रलाल + धरणीधर : त्यही डाइरेक्टर
भनेर त छोरीलाई छाडा छोडेका हुन्
नि।
मनोज : हाम्रो यो जातपात, छुवाछुत पनि
सबै आर्थिक अवस्था र नोकरीको
ओहोदासँग सम्पर्कित छ। ठुलो
प्रशासनिक अधिकारी, नाम चलेको
व्यक्ति, धनीमानीलाई जेसुकै जातको
होस् देउताकोठामा पुर्याइन्छ।
डाइनिङमा बसेर सँगै खाइन्छ। एउटा
दमाई डिसी, एमेले भयो भने के
त्यसलाई भान्सामा पसाउँदैनन्?
उसका घरमा खाँदैनन्? यो जातपात
तल्लोवर्गका मानिसलाई पेल्ने औजार
मात्र हो?
नेत्रलाल : अनि भाइले के भन्न खोजेका
हौ? तेसो भए के अब हाम्रा छोरीचेली
दमाई, कामी, सार्की, कमारा, सबैलाई
दिनु?
धरणीधर : (कड्किँदै) कस्ता कुरा गरेका
भाइले! यी कुरा मलाई पटक्कै पचेन।
पैसा र नोकरी देख्नेसाथ के हामीले
जसतसलाई हाम्रा छोरीचेली झ्याइँ
झ्याइँ बिहे गरेर अन्माइदिनु?
मनोज : मैले भन्न खोजेको हो कुनै अर्को
जातिकासँग बिहे हुँदा हामी त्यो
जातिको मानिस तल्लो हो कि माथ्लो
जात हो हेर्दिनौँ। तर आफ्नै गोर्खा
जातिभित्र भने हामी सानो जात,
ठुलो जात भनेर पानी बाराबार गर्छौँ।
हामीभित्रकै एउटा ठुलो हिस्सालाई
हामी पन्छाएर दबाएर राख्छौँ। यसले
हाम्रो जातिभित्र विभाजन ल्याएको
छ।
( पुरेत बा! ए पुरेत बा। बाहिर कसैले बोलेको सुनिन्छ। बाहिरबाट निकिता र विकासको प्रवेश)( भित्रबाट गम्छा काँधमा भिरेर पुरोहित र पुरोहित्नी दुवैको प्रवेश)
पुरोहित : चाइने जो को हो हौ बोलाउने?
निकिता : हामी हौँ बा, हामी दुई। हामीले
गन्धर्व विवाह गर्यौँ। अब हाम्रो
मन्दिरमा बिहे गरिदिनु पर्यो।
पुरोहित्नी : हुँदैन, हुँदैन…
(मनोजले बिचैमा भन्छ)
मनोज : गुरुमा, कुरा भनिसक्न दिनु न।
नेत्रलाल : हुँदैन, हुँदैन। यस्तो सामाजिक
विथिति हुन दिइँदैन।
धरणीधर : यी भाइजस्ता शिक्षितले हो
हाम्रो समाजलाई डुबाएका। हाम्रो
रीतिनीति र परम्परा यिनीहरूले नै शेष
पारे। हामी मान्दिनौँ। अब सात गाउँ
डाकेर यी पुरेत बाबै र दुईको विचार
हुनुपर्छ।
मनोज : समाज हामीले होइन, बरु
हजुरहरू जस्ता अल्पशिक्षित र
रुढीवादीले भाँड्दै हुनुहुन्छ। एउटा
जातिलाई हजुरहरू सिङ्गो जातिका
रूपले रहन दिनुहुन्न। यो जातिलाई
टुक्र्याउने यही जातभातको प्रथा हो।
यो अल्पसङ्ख्यक जातिलाई
महाजाति बन्न नदिने र झन्
अल्पसङ्ख्यक पारेर जातिको
अस्तित्व मेटाउने यी कुअभिप्रायहरू
बन्द गर्नै पर्छ।
( बाहिर माइकको घोषणा सुनिन्छ।
सूचना सूचना सूचना। एक विशेष सूचना।सम्माननीय बडसोला भेकका सात गोर्खा गाउँका जनता। आउँदो अङ्ग्रेजी ६ अक्टोबर आइतवारका दिन दिउँसो दुई बजे बडभोगिया हरगौरी मन्दिर प्राङ्गणमा बडसोला गोर्खा समाजको एक विराट आमसभा डाकिएको छ। उक्त आमसभामा हाम्रो समाजभित्र वर्तमान चल्दै आएका सामाजिक विथितीहरूको बारेमा छलफल गरी केही सामाजिक नियमहरू पुन: लागु गरिने छ। सभाको महत्व बुझेर हजुरहरू सबै वयस्क पुरुष-महिलालाई उक्त सभामा उपस्थित रहन आग्रह गरिन्छ। सूचना, सूचना, सूचना। एक विशेष सूचना।)
विकास : मनोज दाइ, अब हाम्रो के हुन्छ?
के हाम्रो प्रेमले अब समाजका सामु
घुँडा टेक्छ?
( मनोज अलिक कुनातिर गएर कसैसँग फोनमा बोलिरहेको हुन्छ। ' अँ, हुन्छ, हुन्छ ... तपाईँले चिन्ता नगर्नु... होइन कसैलाई पठाउनु पर्दैन... म आफै मिलाउने प्रयास गर्छु। .... ओके, ओके)
पुरोहित्नी : अँ टेक्नु पर्छ त। प्रेम गर्दा
आँखा चिम्लिएर हुँदैन क्यारे,
जातपात, साइनो मिच्न काँ पाइन्छ
त्यसै। कुखुरे बैँस सबैको हुन्छ। त्यो
भन्दैमा जिजुबाजेको पालाको धर्म
यसरी अफाल्दै हिँड्न पाइन्न भो।
पुरोहित : ए अर्चनाकी आमा! तँ कस्ता
कुरा गर्छेस्? चाइने जो दमाईका
घरमा न्वारान गर्दा हामीलाई चन्द्राइन
गर्नु पर्छ भन्ने यही समाज हो। हाम्रा
पनि छोरीचेली छन्। चाइने जो भोलि
के हुन्छ कसले देखेको छ? तँ
भित्र जा। अर्चनालाई सारै सञ्च
छैन।
( पुरोहित्नी भित्र जान्छिन्। नेत्रलाल र धरणी केहीबेरदेखि कानेखुसी गरिरहेका छन्)
मनोज : ए, जगदीश दाइको फोन आको
थियो। गोर्खा सम्मेलनसम्म यी
कुराहरू पुगेछन्। गोर्खा सम्मेलनले यी
जातपात र छुवाछुत हाम्रो समाजबाट
हटाउन एउटा कमिटी बनाएको छ।
सबै गोर्खालाई एक पार्न। गोर्खालाई
एउटा सशक्त महाजातिको रूप दिन।
तपाईं नडराउनु होस्। कसैले कसैलाई
पानीहटक गर्न सक्तैन। विकास र
निकिता! तिमीहरू पनि डराउनु
पर्दैन। हामी साथमा छौँ? ( विकास र
निकिता मुख मुख हेरेर केही
खस्याकखुसुक गर्छन्)
नेत्रलाल + धरणीधर : कमिटी बनाएर
पातकीलाई सहयोग गर्ने। लौ त हेरौँ
कसले मिच्दो रहेछ हाम्रो रीतिथिती,
मान्दिनौँ हामी त त्यस्तो कमिटी
समिटी।
विकास : नेत्र काका, तपाईँ अमार्जित
असंवैधानिक शब्द प्रयोग नगर्नुहोस्।
यो समाजको भित्रीपाटो हामीलाई पनि
थाहा छ। लुकीचोरी कसको कुन
तल्लाजातका नारीसँग लसपस छ,
को जातधर्म नहेरी दुला दुला पसेर
जाँड र रक्सी धोक्छन् हामीलाई सबै
थाहा छ, हामीसँग पनि तथ्य छन्।
नेत्रलाल : ऐ, के भनिस्? तँसँग के प्रमाण
छ? मुख छ भन्दै जथाभावी नबोल्
नि।
( वितर्क सुनेर डरले कामिरहेका पुरेतबा ''मेरो त कटक्क भुँडी खायो'' भन्दै भित्र पस्छन्)
मनोज : नेत्रलाल, धरणीधर काका,
विकास, तपाईँहरू शान्त हुनुहोस्।
झगडा गरेर समस्याको समाधान हुँदैन।
समाज हाम्रो हो, मानिस हाम्रा हुन्। अँ
सम्मेलनले पनि आजै बिहेबारु चलाऊ
त भनेको छैन। तर, आफ्नै जातभित्रको
प्रेमलाई स्वीकृति दिन किन
हिचकिचाउनु? यसरी हाम्रो समाजको
भित्री कुरा माइकमा फुकेर अर्को जात
हँसाउनु हुँदैन। मान्छे चन्द्र मङ्गल
पुगिसके, हामी ठुलो सानो, पानी
चल्ने नचल्ने मै व्यस्त छौँ।
निकिता : ठिक भन्नुभो दाइ। म मेरा
इच्छाले, आफ्नो पसन्दले विकाससँग
आएकी हुँ। यो मेरो संवैधानिक
अधिकार हो। म नाबालिक केटी
होइन। समाजको ऐन जति कठिन
हुन्छ त्यसलाई तोड्न उति नै प्रयास
चल्छ। आजको युगमा हामी तिनसय
वर्षअघिको सोच लिएर चल्न सक्तिनौँ।
धरणीधर : के तेसोभए समाजमा जसलाई
जे गर्न मन लाग्छ त्यही गर्न दिनु?
विकास : होइन, बन्धन र स्वाधीनताको
सन्तुलन चाहिन्छ। हामीले केही
बिराएका छैनौँ।
नेत्रलाल : ऐ विकासे! के भनिस् अरे?
हाम्रा बाहुन- छेत्रीका छोरी लाने अनि
आफै ठुला कुरा गर्ने? लगाऊँ झापट! ( हात उचाल्छ)
( दर्शकका बिचबाट आवाज आउँछ, खबरदार, खबरदार हात नउठाऊ। मञ्चमा दर्शक दीर्घाबाट नाटककारको प्रवेश)
नाटककार : खबरदार ऐन हालमा नलेऊ।
यो गणतान्त्रिक देश हो। यहाँ न्याय-
अन्याय हेर्ने ऐन-अदालत छन्। आफै
न्यायाधिश नबनौँ।
धरणीधर : तँ को होस् हाम्रो यो
छलफलका बिच भाँजो हाल्ने? तँ
कुन गाउँको होस्? तँलाई यहाँ कसले
बोलायो? दिऊ तँलाई पनि?
नाटककार : म कुन गाउँको हो त्यो ठुलो
कुरो होइन। ठुलो कुरो हो हाम्रो समाज,
हाम्रो जाति र त्यसमाथि मानवता। म
यस नाटकको नाटककार हुँ( सबै
आश्चर्यचकित भएर नमस्कार गर्छन्)।
साहित्यकारले समाजलाई जोड्ने
काम गर्छ। कल्पनामा उडेर साहित्य
सृष्टि हुँदैन। साहित्य पढ्ने मात्र चिज
होइन, अनुधावन गर्ने चिज हो।
नेत्रलाल + धरणीधर : तर, हाम्रो समाज
भाँडिदैछ। यसलाई रक्षा गर्नुहोस् प्रभु।
मनोज : यो जातपात आजसम्म निर्मुल
हुन नसक्नु नै हाम्रो समाजको लागि
घातक बन्यो।
निकिता : ठिक भन्नुभो सरले।
विकास : सही हो।
नेत्र : तर ...
मनोज : कुनै तर सर होइन। यो जातपात
र छुवाछुत हट्नु पर्छ। हामी सबै गोर्खा
हौँ।
नाटककार : गोर्खा मात्र होइन, हामी
मानिस पनि हौँ। अँ ठिक छ, हामी
आजै त्यहाँसम्म पुग्न सकिनौँ,
समाजको पूर्ण परिवर्तन ल्याउन
सकिनौँ, तर, त्यसभन्दा अघिल्लो
स्टेप यो जातपात र छुवाछुत किन
हटाउन सक्तिनौँ? यी पुरोहित बाजे
पनि निरीहचाहिँ होइन। समाजलाई
एउटा समय ब्राह्मणवादले जुन
पर्यायमा लग्यो आज त्यसको संशोधन
शिक्षित ब्राह्मणबाटै हुनुपर्छ।
मनोज : अचम्म लाग्छ सर! मन्दिरभित्रको
मूर्ति विश्वकर्माले बनाएको, मन्दिरको
घन्टा विश्वकर्माले बनाएको, दियो
विश्वकर्माले बनाएको, पुरोहितका लुगा
दमाईले सिलाएको, कीर्तन गर्ने ढोल
सार्कीले बनाएको अनि उनीहरू नै
अछुत? हुँदैन, यो हुनै सक्तैन।
नेत्रलाल : अब के त्यसो भए बाहुन छेत्री
दमाई, कामी, सार्की, राई, लिम्बू,
मतवाली, तागाधारी सब सरोबर हुने?
जसको छोरी जसले लान्छ, लान दिने?
जसका घरमा टपरा सोहोर्न पाइन्छ उतै
कुद्ने? जसकामा जे खान मन लाग्छ
त्यही खाने?
नाटककार : कसले कसकामा खान्छ
खाँदैन त्यो निजी कुरा हो। कसले
कोसँग बिहे गर्छ त्यो पनि हामीले
रोक्न सकेका छैनौँ। तर
मानिसको मान मर्यादामा चोट लाग्ने
काम गर्नु हुँदैन। हामी पानीको बतल,
बिस्कुटको प्याकेट किन्दा कसले
बनाएको सोद्धैनौँ। घरबाहिर हाम्रो
जातको अभिमान बारम्बार तोडिएको
छ। हामी भारतभरिका तीर्थ भ्रमण
गर्दा को कुन जातको हो सोद्धैनौँ। तर
हाम्रै जातका घरमा हामी न्वारान -
सराध गर्दैनौँ, पूजाआजा गरिदिँदैनौँ।
यो कस्तो बिडम्बना, हाम्रो समाजमा
रहेका तथाकथित सानो जातका
मान्छे
युग युगदेखि हामीलाई सघाउँदै आए,
दुखमा हामीसँगै रोए सुखमा सँगै
रमाए, तर अझै पनि उनीहरूले
हामीबाट उचित व्यवहारसम्म
पाएनन्। पूजापाठ गरिदिने, मर्दा
मलाम जाने, भोजभतेरमा निम्त्याउने
त गर्न सक्छौँ नि। परिवर्तन नल्याए
पनि सुधारसम्म त गर्न सक्छौँ नि।
धरणीधर : यी दलितले हामी बाहुन
छेत्रीलाई काठा, टपरे, खट्टे आदि भनेर
किन हियाउँछन् त?
नाटककार : हाम्रा भाषामा जातिगत
हियाइका यस्ता धेरै शब्द, उखान,
टुक्का छन्। यी हट्नु पर्छ। हाम्रो
मानसिकता हेर्नुहोस् - बाहुनले म
सबैभन्दा ठुलो, जैसीले म छेत्रीभन्दा
ठुलो, छेत्रीले म जोगी, ठकुरीभन्दा
ठुलो, जोगीले कामीभन्दा ठुलो,
कामीले दमाईभन्दा ठुलो भनेर
हामी माथि र तलको रेखा तान्छौँ।
हामी ठुलो देखाउँदा देखाउँदै आफै
सानो भएका छौँ।
नेत्रलाल : त्यसो भए मतवालीलाई मात्र
हिंसा गरे किन भन्नू?
भन्नु?
नाटककार : यो मतवाली शब्द नै भुल हो।
हामी हाम्रो भाषा नमिल्ने, संस्कृति
नमिल्ने, कहिलेकाहिँ त धर्म पनि
नमिल्ने अर्कै सम्प्रदायसँग कुनै
भेदभाव गर्दैनौँ, तर एउटै भाषा बोल्ने,
उस्तै उस्तै देउता पुज्ने सधैँ हाम्रा
छरछिमेकमा बस्ने दलित
भनिनेहरूसित भने कस्तो व्यवहार
गर्छौँ?
धरणीधर : तर पनि हाम्रो परम्परा ...
नाटककार : परम्परालाई समाजले
युगअनुकूल पार्नु पर्छ। नभए मानिसले
परम्परा तोड्न परम्पराभित्रै छिद्र
खोज्दछ।
मनोज : हामी अर्कोतरिकाले पनि नफुटौँ।
जनगणनामा हामीले एउटै जातिको
परिचय दिऊँ। महाजातिको।
नेत्रलाल + धरणीधर : तर हामीलाई यी
कुरा पचेनन्। सिधा कुरो। हामी यस्ता
उल्का कुरामा लाएर हाम्रा
पिता-पुर्खाको रिती र धर्म मास्न
सक्तैनौँ।
नाटककार : ठिक छ। मैले तपाईँहरूकै
कुरा मानेँ। अब सुन्नुहोस् म
तपाईँहरूकै सपक्षको नारा लगाउँछु।
जनताले जे भन्छन् त्यही नै हो
आजको निर्णय।
( पुरोहित, पुरोहित्नीको प्रवेश)
नाटककार : हामी जात जातमा फुटौँ
फुटौँ।
(नेत्रलाल धरणीधरबाहेक मञ्चका सबै र दर्शक दीर्घाबाट । ''नफुटौँ, नफुटौँ)
नाटककार : फुटौँ फुटौँ
दर्शक : नफुटौँ नफुटौँ
नाटककार : अब मान्नुभो आजका जनताको के विचार रहेछ?
सबै हातमा हात मिलाएर : अब हामी एक हौँ।
( पर्दा खस्छ)