साहित्यकार केशु विरहीको ‘जीवनकथा अग्रजका’ प्रकाशित

दिलिप घिमिरे · वैशाख ५, २०८३ ८:१४ AM
Cover Image for News

झापा ५ बैशाख /लेखक तथा अनुसन्धानकर्ता केशु विरहीद्वारा लिखित कृति ‘जीवनकथा अग्रजका’ प्रकाशित भएको छ ।

विरहीले करिब दुई वर्षको अध्ययन-अनुसन्धानपछि तयार पारिएको यस कृतिमा सुन्दरहरैँचा र बेलबारी क्षेत्रका ऐतिहासिक तथा सामाजिक व्यक्तित्वहरूको जीवनयात्रा समेटिएको छ ।
 कोसी साहित्य–कला परिषद् नेपालका सचिव नवराज पोखरेल ‘नवशिला’का अनुसार कृतिको औपचारिक लोकार्पण नयाँ वर्षको अवसर पारेर वैशाख १८ गते शुक्रबार बिहान ११ बजे सुकुना बहुमुखी क्याम्पसको सभाहलमा आयोजना गरिनेछ । 
लेखक केशु विरहीका अनुसार अग्रज पुस्ताको अनुभवलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने उद्देश्यले कृति तयार पारिएको हो । २०८२ सालमै प्रकाशित भए पनि विशेष अवसर पारेर लोकार्पण गर्न लागिएको उहाँले बताउनुभएकाे छ ।

यो पुस्तक विरहीको १४औँ कृति तथा १२औँ मौलिक कृति हो।तेह्रथुमको आठराई गाउँपालिका–२ मा जन्मिएर हाल मोरङको बेलबारीलाई कर्मथलो बनाउँदै आउनुभएका विरही पत्रकारिता, शिक्षण र लेखनमा सक्रिय हुनुहुन्छ।यसअघि उहाँका‘कहाली लाग्दा गोरेटाहरू’, ‘आमाको माया’, ‘दन्किएको आगो’, ‘सुलोचना’, ‘रेस्माको सेन्डल’ लगायत विभिन्न विधाका कृतिहरू प्रकाशित भइसकेका छन् ।

लेखक-केशु विरही
पछिल्लो समय अनुसन्धानतर्फ केन्द्रित विरहीका ‘बेलबारीको साहित्यिक इतिहास’, ‘तेह्रथुमको साहित्यिक इतिहास’ र ‘उपद्रष्टा हर्कमान तामाङ’ जस्ता कृतिहरू पनि चर्चित छन् । नयाँ कृति ‘जीवनकथा अग्रजका’ मा भने सुन्दरहरैँचा र बेलबारी क्षेत्रका ४६ जना ऐतिहासिक तथा सामाजिक व्यक्तित्वहरूको योगदानलाई प्रकाशमा ल्याइएको छ ।
लेखक विरहीले आफ्ना अनुसन्धान कार्यहरू प्रायः जनस्तरकै सहयोगमा सम्पन्न गर्दै आएको उल्लेख गर्दै राज्यबाट अपेक्षित सहयोग नपाएको गुनासो पनि व्यक्त गर्नुभएकाे छ । अनुसन्धानको महत्त्वबारे पर्याप्त सचेतना अभावका कारण नीति तथा कार्यक्रममा यस्ता विषयले प्राथमिकता नपाएको उहाँको धारणा छ ।

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।