लोकगायिका राधिका प्रधानको दोस्रो कोसेली ‘कोको म्हेन्दो टोटोला’को छायाङ्कन शुभारम्भ
झापा १८ कार्तिक /लोकभाकामा माटोको सुगन्ध, जनजीवनको लय र संस्कृतिको आत्मीयता मिसिएको हुन्छ। यही लोकसङ्गीतको मिठासलाई आफ्नो सुरिलो स्वरमा पस्कँदै आएकी लोकगायिका राधिका प्रधानको दोस्रो लोककोसेली तामाङ सेलो गीत ‘कोको म्हेन्दो टोटोला’को छायाङ्कन शुभारम्भ गरिएको छ।
यसअघि ‘अशारे बेठी रोपाइँ’ गीतमार्फत श्रोतामाझ परिचित बनेकी प्रधानले नयाँ कोसेलीका रूपमा यो गीत ल्याउन लागेकी हुन्। प्रख्यात गीतकार डा. जस योञ्जन ‘प्यासी’को शब्द र विशिष्ट सङ्गीतकार महेश्वर लामाको सङ्गीत संयोजनमा तयार भइरहेको गीतले तामाङ सेलोको मौलिक लय र सांस्कृतिक मिठासलाई दृश्यसँगै प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
गत ३ नोभेम्बर २०२६ का दिन मिरिक–७ माइलस्थित डोङ्गाग छ्योलिङ गुम्बा (Dongag Choeling Monastery) परिसरमा गीतको छायाङ्कन शुभारम्भ गरिएको हो। समाजसेवी, साहित्य तथा सङ्गीत अनुरागी एवम् वृन्दावन बोर्डिङ अंग्रेजी स्कुलका प्राचार्य सुधीर सुब्बाले नरिवल फुटाएर छायाङ्कन कार्यको औपचारिक थालनी गरेका थिए।
वानिश्री म्युजिक इन्टरटेनमेन्ट (Vaanishree Music Entertainment) को प्रस्तुति रहेको म्युजिक भिडियोको निर्देशन मिरिकका युवा चलचित्र निर्देशक निमेश प्रधान (Future i) ले गर्दैछन्। गीतको लय र भावलाई दृश्यमा उतार्ने नृत्य निर्देशन साधना कला केन्द्र, मिरिकका निर्देशक दीपेन बस्नेतले गरेका छन्।
लोकगीत केवल मनोरञ्जनको माध्यम मात्र होइन; यो पुस्तौँदेखि हस्तान्तरण हुँदै आएको संस्कृति, स्मृति र सामूहिक जीवनको धुन पनि हो। त्यसैले ‘कोको म्हेन्दो टोटोला’को आगमनलाई लोकसङ्गीतको निरन्तर यात्रामा थपिएको अर्को कोसेलीका रूपमा लिन सकिन्छ।
वानिश्री म्युजिक इन्टरटेनमेन्टका अनुसार तिहारलगत्तै लोकगायिका प्रधानको तेस्रो लोककोसेली पनि श्रोतामाझ ल्याउने तयारी छ। दुर्गा ओलीको सङ्कलनमा तयार हुने मादले ख्याली भाकाको गीत ‘त्रिवेणीको तिर’को छायाङ्कनसमेत त्यसपछि गरिने जनाइएको छ। यसरी एकपछि अर्को लोकभाकामार्फत प्रधानले नेपाली लोकसङ्गीतको यात्रालाई अघि बढाउने तयारी गरेकी छन्।