पाथीभरामा सात सर्जकका सातै कृति लोकार्पण
झापा १९ पुस/इलामको रोङ गाउँपालिकास्थित धार्मिक तथा पर्यटकीय स्थल पाथीभरा मन्दिर परिसरमा शनिबार सात सर्जकका सातै कृति लोकार्पण गरिएको छ।
कार्यक्रमको प्रमुख अतिथि प्राज्ञ मुनाराज शेर्मा रहनु भएको थियो भने उन्मुक्त साहित्य सङ्गमका अध्यक्ष मिलन राईले अध्यक्षता गर्नुभएको थियो ।
‘उन्मुक्त साहित्य संगम’ रोङको आयोजनामा पूर्वका स्थापित सात सर्जकका पछिल्ला सात कृतिहरू एकै थलोमा बृहत् लोकार्पण गरिएको हो।
पाथीभरा संरक्षण तथा व्यवस्थापन समितिको समन्वयमा भएको कार्यक्रममा कविता,निबन्ध र आख्यान विधाका सात फरक–फरक कृतिहरूको लोकार्पणपछि कार्यक्रममा कविहरुले सुन्दर र शक्तिशाली कविता वाचन गरेका थिए ।

गणेश निरौलाको`कनाटा कैरन´र ‘कोठेबारी ढुङ्गा र माटो’,कृष्ण उदाशीको ‘पानीको पर्खाल’,दीपेन्द्र आचार्यको ‘व्यापार पृथ्वीको’,ऋजन मायालुको ‘घुम्ती बिक्रीमा छ’र दर्शन घिमिरेको ‘हृदयको उल्टो यात्रा’ कृति लोकार्पण गरिएको आयोजकले जानकारी दिएको छ।कार्यक्रममा कवि हाङ्युग अज्ञात भने अनुपस्थित रहेको स्रष्टा सुनिता तामाङले बताइन् ।
उन्मुक्त साहित्य पुस्तकालय सहयोगार्थ दान पेटिकाको समेत कार्यक्रममा उद्घाटन गरियो। कार्यक्रमको सहजीकरण सुनिता तामाङले गरेकी थिइन् ।