‘राष्ट्रकवि माधव घिमिरे पुरस्कार’ रिजाललाई

दिलिप घिमिरे · असोज ८, २०८३ ८:४० PM
Cover Image for News

झापा ८ असोज /राष्ट्रकवि माधवप्रसाद घिमिरेको नाममा स्थापित ‘माधव घिमिरे पुरस्कार’ वरिष्ठ गीतकार कालीप्रसाद रिजाललाई प्रदान गरिएको छ ।
 राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०७औँ जन्मजयन्तीका अवसरमा बुधबार मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिएको हो । नगद १ लाख रुपैयाँ, प्रमाणपत्र र दोसल्लासहितको पुरस्कार नेपाली शिक्षा परिषद्की अध्यक्ष एवम् वरिष्ठ साहित्यकार रमा शर्मा र प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेले वरिष्ठ गीतकार रिजाललाई संयुक्त रूपमा हस्तान्तरण गरे । 

कार्यक्रममा नेपाली शिक्षा परिषद्की अध्यक्ष शर्माले नेपाली साहित्य क्षेत्रको उन्नयनमा राष्ट्रकवि घिमिरेको योगदान महत्वपूर्ण रहेको बताइन् । राष्ट्रकवि घिमिरे नेपाली काव्य र साहित्य क्षेत्रको सगरमाथा भएको उनको भनाइ थियो । 

पुरस्कृत व्यक्तित्व वरिष्ठ गीतकार रिजालले राष्ट्रकविको नाममा स्थापित पुरस्कार आफूलाई प्रदान गरेको भन्दै हार्दिक आभार व्यक्त गरे ।
 
 राष्ट्रकवि घिमिरेकी धर्मपत्नी महाकाली घिमिरे, सुपुत्रद्वय इन्दिवर घिमिरे र राजिव घिमिरेले मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानको कोषमा रहने गरी २७ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेपछि त्यसबाट आउने ब्याजमार्फत हरेक वर्ष पुरस्कार प्रदान गरिँदै आएको छ । 

अक्षयकोष स्थापना गरेसँगै पुरस्कार छनोटका लागि प्रतिष्ठानले ३ सदस्यीय समिति बनाएको थियो । प्रतिष्ठानका अध्यक्ष एवम् वरिष्ठ साहित्यकार न्यौपानेको संयोजकत्वमा गठित समितिको सदस्यमा विज्ञका तर्फबाट प्रा. डा. सनतकुमार वस्ती र दाताका तर्फबाट डा. हेमांगराज अधिकारी सदस्य थिए ।

ट्यागहरू:
साहित्य# कला गीत संगीत #
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।