प्वाँखका कविताहरू गीत भए

दिलिप घिमिरे · पौष २५, २०८२ १०:३८ PM
Cover Image for News

झापा २५पुस/‘प्वाँख विथ रिदम’ कार्यक्रम काठमाडौंमा आज सम्पन्न गरिएको छ।
 कवि नवीन प्राचीनका पाँच कविता रिदम कडेलको स्वर र संगीतमा प्रस्तुत गरिएको हो। 

झापाली कवि नवीन प्राचीनको शीर्षकविहीन कविताहरूको सङ्ग्रह प्वाँख सन् २०२२ मा प्रकाशित कविता कृति हो। उनी कविता लेखन र वाचनका शक्तिशाली हुन्।

शीर्षक जस्तै यस कविता सङ्ग्रहका कविताहरू हलुका छन् । तर,अत्यन्त गहन छन् । 
गीत,गजलका शब्दहरुमा संगीत भरेर स्वरमा सजिएको हामीले सुन्दै आएका थियौँ तर, आज आर-शालामा नवीनका प्वाँखका कविताहरू साँच्चै भाग्यमानी सावित भए । ती कविताहरूले प्वाँख पाए ।कवितालाई पनि संगीत दिएर गाउन सकिन्छ भन्ने उदाहरण दिए रिदमले। 

फोटो
जो विगतमा कविता वाचनका लागि योग्य संगीत सिर्जनाका लागि चिनिएका थिए । आज उनैले कवितालाई गीत बनाइदिए । गद्य कविताहरूलाई सर्लक्कै रूप बदलेर प्वाँख समान सुन्दर, कोमल र मलायम बनाइदिए ।
 
कवि नवराज पराजुलीसँग रिदमले निकै लामो सहकार्य गरेका थिए ।कवि नदीशका कवितामा पनि यो प्रयोग गरेका थिए। धेरैजसोमा उनी नेपथ्यमा थिए । आज उनी बाहिर आए । र, ‘रिदम’हरूले मन्त्रमुग्ध गरिदिए ।
 
कार्यक्रमको टाइटल नै ‘प्वाँख विथ रिदम’ थियो । जुन आफैंमा दीअर्थी थिए । प्वाँखका कविताहरू सांगितिक भए र रिदमसँग प्वाँख । भयो पनि त्यस्तै । समय नै गिन्ती गर्दा रिदमको मात्र प्रस्तुति २० मिनेट पर गएन ।
 
उनलाई धेरैले सोध्ने उनको नामबारे हो । त्यो नाम उनका काका कृष्ण कँडेलले राखिदिएका थिए । जो रिदमको आजको कार्यक्रममा उपस्थित हुन अष्ट्रेलियाबाट नेपाल आइपुगेका थिए ।
रिदमका गुरु तिलकसिंह पेयलाले भने- `तिमीले आफ्नो राम्रोभन्दा बढी नराम्रो हेर्नू ।साधकहरूले जहिल्यै आफ्नो नराम्रो हेरेर अरूलाई पराजय गर्छन् ।
कार्यक्रममा रैथाने संगीतकार झुमा लिम्बूले कवितालाई गीत बनाउनु नै ठूलो कुरो भएको भनेर प्रशंसा गरिन् । 
त्यसपछि उनलाई विजय बरालले कविता वाचन गरेर स्वागत गरे । र, यसपछि रिदम आफ्नो रिदममा गुञ्जिन थाले । २० मिनेटमा उनले `मैले मेरो आँशु´,`यो कोलाहलमा´,`सबैभन्दा बलिया हुन्छन् सपनाका पखेटा´,`साँझ पुगेथें खोला किनार´,`आकाश देखेर सागर सोच्दो हो´जम्मा ५ वटा गीत गाए । ती फरक-फरक स्वादका थिए ।  रिदमले कविताहरूलाई गीत बनाउने रोचक सन्दर्भ सुनाए । 

अहिले ‘प्वाँख’का कवि नवीन प्राचीन क्यानडामा छन् ।कवि नवीन प्राचीनले यी पाँचवटा गीतलाई म्युजिक एल्बमको रुपमा बजारमा ल्याउने तयारी समेत पूरा भइसके बताए।नवीन र रिदमको सहकार्यमा तयार भयो- ‘प्वाँख विथ रिदम’यसरी प्वाँखका कविताहरू गीत भए ।

ट्यागहरू:
#कविता #गीत संगीत
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।