अनुभूतिका आँखामा 'भाले धनेस'___
अनुभूतिका आँखामा 'भाले धनेस'
✍️निलीमा आचार्य
कथा पढ्ने रुचि अघिदेखिकै हो। विभिन्न स्वादका नौला-नौला कथा पढ्न मन लाग्छ — जुन कथामा वार्तालापभन्दा परिवेश बोलेको होस्, व्यङ्ग्यले भरिएको होस्, जसमा मानव-मनोवैज्ञानिक प्रवृत्ति पाइयोस्, समाज-विज्ञानको चित्रण पाइयोस्, मानव अन्तरद्वन्द्वको कलात्मक प्रस्तुति होस्। ठिक त्यस्तै किसिमका, नयाँ ढाँचाका तथा फरक स्वादका कथा। जुन कथाले पाठकको मन-मस्तिष्कमा प्रतिक्रिया दिएर अर्को कथा सृष्टि गरोस्, ठिक त्यस्तै कथा।
अस्ति भर्खरै मेरो रुचिसँग ठ्याक्कै मिल्ने एउटा कथा-सङ्ग्रह पढिसकेँ। भोक मरेन न त तिर्खा नै मेटियो। त्यसको विपरीत दुईवटा कथाले मलाई यसरी असर गरे कि एउटा कथाको प्रमुख पात्रलाई जोगाउन मेरो मनमा अर्को कथा जन्मियो। दोस्रो कथाको म-पात्रको पलायनवादी मनोभावदेखि औधी रिस उठ्यो र म-पात्रलाई सक्दो गाली गरेँ।
यसको अर्थ यो होइन कि सङ्ग्रहमा समावेश भएका अन्य कथाहरूले मलाई छोएनन्। अपितु सबैले एउटा अमेट छाप छोडेर गए। 'भाले धनेस' मा सन्निविष्ट भएका कथाहरूबाट मैले बटुलेको अनुभव हजुरहरू समक्ष व्यक्त गर्न चाहेँ —
विषय-प्रवेश :
यतिबेला म 'भाले धनेस' मा अल्झेकी छु। साहित्यकार रुद्र बरालले १२ वर्षपछि जन्माएको उनको दोस्रो कथा-सङ्ग्रह हो 'भाले धनेस'। कृतिको हिसाबले यो उनको आठौँ मौलिक कृति हो भने कथा-सङ्ग्रहको हिसाबले दोस्रो हो।
यसअघि उनले सन् २०१४ मा 'चरित्रहरूको खोजीमा अलमलिँदा' कथा-सङ्ग्रह असमेली नेपाली साहित्यमा भित्र्याएर कथाकारका रूपमा आफ्नो नाम दर्ता गरिसकेका थिए। र यतिबेला 'भाले धनेस' लिएर हामीबिच देखा परेका छन्। यस कृतिमा मझौला आयामका जम्मा १३ वटा कथा समावेश छन्।
मानिसको देखावटी व्यवहारलाई उजागर गर्दै तत्कालीन तथाकथित समाज-व्यवस्थाप्रति कडा व्यङ्ग्य प्रयोग गरिएकाले सबै कथा चाखलाग्दा हुनुका साथै सचेतताले भरिएका छन्। प्रायःजसो कथाहरूले मानव-पर्यावरणीय चेतका साथै शिशु-मनोविज्ञान र मनोदशालाई पनि उजागर गरेका छन्।
सङ्ग्रहमा समावेश 'बालक हराएको सूचना' शीर्षक कथाले एक विद्यार्थीको मानसिक पीडाको वास्तविक छविलाई छर्लङ्ग पारेको छ। अहिलेको युग प्रतियोगिताको युग हो। नाम, यश र प्राप्तिका निम्ति मानिस जे पनि गर्न तत्पर छ। विशेषगरी आजका अत्याधुनिक अभिभावकहरूले सन्तानबाट चाहिँदोभन्दा बढी आशा गरेर उनीहरूलाई यन्त्रजस्तो बनाइसकेका छन्। पढाइको नाउँमा छोराछोरीमाथिको अत्यधिक दबाबले उनीहरूको मानसिक स्थिति अस्वस्थ भएको कुरा अभिभावकले नजरअन्दाज गरिरहेको देखिन्छ।
अभिभावकको अस्वाभाविक अपेक्षा, सामाजिक देखासिकी र प्रतिस्पर्धाको दबाबले बालबालिकाको मानसिक स्वास्थ्य नष्ट पार्नुका साथै उनीहरूको आत्मविश्वासलाई कमजोर पार्छ र उनीहरूलाई घरबाटै टाढा धकेल्छ। तत्कालीन शिक्षा-संस्थानहरूको परीक्षा-केन्द्रित शिक्षा प्रणाली, अभिभावकहरूको छिमेकीसँग तुलना गर्ने मनोवृत्ति र नम्बरलाई नै सफलताको एकमात्र मापदण्ड मान्ने मानसिकतामा आधारित यो कथा 'अर्पण' नाम गरेको बालकको मानसिक पीडामा आधारित छ।
प्रत्येक वर्ष १२ जुनका दिन हाम्रो देशले पनि बालश्रम निषेध दिवस मनाउने गर्छ। हाम्रो संविधानले बालश्रमलाई निषेध गरेको छ र ६ देखि १४ वर्ष उमेरका हरेक बालबालिका विद्यालय जान अनिवार्य गरेको छ। तर संवैधानिक व्यवस्थाका बाबजुद आज पनि देशका सहर-गाउँ, गल्ली-गल्लीमा बालबालिका श्रममा पिल्सिएको देख्न पाइएकै छ। यथार्थको जीवन्त चित्रण 'भाले धनेस' कथामा पाइन्छ।
यस कथामा बालश्रमको पीडासँगै गहिरो पर्यावरणीय चेतना पनि गाँसिएको छ। पुँजीवादी शोषण, गरिबी, श्रमिकहरूको स्थानान्तरण/बसाइँ, जातीय हिंसा र त्यसको करुण परिणाम, खोक्रो ऐन-व्यवस्था तथा अविवेकी र अमानवीय क्रियाकलापका कारण पर्यावरणीय सङ्कट उत्पन्न भएको छ, जसको परिणामस्वरूप धनेसजस्ता कैयौँ अमूल्य चराचुरुङ्गी र वन्यजन्तु लोप हुने सङ्घारमा पुगेका छन्। अरुणाचल प्रदेशको राज्यपक्षी धनेस लोपोन्मुख हुन लागेको यसको ज्वलन्त उदाहरण हो।
'फुच्चे' नाम सजिलो भए पनि कथा त्यत्तिकै गहिरो छ। यस कथामा एउटा पितृहीन बालकको पिताको सान्निध्य पाउने दमित इच्छा, विधवा स्त्रीप्रति समाजको गिद्धे दृष्टि, पलायनवादी मानवीय मनोभावना आदि समावेश छन्। फुच्चे अर्थात् अंशुमान, जसलाई म-पात्र 'Bliss of Solitude' अर्थात् आफ्नो एक्लोपनको आनन्द हो भन्ने गर्छ, उसको शिशु मनलाई विभिन्न कुरा गरेर पुलकित पार्छ। पछि झुठो आश्वासन दिन्छ। फुच्चेले म-पात्रलाई उसको जीवनको रित्तोपनलाई पितृ-स्नेहले क्षतिपूर्ति गरिदिन र त्यसका निम्ति उसकी आमासँग बिहे गर्न आग्रह गर्दा, फुच्चेलाई झुठो वाचा गर्दै ऊ फुत्किन खोज्छ। यतिमात्र होइन, उसले हप्तादिनभित्र आफ्नो डेरा छोड्ने निश्चय गरेको कुरा मालिकलाई सुनाउँछ। यस कथाले मानिसको द्वैत चरित्र तथा पलायनवादी भावनालाई उजागर गरेको छ।
कथामा आञ्चलिकताको झलक पाइएकाले कथा एकदमै जीवन्त बनेको छ। फोरलेन राजमार्ग निर्माण कार्यले दलगाउँ-डेकियाजुली वैकल्पिक राजमार्ग बनेको कुरा उद्धृत गरिएकाले कथा वास्तविक बनेको छ।
रुद्र बरालका कथामा कल्पनाभन्दा वास्तविकता धेरै पाइन्छ। उनले देखेका-भोगेका घटनाहरूलाई कथाको जामा लगाएको कुरा उनी स्वयं स्वीकार्छन्। हिजोआज मानव समाज-केन्द्रितबाट बिस्तारै व्यक्ति-केन्द्रित हुँदै गइरहेको छ। एकअर्काप्रति रहेको समर्पित भावना घट्दै गएको कुरा बरालले अति सूक्ष्म तरिकाले हेरेका छन्। हिजोआज मानव देखावटी दुनियाँमा मख्ख छ। यही देखावटी दुनियाँमा रम्ने तथाकथित मानवीय प्रवृत्तिमाथि उनले दह्रो व्यङ्ग्य हानेका छन्।
आफैँमा व्यस्त मानिस अर्काका निम्ति अलिकति पनि समय खर्चिन खोज्दैन। जुन कुरा कथाको यो वाक्यले छर्लङ्ग पारेको छ — "घरअगाडि एक्सिडेन्ट हुँदा पनि नआत्तिनु, झ्यालको पर्दा सारेर घटनालाई चियाउनु, काममा अड्चन आइलाग्यो भनेर मुर्मुरिनु, र १०८ को आवाज सुनेपछि घाइतेलाई अस्पताल लगे भन्ने स्वयं-निर्मित सोच पालेर ढुक्कसँग ए.सी.को तापक्रम घटाएर आफ्नो काममा तल्लीन हुनु" जस्ता उदाहरणले अनुभवी, भावुक मानवीय मन ज्यादै प्राक्टिकल हुन थालेको कुरा स्पष्ट पार्दछ।
प्रेम, दया, माया मानव प्रवृत्ति हुन् भने ईर्ष्या, डाहा, क्रोध, दम्भ पनि मानव प्रवृत्तिकै अर्को पाटो हुन्।
"मानिसको यो जमघट शत-प्रतिशत सकारात्मक होइन। हिजोआज शुभेच्छा, आशीर्वादहरू धेरैजसो नै अभिनय हुन्, स्वाङ हुन्, देखासिकी हुन्। मानिस आत्ममर्यादाका लागि हुरुक्क हुन्छ। आवेशमा आएर अथवा देखासिकीका लागि मात्र यी सब गर्छ।"_ ('बालक हराएको सूचना', पृष्ठ-७०)
पर्यावरण भन्नेबित्तिकै हाम्रो मनमा झट्ट नदी-नाला, रुख-पात, हावा-पानी आदि कुराको सोच आउँछ। तर वास्तवमा पर्यावरणको परिसर व्यापक र विस्तृत छ। हाम्रो वरिपरिको परिवेश, रहन-सहन, क्रियाकलाप आदि सबै पर्यावरणकै भाग हुन्। प्रख्यात भूगोलविद् पिटर ह्यागेटका अनुसार माटो, पानी, हावा र जीवमण्डलको अन्तरक्रियाको परिणाम नै पर्यावरण हो। बरालको 'अनिकाल' कथामा गहिरो पर्यावरणीय चेत छिपेको पाइन्छ। सामान्य कुकुरको भुकाइबाट सुरु भएको कथा, आमाको सोच र त्यहाँ छिपेको दर्शन, दुई खाले कुकुरको तुलनात्मक उदाहरण — सडकको गल्ली नै घर ठान्ने बेसहारा भुस्याहा कुकुर र सुकिला, चिल्ला गाडीमा घुम्ने सम्भ्रान्त कुकुर। तर्कसहितको कथानक र गहन युक्तिको प्रयोगले कथा संवेदनशील हुनुका साथै मार्मिक बनेको छ।
पुँजीवादी समाज-व्यवस्थामा लाचार निमुखाहरूको अवस्था कस्तो हुन्छ भन्ने कुरा छर्लङ्ग भएको छ। खाद्य-सङ्कटले कुकुर मर्नु र शोकमा अरू कुकुर रुनु, आधुनिकीकरणले गर्दा भएको परिवर्तन र प्रभाव, तत्कालीन समाज-व्यवस्था, चोरको बिगबिगी तथा कुकुरको परोपकारी भावनाले कथा एकदमै जीवन्त बनेको छ।
जीवन एउटा रङ्गमञ्च हो अनि हामी यस मञ्चका पात्रपात्रा। 'माखेसाङ्लो' शीर्षक कथामा बरालले आफू कथाको पात्र खोज्दै हिँडेको र कतिलाई आफ्नो कथाको पात्र बनिदिन आग्रह गर्दा पनि नमानेका पात्रपात्राहरूको माध्यमबाट प्रारम्भ गरेर समाजका व्यक्ति-विशेषको भिन्न मानसिकतालाई उजागर गर्दै दलित, शोषित, उपेक्षित पात्रहरूलाई कथामा उतारेर वर्तमान समयको सामाजिक, आर्थिक, साहित्यिक परिवेशलाई कुशलतापूर्वक प्रस्तुत गर्दै समाजमा फैलिएको विसङ्गतिलाई छर्लङ्ग पारेका छन्। हिजोआज लाले, कामे, रामेका सोझा कथाभन्दा व्यङ्ग्यात्मक कथाले पाठकवर्गको मन जितेको देखिन्छ।
समाजमा व्याप्त अराजकता, दूरनीति, भ्रष्टाचार आदिलाई सोझै नभनेर वक्रोक्तिमा भनिएको छ भने कथा पढेर आनन्द आउँछ। रुद्र बरालका कथामा पनि व्यङ्ग्य-रस भरपूर पाइन्छ, जसले खोक्रो समाज-व्यवस्थाको छवि उदाङ्गो पारेको छ। वर्तमान समयको राजनीतिक परिवेश, राजनीतिक दल, नेतृत्वदायी व्यक्तिहरूमाथि व्यङ्ग्य-प्रहार गरेर लेखिएको 'पार्टी क्याडरको पोस्टमार्टम' त्यसको एउटा उदाहरण हो।
सचेतताले भरिएको 'प्रतीक' शीर्षक कथामा आफ्नो पुर्खाको अस्तित्व खोज्दै हिँडेको प्रतीकलाई जातिको प्रतिनिधिका रूपमा उभ्याएर बरालले आफ्नो जातीय अस्मिता सङ्कटमा परेको, आफ्नो जातिको त्याग-बलिदानका गाथा लोपोन्मुख हुन लागेको र भावी पुस्ताले के भेट्नेछन् अथवा उनीहरू आफ्नो अस्तित्व खोज्दै सायद भौँतारिनुपर्छ भन्ने आशङ्का व्यक्त गरेका छन्।
आमा बन्नु नारीको जीवनले पूर्णता पाउनु हो भने त्यसको खुड्किलो विवाह हो। साँच्चै भन्नुपर्दा वैवाहिक जीवनलाई सन्तान-चाहना, उनीहरूको पालनपोषण, भविष्यको चिन्ता यिनै धागाले बाँधेर राखेको हुन्छ। रुद्र बरालले 'माया' शीर्षक कथामा विवाहपछि धेरै समयसम्म सन्तान-प्राप्तिको सुख नपाएका देवानन्द र हिमा नामका दम्पतीका माध्यमबाट यो कथा हामीसमक्ष पस्केका छन्।
सन्तान जन्म नहुँदाको मानसिक पीडा, समाजको एककोल्टे व्यवहार तथा छ वर्षको लामो अन्तरालपछि हिमा गर्भवती भएपछिको आत्मसन्तुष्टि, उत्सुकता, क्रियाकलाप सहज तर अति गहन तरिकाले प्रस्तुत गरेका छन् — _"हो, हिमा दोजिया भई। हिजोको निराशा, हताशा, आत्मग्लानीको सट्टा आज आनन्दको वातावरण छ रिजालका घरमा। हिमा बिचबिचमा आफ्नो शरीरतिर हेर्छे र आत्मसन्तुष्टिले मुसुक्क हाँस्छे, एक्लै। रणविजयको आनन्द छ उसमा आज। बिचबिचमा दाहिने हातले आफ्नो भुँडी सुमसुम्याउँछे।"
कथामा देवराजको नाम कसरी देवानन्द भयो, सम्पूर्ण भिन्न रुचिका हुँदाहुँदै उनीहरूको वैवाहिक जीवन कसरी अघि बढ्यो अथवा दुई सन्तान प्राप्त गरेर उनीहरूलाई शिक्षित तथा योग्य पारेर पनि पछि बुढेसकालमा एक्लै बस्नुपर्ने बाध्यता किन आइपर्यो जस्ता प्रसङ्गहरूले कथा घतलाग्दो भएको छ। हामी सुख-प्राप्तिका लागि मरिहत्ते गर्छौँ तर वास्तवमा कुनै पनि सुख स्थायी हुँदैन भन्ने कुरा कथामा वर्णन गरिएको छ।
'सङ्घर्ष' एउटा मनोविश्लेषणात्मक कथा हो। यो कथा एउटी महिला दोकाने/पसलेबाट सुरु हुन्छ — क्रेता र विक्रेताको संवादबाट। पसले युवती आफूलाई सारोजिनी बताउँछिन्, जो वास्तवमा सारोजिनी होइनन्, जनजातीय युवती इपा हुन्। सारोजिनी एउटा वस्त्रालयको नाम हो। कथामा पूरै सस्पेन्स पाइन्छ, जसले पाठकलाई अन्तिमसम्म बाँधेर राख्छ। एक्ली महिलाको सङ्घर्ष, जीवन-भोगाइ अति रोचक तरिकाले प्रस्तुत गरिएको छ।
प्रेम-प्रणय,अन्तरजातीय विवाह, विच्छेद, विच्छेदपछि पारपाचुके नगरी एक्लै बस्नु, समाजको कुदृष्टिको शिकार हुनु र उत्पीडन सहन नसकेर आत्महत्या गर्नु जस्ता घटनाले कथालाई दुःखान्त बनाए तापनि वाक्य-संयोजन, म-पात्रको मनोविश्लेषणात्मक उक्ति र तर्कले कथालाई सशक्त पारेको छ। वर्तमान समयसँग मिल्दोजुल्दो घटना, बेजोड शब्द-शैली तथा मोबाइल-च्याटको उचित उदाहरणले कथा अत्यन्तै वास्तविक बनेको छ। कथाको अन्त्यतिर वास्तवमा सारोजिनी को हो भन्ने चिनिएपछि पाठक दङ्ग पर्छन्।
वर्तमान परिस्थितिलाई टपक्क टिपेर लेखिएका रुद्र बरालका कथाहरूमा पुरानो सत्तावादी सामन्तवादी व्यवस्था दोहोरिएको छैन। कथाहरू वर्तमान समयको पृष्ठभूमिमा लेखिएकाले एकदमै जीवन्त भएका छन्।बरालका कथाहरूमा आञ्चलिकतावादको प्रभाव परेको देखिन्छ। नगाउँ, देकियाजुली, दलमाउँ आदि असमका ठाउँसहित तामिलनाडुका काञ्जीपुरम जस्ता शब्दले कथाहरूलाई रोचक पारेको छ।
मुकुल शइकीया नामको प्रयोग, प्रवासी बिहारी श्रमिकहरूको व्यथा, जन-हिंसा आदिले असमका घटनाहरूको प्रतिनिधित्व गरेको देखिन्छ। कथाहरू आधुनिक छन्, मननशील छन्। कथाहरूमा सामाजिक मूल्यबोध, भौतिकवाद, भ्रष्ट मानसिकताको चित्रण पाइन्छ। दमदार शब्द-शैली तथा व्यङ्ग्यको सही प्रयोगले कथाहरूलाई नयाँ रूप प्रदान गरेको देखिन्छ। परिवेशको अति सूक्ष्म निरीक्षण, मानव अन्तरद्वन्द्वको प्रस्तुति, बाल-मनोविज्ञानका बुँदा पाइने कथाहरू धेरै प्रभावशाली छन्। साहित्यका सबै विधामा कलम चलाउने बराललाई दोस्रोपटक 'भाले धनेस' ले सफल कथाकारका रूपमा उभ्याउन सफल भएको छ। कुनैकुनै कथामा कथाकार स्वयं म-पात्रका रूपमा उभिएर कथालाई नौलो स्वाद दिएका छन्। अँ, बरालका कथा सुन्ने र भन्ने किसिमका होइनन्, पढ्ने र मनन गर्ने किसिमका हुन्। त्यसैले बरालका कथाहरू गम्भीर पाठकले मनन गर्ने, तर ग्रामीण अनाक्षर समाजले बुझ्न खोज्दा सायद उनीहरूलाई हम्मे पर्ने खालका छन्।
सारमा भन्नुपर्दा 'भाले धनेस' एउटा अत्यन्त मननयोग्य कथा-कृति हो, जसले सचेतताको पाठ पढाउनुका साथै पाठकवर्गका भित्री आँखा उघार्न सक्षम छ जस्तो मलाई लाग्छ__पाठकवर्गलाई यो कृतिले निश्चय नै नयाँ स्वाद दिनेछ। शुभकामनासहित ।
विश्वनाथ, असम