कविवर राजेश ‘ढुङ्गानालाई मैले खोजेको देश’ कविता सङ्ग्रहमा नियाल्दाः–

तारा विविध पोष्ट - खगिन्द्रा खुसी · पौष १२, २०८१ ८:५० PM
Cover Image for News

कविवर राजेश ढुङ्गाना यो ‘मैले खोजेको देश’ दोस्रो कविता सङ्ग्रह हो । वि.सं. २०८१ सालको वैशाखमा प्रस्तुत यस कविता सङ्ग्रह भन्दा अगाडि वि.सं.२०७० सालमा प्रकाशित भएको ‘सुकिला मान्छेको सामूहिक मृत्यु’ पहिलो कविता सङ्ग्रह थियो । त्यसो त यी २ कविता सङ्ग्रह प्रकाशन हुनु अगाडिदेखि नै फुटकर रुपमा त उनी वि.सं.२०३६÷०३७ सालतिरैदेखि स्थानीय एवं राजधानीका विभिन्न पत्र–पत्रिकाहरुमा कविताहरु बरोबर छपाइरहन्थे । उसबेला उनमा युवाजोशको स्फुर्ति थियो र आफूले टेकेको भूइँलाई नवीन युगमा परिवर्तन गर्ने इच्छा वा चाहना थियो जसका फलस्वरुप त्यही अनुरुपको भावनालाई कवितामा पोख्दथे । त्यस्ता कवितालाई उनी आफ्ना साथिभाइमाझ सुनाउने गर्दथे । उसबेलाको पञ्चायती निरङ्कुशताका विरुद्धमा राजेशका कविता आगो ओकल्थे । ती कविताहरु अझ हाउभाउसाथ प्रस्तुत गरिँदा श्रोतामा पनि आक्रोश र विद्रोहको भाव पैदा हुने गर्दथ्यो क्रुर पञ्चायततन्त्रका बिरुद्धमा । झापामा वि.सं.२०१८ सालपूर्व शोषक सामन्तहरुका विरुद्धमा जागरणको उद्घोष गर्नका लागि ठाउँ–ठाउँमा पुगेर आम जनमानसका अगाडि हाउभाउका साथ कविता वाचन गर्ने कवि जनकवि गोकुलप्रसाद जोशी थिए । हुनत जनकवि गोकुलप्रसाद जोशीको उक्त कविता वाचनको अभियान सिङ्गो नेपाल राज्यव्यापी थियो तापनि उनी झापामा नै बस्ने हुनाले झापामा त्यो अभियान बढी केन्द्रीत थियो । त्यसपछि वि.सं.२०३६÷०३७ देखि स्व.भवानी घिमिरे, केशव आचार्य, स्व.हिरा आकाश आदिले जागरण र चेतनाका लागि नाट्यशैलीमा कविताहरु सुनाउने गर्दथे र यही लहरमा राजेश ढुङ्गाना पछिल्लो समयमा चर्चित रहन पुगे । आजसम्म पनि राजेश आफ्ना कालजयी कविताहरु विभिन्न साहित्यिक मञ्चमा वाचन गर्दै नै छन् । 
यस लेखमा चाहिँ अहिलेको सन्दर्भमा म कविवर राजेश ढुङ्गानामा केन्द्रित हुन गैरहेछु । उनको कविता यात्राको निरुपण गर्न त्यसमा पनि ‘मैले खोजेको देश’ कविता सङ्ग्रहमा केन्द्रित रहनु मेरो उद्देश्य रहेको छ । माथि भएका कुरा कविता यात्रामा राजेशको पृष्ठभूमि र तत्कालीन वातावरणको परिदृश्य हो । वि.सं.२०३६÷०३७बाट राजेशको कविता लेखनको यात्रा सुरु भएको हो । झापा भद्रपुरमा रहेर विद्यार्थी जीवनकालमा जतिखेर उनमा राजनैतिक चेतनाके उद्बेध हुन थाल्यो त्यसबेलादेखि अहिलेसम्म नै उनी निरन्तर कविता लेखनका साथै वाचन र प्रकाशनमा लागि नै रहेका पाइन्छन् । अहिले पनि एक साथीका नाताले कहिलेकाहीँ राजेशका घरमा पुग्दा उनले तत्कालै लेखेका कविताहरु सुनाएकै हुन्छन् । कविता लेखनका उनी अथक यात्री हुन् जस्तो लाग्छ । कविता लेखनको यही यात्राको सन्दर्भ र प्रसङ्गलाई उनको जीवनको गतिशीलताको आरोह अवरोहलाई यहाँ उल्लेख गर्न प्रासङ्गिक ठान्दछु । जो यस प्रकार छ–
मन मस्तिष्कमा चेतनाको ज्वार बोकेका राजेश वि.सं. २०४०को दशकदेखि काठमाडौं प्रवेश गरे । त्यहाँबाट उनको सक्रियता ३ क्षेत्रमा उत्तिकै शसक्त र जागरुक देखियो । ती हुन् राजनीति, समाचार वा पत्रकारिता र साहित्य सिर्जना । ४०को दशकदेखि लगभग ५०को दशककै उत्तरार्धसम्म मात्र यी ३ क्षेत्रमा उनको वर्चश्व कायम रहेको पाइन्छ । 
जहाँसम्म राजनीतिको कुरा छ त्यसमा राजेशले नेपाली काङ्ग्र्रेसको केन्द्रीय तहसम्म आफ्नो पहुँच राख्तथे । उनलाई नेपाली काङ्ग्रेसका केन्द्रीय तहसम्मका नेतृत्वले उच्च सम्मानको भाव राख्तथ्यो । प्रसिध्द साहित्यकार कृष्ण धरावासीले राजेशको दोस्रो कविता कृति मैले खोजेको देशको भूमिका खण्डमा यसकुरा उल्लेख गर्नु भएको पाइन्छ । 
यसैगरी ४०को दशकदेखि ५०को दशकको मध्यसम्म पत्रकारिताको क्षेत्रमा पनि उनी सक्रीय रहेका देखिन्छन् । युगवाणी, नेपाल पुकार, साप्ताहिक विमर्श एवं सुरुचि लगायत अन्य विभिन्न पत्रपत्रिकाहरुमा राजेशका समसामयिक विषयवस्तु माथि लेख वा टिप्पणीहरु आइरहन्थे । सबैका लागि राजेशका अभिव्यक्तिहरु पठनीय बन्दथे । आफ्ना प्रष्ट विचार वा धारणा दुनियाँसामु राख्न उनी नामूद ठहरिएका थिए । 
अब चर्चा गरौँ साहित्यिक सन्दर्भमा राजेशको सक्रीययताको । जब ४०को दशकमा उनी काठमाडौँ प्रवेश गर्छन् त्यसबेला काठमाडौँ वा केन्द्रको साहित्यिक रङ्गमञ्चमा वर्चश्व राख्नेहरुमा प्रा.डा.तथा पर्सिध्द आख्यानकार ध्रुवचन्द्र गौतम, सडक नाटकका प्रणेता अशेष मल्ल आख्यानकार ध्रुव सापकोटा वरिष्ठ साहित्यकार डा.तुलसी प्रसाद भट्टराई, शैलेन्द्र साकारको नाम आउँथ्यो । यही लहरमा तिख्खर कविता लेखन तथा वाचन गर्नेका रूपमा अर्का युवा कवि राजेश देखापरे । त्यसबेला मुक्तलयात्मक कविताका प्रसिध्द स्रष्टामा उनी दरिए । आफ्ना कवितामा विद्रोह बोल्ने उनी  त्यसबेलाको निरङ्कुश पञ्चायत तन्त्रले निमोठेको स्वतन्त्रता, स्वच्छन्दताप्रतिको आम जनमानसको चाहनाको ध्वनिलाई मुखरित गर्दथे बिना कुनै डर त्रासका साथ । राजेश एउटा मानवीय संसार स्वच्छन्द परिवेश र उन्मुक्तिपूर्ण युगको चाहनामा छन् र त्यसैको प्राप्तिका लागि कविता मार्फत आफ्ना आवाजहरु बुलन्द गर्छन् । आजसम्म पनि उनी त्यही लक्ष्य र उद्देश्यका साथ कविता लेखिरहेछन् लेखिरहेछन् । 
५०को दशकको उत्तरार्ध्दबाट राजेश यी ३ क्षेत्रबाटै हराए अथवा भनौँ लोप भए । आफ्नै साथीभाइबाट पनि टाढारहे । हामी कसैले राजेशलाई पहिला कै जसरी आफ्नो अगाडि पाएनौँ । न सञ्चार वा पत्रकारिताका क्षेत्रमा पायौँ न राजनैतिक क्षेत्रमा न त साहित्य सिर्जना वा रचनाका क्षेत्रमा । उनी त हराए कता गए कता । ‘मैले खोजेको देश’ कविता सङ्ग्रहको भूमिकामा भूमिकाकार कृष्ण धरावासीले यिनै कुरा उल्लेख गरेका छन् । 
वि.सं.२०७०को दशकबाट फेरि राजेश सबै हामीले उनलाई अत्यन्त उत्कृष्ट कविता कृति ‘सुकिला मान्छेको सामूहिक मृत्यु’का साथ देख्न पायौँ । वि.सं.२०८० सालमा त्यसैको फेरि दोस्रो संस्करण पनि निकाले । अहिले वि.सं.२०८१ सालमा अर्को नवीन कविता कृति ‘मैले खोजेको देश’ प्रकाशनमा आएको छ । माथि उल्लिखित दुई कृति एक अर्काका सम्पूरक हुन् जस्तो लाग्छ जसलाई स्वयम् कृतिकारले नै पनि स्वीकारेका छन् । अहिले यस लेखमा म यही पहिलो कित ‘मैले खोजेको देश’बारे संक्षिप्त चर्चा गर्न  गैरहेको छु । 
सर्वप्रथम त अग्र पृष्ठावरणको कुरा गरौँ–‘मैले खोजेको देश’ यो सिङ्गो कविता सङ्ग्रहको शीर्षकका रूपमा बोल्ड टाइपको अक्षरमा अङ्कित छ । जसको मुन्तिर एक नवयुवक नेपालको राष्ट्रिय झण्डा आफ्नो काँधमा राखेर अघि बढ्दै गरेको देखिन्छ । उसका चम्किला आँखा छन् जो दूर–दूर तर्फ नियालीरहेका छन् । ती आँखाहरुले लाग्दछ कि त्यस्तो गन्तव्यलाई ढम्क्याउन खोज्दैछ जहाँ शान्त स्वतन्त्र र मानवीय संसारको सम्भावना निश्चित छ । त्यस्तो देशप्रतिको चाहना कवि राजेशको छ र त्यो देश नेपाल नै बन्न सकोस् भन्ने कामना वा आकांक्षा छ । यो अग्रपृष्ठावरण रङ्गिन छ र आकर्षक युक्त पनि छ । 
यसपछि पश्चपृष्ठतर्फ हेर्दा त्यसमा दुईलब्ध प्रतिष्ठित ब्यक्तित्वको यस कृतिका सम्बन्धमा आफ्ना धारणा प्रस्तुत भएको पाइन्छ । सुरुमा प्रमोद प्रधानज्यूको मन्तव्य रहेको छ जसमा उनले कविवर राजेशका कविताहरु मानिसका स्वतन्त्रता र सम्बृद्धिका पक्षमा छन् र त्यही नहुँदा त्यसका प्राप्तिक कामनामा लेखिएका छन् भनेका छन् । कविता कवित्व क्षमताका सम्बन्धमा राजेशका कविताहरु कोमल कान्त पदावली युक्त रहेका अनि विम्बात्मक शैलीले ओतप्रोत रहेका बताएका छन् । प्रमोद प्रधानज्यूले राजेशका कवितालाई विद्रोहचेतका उक्ति पनि नियाल्न सकिने सङ्केत दिएका छन् । यसैगरी पश्चपृष्ठकै अर्का मन्तव्यकार विवश पोख्रेल रहेका छन् । उनले राजेशलाई परम्पराका सापेक्षतामा हेर्दै एउटा बेग्लै विशेषताले भरिएका कवि मानेका छन् । छोटा तर प्रभावशाली विषयवस्तुको प्रस्तुति राजेशको हुने गर्छ भन्दै यिनका कवितामा नवीन शैली, बिम्व र प्रतीकको संयोजन पाइन्छ भनेका छन् । 
अग्रपैष्ठ र पश्चपृष्ठ सकेर कविता कति भित्रका पृष्ठहरु दृष्टिगोचर गर्दा त्यहाँ दुई महत्वपूर्ण व्यक्तित्वहरुद्वारा भूमिका लेखन भएको पाइन्छ । सुरुमा वरिष्ठ सिहत्यकार एवं सञ्चारकर्मी हरि अधिकारीको भूमिका त्यसपछि प्रशिद्ध साहित्यकार कृष्ण ‘धरावासी’को अर्को भूमिका । दुवै भट्ठमिका लेखकहरुले सर्जक राजेशको सर्जक व्यक्तित्वको यथोचित लेखाजोखा गरेको पाइन्छ । त्यसमाथि पनि कवि राजेश र कृष्ण धरावासीज्यूको पैतालाको भूगोल एउटै भएर होला वा मित्रताको अन्तरङ्ग सम्बन्धले होला धरावासीज्यूले राजेशको साङ्गोपाङ्गो इतिवृत्ति इमान्दारितापूर्वक पाठक समक्ष राखिदिएर न्याय प्रदान गरेको अनुभव हुन्छ । त्यो भूमिका पढ्दा पाठकलाई राजेशबारे अब जान्न र बुझ्न बाँकि पाइँदैन । 
‘मैले खोजेको देश’ भित्रका कविताबारे
यस कविता सङ्ग्रहमा जम्मा ६७वटा कविताहरु रहेका छन् । यी कविताहरु बढीमा ६० पङ्गति र कम्तिमा ७ पङ्गतिसम्मका छन् । धेरै जसो कविताहर २२÷२५ पङ्गतिदेखि ४४÷४५ पङ्गतिसम्मका छन् । 
जहाँसम्म शीर्षकको कुरा छ त्यसलाई हेर्दा यसमा एक पदीय शीर्षक भएका २८ कविता छन् । २ पदीय शीर्षक भएका २१ वटा कविता छन् । २ पदीय भन्दा बढी १७ वटा कविता रहेका छन् । 
कवि राजेशको ‘मैले खोजेको देश’ भित्र के छ । 
पहिलो कुरा त यिनका प्रत्येक जसो कविताले अहिलेको युग वा वर्तमानसमयको आवाज दिएको छ । सङ्ग्रह भित्रका कविताहरुमा आजका मान्छेका मनोलोक र उसले भोग्दै गरेको वा ऊ बाँच्दैगरेको बाहिरी परिवेशको चित्रण गरिएको छ । जस्तो कि – 
मेरो सपनाको 
सिंहासनमा
तिमीलाई बसाएको
दशकौँ भयो 
तर
सिंहासनमा बसेपछि
ऊ जस्तै
तिमी आफैँसिंह हुने
दूर्भाग्य मैले कहिलेसम्म
भोग्नुपर्ने हो 
(–सिंहासन)
कविता पढ्दा लाग्छ राजेश विद्रोह बेचैनी, खटपटि र उच्छ्वास बोकेका कवि हुन् । जस्तो कि–
मनमा
उज्यालो आकाशको सपना थियो
आँखामा
सूर्यको मिरमिरे किरणको
अपेक्षा थियो
तर भत्कियो
मेरो मुटुको आँखाले देखेको
सपना
(–मैले खोजेको देश)
आफ्ना कविताहरमा राजेश जहिल्यै पनि यथास्थितिको विरुद्धमा लड्ने जुध्ने कवि हुन् जसले सधैँ न्याय स्वतन्त्रता मामनवीयताको मात्र पक्षपोषण गर्छ । ‘नयाँ युग’ कविताका केही पङ्तिलाई त्यस सन्दर्भमा लिन सकिन्छ । जस्तै–
समयको
कठोर प्रसवपछि
नयाँ समय थालिन्छ
एउटा नयाँ
र सम्पूर्ण नयाँ नयाँ
अर्कै मान्छे हुन्छ ।
यसमा कवि आशावादी पनि देखिन्छ आउने युगका प्रति । 
यसैगरी प्रखर व्यङ्ग्यचेत पनि कवि राजेशको विशेषता हो । आफ्ना कविताहरुमा । यसका लागि उनका कविताहरु मध्ये ‘तपाईं र तपाईंहरु’का केही पङ्ग्तिलाई यहाँ दिइन्छ । जस्तो कि–
तपाईं र 
तपाईंहरुको विश्वासमा
मेरो भाइले जीवन दियो
बहिनी बलात्कृत भई
स्वयम् मेरो छातिमा समेत
ठूलो भ्वाङ पर्यो

तपाईं जो त्यही सडकका मान्छेको रक्त मूल्यमा आज कुर्सीमा हुनुहुन्छ
तर न तपाईं सम्झनुहुन्छ
हिजो आफैँले बोलेको कुरा
न म नै बिर्सन सक्छु
तपाईंले हिँजो कबुलेका वाचा
राजेश ३०कै दशकदेखि नै एउटा स्वच्छन्द, स्वतन्त्र देशका खोजीमा थिए र आजसम्म पनि उनी त्यस्तै देशको खोजीमै छन् । उनी आजजहाँ बाँचेका छन् त्यो देश उनले अपेक्षा गरेको जस्तो अझै छैन । उनका यस्तै भावनालाई निम्न कविताले उजागर गरेको छ । जस्तै–
अब हार्न
केही बाँकी रहेन
म जनता
हारेको छु तिमीसँग
हुनसक्छ
मेरो मृत्युपछि
फ्याँकिदिएको लाशमा आएर
सिनो खाने
गिद्धहरु पनि मर्लान्
त्यति
पीडा छ ममा
(–जुरुक्क उठेर)
माथिकै पटक पटक उल्लेख भैसकेको छ कि राजेश विद्रोही कवि हुन् तर त्यो विद्रोहलाई बन्दूकबाट होइन आवतजावतबाट निशाना लाउने पक्षमा उनी देखिन्छन् यस अर्थमा उनी अहिंसावादी विद्रोही कवि हुन् । उनको ‘हात र आवाजहरु’ कविताका केही पङ्गतिहरु हेरौँ–
नपत्याउलान्
नपत्याउनेहरुले कि
यद्ध 
झुप्राहरुले
महलका विरुद्ध लड्दैछन्
बन्दुकका विरुद्ध
केवल
हात र आवाजहरुले
लड्नेछन्
विरोधमा उठेका
हातहरु
समर्थनमा पड्कने
बन्दुकभन्दा सशक्त हुन्छन्
बन्दुकमा त
गोली पनि हाल्नुपर्छ
आवाज चाहिँ आफैँ पड्कन्छ

राजेशका कविताहरु हेर्दा त्यहाँ उच्च सौन्दर्य चेत एवं उस्तै अद्भूत कल्पनाशक्ति पनि पाइन्छ जुन एउटा सफल कविलक्षण हो । विम्व र प्रतीकका दृष्टिले पनि यिनका कविताहरु उदाहरणीय बन्न पुगेका छन् । जता ततै प्रयोग भएका कविता भित्रका मिथकहरुले कवि राजेशको धर्मशास्त्र, नीतिशास्त्र, दर्शन इत्यादिको गहन अध्ययनशीलताको सङ्केत गर्दछ ।ती मिथकहरुले कविता पाठक समक्ष सम्प्रेषित हुन मद्दत पुगेको हुनसिक्छ । कवितामा सरल शब्दावलीको प्रयोग भैदिनाले सामान्यस्तरका पाठकका लागि पनि रुचीकर बनेको पाइन्छ । संक्षिप्तमा वरिष्ठ लेखक कृष्ण धरावासीका शब्दलाई पैँचो माग्दै म पनि भन्न रुचाउँछु कि कवि राजेश आजको समयको दुरुस्त आवाजको प्रतिनिधित्व गर्ने अहिलेका कवि हुन् ।

ट्यागहरू:
सहित्य literature svikarokti nepalisahitya
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू