जयपृथ्वीबहादुर सिंह सम्मान तथा पुरस्कारबाट विवश पोखरेल र डा. छायादत्त न्यौपाने सम्मानित
झापा १८ कार्तिक / नेपाली बालसाहित्यमा बालबालिकाको मनोविज्ञान, बालसुलभता तथा बौद्धिक र मानसिक विकासमा प्रेरणा दिने सिर्जनाका साथै साहित्यका विभिन्न विधा र साहित्यसेवामा लामो समयदेखि योगदान पुर्याउँदै आएका कोशी प्रदेशका साहित्यकार विवश पोखरेल र गण्डकी प्रदेशका साहित्यकार डा. छायादत्त न्यौपाने २०८२ सालको जयपृथ्वीबहादुर सिंह सम्मान तथा पुरस्कारबाट सम्मानित भएका छन्।
द राइजिङ स्टार बोर्डिङ स्कुल, बुढानीलकण्ठ–६, मण्डिखाटार, काठमाडौंले २०८३ कार्तिक १६ गते आयोजना गरेको समारोहमा दुवै स्रष्टालाई पुरस्कृत तथा सम्मानित गरिएको हो। नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वउपकुलपति, प्राज्ञ डा. विष्णुविभू घिमिरे र विद्यालयका अध्यक्ष तथा प्राचार्य कृष्णकुमार बोहराले संयुक्त रूपमा पुरस्कार तथा सम्मान समर्पण गरेका थिए।
पोखरेलका बालकविताका दुईसहित कविता, कथा, निबन्ध र मुक्तक विधाका नौ कृति प्रकाशित छन्। उनले एक दर्जनभन्दा बढी कृतिको सम्पादनसमेत गरेका छन्। त्यसैगरी, न्यौपानेका बालसाहित्यअन्तर्गत कथा, कविता, निबन्ध, उपन्यास र एकाङ्कीका साथै कथा, कविता तथा समालोचनासम्बन्धी डेढ दर्जनभन्दा बढी कृति प्रकाशित छन्। उनले विद्यालय तहका पाठ्यक्रमको सम्पादनमा समेत योगदान पुर्याएका छन्।
राष्ट्रिय विभूति जयपृथ्वीबहादुर सिंह मानवतावादी, शिक्षाप्रेमी, साहित्यकार, पत्रकार तथा समाजसुधारकका रूपमा परिचित छन्। मानवता, विश्वबन्धुत्व र विश्वशान्तिको सन्देश फैलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका सिंह गोरखापत्रका मुख्तियार (सम्पादक) समेत थिए। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा उनले पुर्याएको योगदानको स्मरण र सम्मान गर्ने उद्देश्यले विद्यालयले उहाँकै नाममा पुरस्कार तथा सम्मान स्थापना गरेको हो। यसमार्फत देशका विभिन्न स्थानमा रहेर भाषा र साहित्यको सेवा गर्ने स्रष्टाहरूलाई सम्मान गर्दै आएको छ।
समारोहमा साहित्यकार रञ्जुश्री पराजुली, प्राज्ञ लक्ष्मी उप्रेती, डा. महेन्द्र गुरुङ, गोकुल अधिकारी, येशु श्रेष्ठ, गोपीकृष्ण प्रसाई, अम्बिका गुरुङ तथा साहित्यिक पत्रकार बालिका गिरीलगायतले सम्मानित स्रष्टाहरूलाई शुभकामना व्यक्त गरेका थिए। सम्मानित स्रष्टाहरूले आफ्नो साहित्यिक यात्राबारे विचार राख्दै बालकवितासमेत वाचन गरेका थिए।
विद्यालयका विद्यार्थीहरूले कविता तथा कथा वाचन गरेर समारोहलाई थप सिर्जनात्मक बनाएका थिए। प्रमुख अतिथि घिमिरेले विद्यालयहरूले यस्ता कार्यक्रम आयोजना गरी विद्यार्थीका प्रतिभालाई प्रोत्साहन गर्न सके उनीहरूको बौद्धिक तथा मानसिक विकासमा सहयोग पुग्नुका साथै सिर्जनात्मक क्षमता पनि अभिवृद्धि हुने धारणा व्यक्त गरेका थिए।
सोही अवसरमा लक्ष्मी उप्रेती र विमला ढुङ्गानाद्वारा लिखित बालकृति ‘मोबाइलका कुरा’समेत लोकार्पण गरिएको थियो।