श्रवण मुकारुङको पहिलो उपन्यास ‘सलह’ सार्वजनिक

दिलिप घिमिरे · चैत २९, २०८२ ९:०९ AM
Cover Image for News

झापा २९ चैत्र /कवि र गीतकार श्रवण मुकारुङको पहिलो उपन्यास 'सलह' सार्वजनिक गरिएको छ। 

काठमाडौँको कालिकास्थानस्थित नेपालयको आरशाला शनिबार बिहान पाठक र साहित्यप्रेमीले खचाखच भरिएको थियो। लामो समयदेखि कवि र गीतकारका रूपमा चिनिएका श्रवण मुकारुङ पहिलोपटक आख्यानकारका रूपमा प्रस्तुत हुँदा माहोल निकै उत्साहपूर्ण देखियो। कार्यक्रम हल खचाखच भरिएर पोखियो। 

मुकारुङले आफ्नो बाल्यकालको एउटा मार्मिक प्रसङ्ग सुनाउँदै कल्पना र स्मृतिले नै मानिसलाई बचाउने धारणा राखे। उदयपुरको झोडामा बस्दा ठूलो उज्यालोको खोजीमा आफूले आफ्नै झुपडी जलाएको घटना स्मरण गर्दै उनले धेरै उज्यालो खोज्दा अँध्यारो पनि हुन सक्ने भन्दै राजनीतिक आन्दोलनप्रति पनि सूक्ष्म सङ्केत गरे। २०६२/०६३ को जनआन्दोलनका बेला 'बिसे नगर्चीको बयान' कवितामार्फत चर्चाको शिखरमा पुगेका उनले साथीहरूको हौसला र आफ्ना कविताभित्रकै आख्यानात्मक स्वादका कारण ढिलो गरी उपन्यास विधामा हात हालेको बताए।
 
नेपालयका सम्पादक विमल आचार्यले श्रवण मुकारुङको आगमनले आख्यान विधालाई थप गरिमामय बनाउने विश्वास व्यक्त गरे। चार दशकको यात्रामा मुकारुङका 'देश खोज्दै जाँदा', 'जीवनको लय', र 'बिसे नगर्चीको बयान' जस्ता चर्चित कविता सङ्ग्रह तथा 'हिउँको दरबार' जस्ता गीत सङ्ग्रह प्रकाशित भइसकेका छन्। कार्यक्रममा लेखकले संगीतकार कालीप्रसाद बाँस्कोटा, निर्देशक रामबाबु गुरुङ र श्रीमती गीता थापा मगरलाई पुस्तक उपहार दिएर उपन्यासको लोकार्पण गरेका थिए।

ट्यागहरू:
आख्यान साहित्य #
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।