साहित्यकार होम सुवेदीलाई मनोजबाबु स्मृति पुरस्कार

दिलिप घिमिरे · असार २६, २०८१ ९:४६ PM
Cover Image for News

आज कनकाई प्रतिभा प्रतिष्ठानको आयोजनामा मनोजबाबु ओली स्मृति सम्मान साहित्यकार होम सुवेदीलाई प्रदान गरिएको छ।

 सुवेदीलाई दोसल्ला ओढाएर कार्यक्रमका प्रमुख अतिथि साहित्य साधक पुण्यप्रसाद खरेलले सम्मानपत्रसहित पुरस्कृत गरेका हुन् ।

 कनकाई माध्यमिक विद्यालयको सभाहलमा  कार्यक्रममा पुरस्कारका दाता अनिरुद्र ओली र धर्मपत्नी नन्दाले होम सुवेदीलाई १५ हजार १ सय ११ रुपैयाँ नगद हस्तान्तरण गरेका हुन्।

 २०४५ असार २५ गते तेह्रथुममा जन्मिएका मनोजबाबुको कोरोना संक्रमणका कारण २०७८ जेठ ११ गते अल्पायुमा निधन भएको थियो ।पुत्र वियोगको पीडामा रहेका ओली दम्पत्तिले छोराको स्मृतिमा पुरस्कार राखेका हुन् ।यसरी हरेक साल छोराको  तस्बिरमा श्रद्धाका पुष्प गुच्छा अर्पण गर्दै सम्झिरहेका छन् छोरालाई।

 ओली दम्पत्तिले कनकाई प्रतिभा प्रतिष्ठानमा दुई लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । प्रतिष्ठानमार्फत मनोजबाबु ओली स्मृति पुरस्कार कोष स्थापनाका लागि गत साल जेठमा ओली दम्पत्तिले उक्त रकम प्रतिष्ठानलाई हस्तान्तरण गरेका थिए ।
 हरेक वर्ष स्रष्टा सर्जकलाई पुरस्कृत गर्ने उद्देश्यले छोराको स्मृतिमा प्रतिष्ठानमा अक्षय कोष राखिएको पुरस्कारका दाता ओलीले बताए । शिक्षण सेवामा लामो समय बिताएका ओली आफैँ लोक गायक पनि हुन् ।
 त्यस्तै ओली दम्पत्तिले नारायण गोपाल स्मृति प्रतिष्ठानमा पनि तीन लाख ५१ हजार रुपैयाँ अक्षयकोष स्थापना गरेका छन् ।

 ओली दम्पत्तिले आफ्नो दिवङ्गत छोरा स्मृतिमा नारायण गोपाल स्मृति प्रतिष्ठानमा स्थापना गरेको पुरस्कार पहिलोपटक गायक एलपी जोशीलाई प्रदान गरिएको थियो भने कनकाई प्रतिभा प्रतिष्ठानमा स्थापना गरेको अक्षयकोषबाट पहिलो पटक साहित्यकार होम सुवेदीले यो सम्मान तथा पुरस्कार प्राप्त गरेका हुन्।

कनकाई प्रतिभा प्रतिष्ठानका अध्यक्ष जीवनाथ सुवेदीको सभापतित्वमा भएको कार्यक्रममा निर्मलकुमार खतिवडाले स्वागत गरेका थिए भने डाक्टर पुण्यप्रसाद सिग्देल र प्रेम प्रभातले कार्यक्रमको संचालन गरेका थिए।

ट्यागहरू:
सहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू