प्रेमका पाँच औंला कविता सङ्ग्रहको संक्षिप्त समीक्षा
कविताको समीक्षा गर्नु गाह्रो कुरा रहेछ, ढुङ्गा फोर्नुजस्तै । कवितामा के भन्न खोजिएको हो त्यो भेउ पाउन कठिन, त्यसमा पनि यसरी ठिङ्गिएर कविताको समीक्षा गर्नु झन् कठिन । केस्रा केस्रा नकेलाई कविताको सौन्दर्य भेटिँदैन र सौन्दर्य भेटेर देखाउन यस्ता समारोहमा पाइने २०÷३० मिनेटको समयले छेउ भ्याउँदैन ।
अर्को कुरा कवितामा कविले के भन्न खोजेको हो, आफू के देखिन्छ, तालमेल मिल्न कठिन । म गर्छु आग्राका कुरा सम्धी गर्छन् गाग्राका कुराभनेजस्तो । कहिले कहिले त यस्तो लाग्छ समीक्षकको पाइन हेर्न पो कविता लेख्छन् कि कविहरू ?
जहाँ न पहुँचे रवि वहाँ पहुँचे कवि भनिन्छ ।कवि पुगेको ठाउँमा पुगेर सौन्दर्य पक्रनु र यो कवितामा यो सौन्दर्य छ भनेर देखाउनु एक प्रकारले फलामकै चिउरा हो । कतिपय कविता यस्ता हुन्छन् कवि स्वयम्ले पनि यो कवितामा मैले यो भन्न खोजेको हुँ भनेर बताउन सक्दैन ।
सबै कविता एकै प्रकारका हुँदैनन् । कतिपय कवितामा के भनिएको हो भन्ने कुरा पर्गेलेर बताउन त्यसको अनुभूतिको तहसम्म पुग्नै पर्छ । जस्तै ः
भूपीको मैनबत्तीको शिखा कविताले के भन्न खोजेको हो ?
एकातिर धप्प धप्प बलिरहेछ अनुहार
अर्कोतर्फ तप्प तप्प ढलिरहेछ अश्रुधार
मानौं यो कुनै विधवाको
त्यो क्षणको अनुहार हो
जब कि उसलाई आएछ याद एकसाथ
सुहागरात र स्वर्गीय पतिको
शुभ्र, शान्त र स्निग्ध
शिखा मैनबत्तीको ....।.
यहाँ व्यक्त सौन्दर्यलाई शब्दमा पुनः जोख्न र रच्न सकिँदैन ।
अथवा माधव घिमिरेको
“माछापुछ्रे गिरिशिखरका पारमा मुक्तिक्षेत्र, बल्छन् बत्ती अपलक जहाँ भुल्भुले मूलभित्र
तिम्रो जन्मस्थल छ पहिलो ज्योतिको दिव्य धाम, कालीगङ्गा भन न कसरी कुँध्दछ्यौ शालिग्राम”
यो कविताको सन्देश के हो ?यहाँ सन्देश होइन अनुभूति र त्यसको सौन्दर्य छ ।
यी कवितामा जीवनबाट बिम्ब लिइएको छ तर यहाँ सन्देश होइन प्राकृत सौन्दर्य छ । त्यो सौन्दर्य कविताभित्रै छ जुन यस्तो र उस्तो भनेर बखान्दा कविताले भनेजस्तै गरी बखानिदैन ।
यसको पनि कारण छ । सौन्दर्य मनको विषय हो । सौन्दर्यको अनुभूति मनले गर्ने हो । कलाकारले आफूले पहिले सौन्दर्यानुभूति गर्दछ । त्यो क्षण नै स्फुरणको क्षण हो । त्यो क्षण लामो समय अडिँदैन, बिलाइहाल्छ । उसले त्यो सौन्दर्यलाई शब्दमा वा रङ्गरेखामा व्यक्त गर्न चाहेको खण्डमा पनि त्यो सौन्दर्यलाई जस्ताको तस्तै व्यक्त गर्न सक्दैन र त्यसको केही अंश शब्दमा, रङ्ग रेखामा अभिव्यक्त गर्दछ र कविता वा चित्र बन्दछ । कविको अभिव्यक्तिक्षमता अनुसार त्यो कृति उच्च, मध्यम वा निम्न कोटिको बन्दछ । त्यो जस्तो छ त्यसैलाई अर्को शब्द वा शैलीमा पुनः सृजना गर्न चाहे पनि स्रष्टाले त्यही अनुभूतिलाई फेरि पक्रेर त्यही रूपमा व्यक्त गर्न सक्दैन । आख्यान वा विचार भएका कविताको कुरा भने बेग्लै हो । अन्य विधाको कुरा पनि बेग्लै । मनको सौन्दर्य अभिव्यक्त गर्ने यस खाले कविता मूलतः स्वच्छन्दतावादी कित्तामा पर्दछन् जहाँ विचार र वस्तुको होइन भावको सहज उल्लास हुन्छ । त्यो उल्लास क्षणिक हुन्छ ।यसकै कारण स्वच्छन्दतावादी कविहरू अधिकांशतः फुटकर कविताको तहसम्ममै सीमित रहेका पाइन्छन् । केहीमात्र खण्डकाव्यसम्म र एकाध देवकोटा जस्ताहरू मात्र महाकाव्यसम्म रचना गर्न सक्षम भएका देखिन्छन् ।
आज समीक्षा गरिने कृति मूलतः यही वर्गको भएकाले यो सन्दर्भ यहाँ जोडिएको हो ।
समीक्ष्य कृति प्रेमका पाँच औंला
यस अघि भुइँफूल कविता सङ्ग्रहको समीक्षाको जिम्मा पनि मैले नै पाएको थिएँ र अहिले पनि मलाई नै दिइएको छ । किन होला ? जिन भए पनि पत्याइदिनु भएकोमा धन्यवाद ।
कृतिको नाम: प्रेमका पाँच औंला । कृतिकार: सुभद्रा भट्टराई
प्रकाशक: तेराख प्रतिष्ठान, धुलाबारी झापा ।
प्रकाशन वर्ष: २०८१ ।
मूल्य: रु. ३५०
पृष्ठसङ्ख्या: ११+१४४≠१५५
प्रकाशकीय मन्तव्य र कृतज्ञताका शब्दहरू (प्रकाशकका तर्फबाट शिवकुमार पौड्याल र लेखकका अभिव्यक्ति)
यसअघि उहाँका दुई कविता सङ्ग्रह प्रकाशित भइसकेका छन् ः स्मृतिका डोबहरू (२०७४) र भुइँफूल(२०७८) यो उहाँको तेस्रो कृति हो ।
यस सङ्ग्रहभित्रका कविताहरूलाई तीन खण्डमा राखिएको छ ःमान्छे, हृदय र प्रकृति । मान्छे २०, हृदय २२ र प्रकृति १२ गरी जम्मा ५४कविता यहाँ भेला पारिएका छन्।
मुख्य कुरा यहाँका कविताले उच्च स्तरका पाठक माग्छन् र अझ भनूँ, पाठक पनि उही स्तरको कवि नै होस् भन्छन् । अघिल्लो कृति भुइँफूलमा विचार स्पष्ट छ, कविताले सन्देश पनि बोकेका छन् तर यहाँ विचारका झिल्काझिल्की मात्र छन्, सन्देश भन्दा पनि भावना छ । मनको सौन्दर्य छ जसलाई अनुभूति गर्न भावुक मन नै चाहिन्छ । चानचुने पाठकले कविताको अन्तर्तहमा गएर सौन्दर्यबोध गर्न सक्दैन । त्यसैले यहाँका कविता मनको सहज अभिव्यक्तिका रूपमा आएका छन् ।
भुइँफूलका कविता भुइँमान्छेका कविता हुन् तर यहाँका कविताले अर्कै संसारमा पु¥याउँछन् । छिटफुट रूपमा आजको जीवनको विसङ्गतिप्रतिको असन्तोष छ तर मुख्यतः कवि जीवनजगत्, प्रकृतिका विविध पक्ष र आयाम, मानव जीवन लगायतबाट बिम्ब लिएर भावलोकमा विचरण गर्न पुग्नुुहुन्छ र उतैको संसारमा पाठकलाई पु¥याउनुहुन्छ । यहाँ कतै छ प्रकृति र जीवनको तादात्म्य, कतै कहर पनि छ मान्छेमाथि प्रकृतिको । कतै कवि पस्नुहुन्छ स्मृतिका छेस्काछेस्की लिएर अतीततिर र पाठकलाई पनि पु¥याउनुहुन्छ त्यही नोस्टाल्जियाको लोकमा । यी पङ्क्तिहरू हेरौं ः
कुनै वेला दाउरा बटुल्न गएका
कथाले यो खोलाको कथा ओर्लन्छ
मनका सबै तहमा
मसिना झिँजाझिँजी, टुक्राटाक्री र सुर्कासुर्की
तिनमा टेकेको, अँगालोमा बेरेको, हत्केलाले बटुलेको
दाउराको भारीसँगै मेरो संसार
चुलिएको थियो एक नासले
अनि
अँगेनामा ती सबै मिहिनेत बल्थे ह्वारह्वारती (किनारबाट)
कविताहरूले आशावादी स्वर व्यक्त गर्दछन् । उदाहरण एउटा मात्र दिऊँ-‘फूलको अनुहार’ कविताका सुरु र अन्तिम यी फाँकीहरू ः
आफैं फुल्नु छ
फुलेका पत्रपत्रमा
उज्यालो एक मुठी पारेर छर्नु छ
मनको अँध्यारोमा जमेको
घाउ, पिप, दुखाइ र खिलहरू
फेरि–फेरि नामेट पार्नु छ ।
... बिहान भएर फुलेँ
त्यही अनुहारमा आफ्नो सपना
त्यही अनुहारमा आफ्नो बिपना
सुटुक्क सारेर बिउँझाइरहनु छ
न्त्र फूलको अनुहारमा सुवासले
बसाइँ सरे जस्तो
रित्तो र उजाड हुनुपर्ने छ ।
कविताहरूमा यत्रतत्र जिजीविषा पाइन्छ, त्यहाँ प्रकृतिका थरी थरीका बान्कीहरू छन् । ती बान्कीहरूमै जीवन पनि व्यक्त भएको छ ।कविता विचारप्रधानभन्दा पनि अनुभूतिप्रधान छन् ।‘आफ्नो भनाइ’को सुरुमै भनिएको छ जीवनको अर्को नाम कविता हो । कविले यहाँ कविताका माध्यमबाट जीवनलाई सुम्सुम्याउनुभएको छ । जीवनानुभूतिहरूलाई खेलाउनुभएको छ ।
अब सङ्ग्रहभित्रका कविताबारे चर्चा गरौं-
विचारछैन भन्दा भन्दै पनि केही त कविताले भनेकै पनि छन् समाजका कुरा, राजनीतिका कुरा, प्रकृतिका कुरा, जीवन जगत्का कुरा । ती कुराहरूलाई यसरी वर्गीकरण गरिहेरौं-
केही कवितामा मुलुककोराजनीतिका सन्दर्भहरू आएका छन् । जस्तै ः सपनाको एक तह, देश र नक्सा, राजनीतिको रङ, के भनौं म, झन्डा बोकेर, नयाँ अर्थ शान्तिको
यीकविताहरूमा मुलुक हाँक्नेहरूलाई चेतावनी छ,मुलुक हेपिनुको पीडा छ ।देशको राजनीतिले बाटो बिराउनुको कारणको खोजी गरिएको छ ।वर्तमान राजनीतिको विसङ्गतिलाई उदाङ्गो पारिएको छ । गलत राजनीतिले जनतालाई भ्रमित पारेका कुरा पर्गेलिएको छ । युद्ध र राजनीतिले शान्ति खल्बल्याएको स्थिति जस्ता विषयको प्रदर्शन छ ।राजनीतिको रङशीर्षकको कविताममा कवि भन्नुहुन्छ-
खोलामा सहरको फोहोर
नाली दूषित ढल, सडेगलेका सामान
सबै फ्याँकेर मानिसहरू
खोला नसङ्लेकोमा गुनासो गर्छन्
कसरी पानीमा त्यो उज्यालो आउँछ ?
फोहोर मिसिएपछि सङ्लिन
समयको केही घडी आउने जाने भइरहन्छ
लाग्छ –
राजनीतिले रङ बनाउँछ, कहिल्यै फेर्दैन ।
अर्को वर्गमा जीवनजगत् र सामाजिकताका कुराहरू पर्दछन् । ती कविताहरूमा यी कविताहरूलाई राख्न सकिन्छः विद्यालयमा, खेतालाहरू, समाचारहरू, हिसाब जिन्दगीको, भोजको चमत्कार, उन्मुक्त घडी, सहरमा एम्बुलेन्स, यो के बाध्यता ?, रेडियो, केक र जन्मदिन, आमाको चस्मा, औंठी, बुबा र आशीर्वाद,पुराना चिठीहरू, उज्यालो पाइला, उत्तर छैन आदि ।
यी कविताहरूमा विद्यालय र विद्यार्थीका सन्दर्भहरू आएका छन् । जीवनका यान्त्रिकताहरू र विविधताहरू व्यक्त भएका छन् ।सर्वसाधारणका पीडाका समाचारहरू छन् तर पीडाबाट मुक्ति भने पाउन नसकेको अवस्था छ । जीवनका दैनन्दिनीका कुराहरूछन् अनि गाउँको आत्मीयता र सहरी स्वार्थबिच तुलना पनि छ । समयचक्रका कुरा छन् । श्रम गर्ने चलन हराउँदा रोग बढेको स्थितिलाई देखाइएको छ ।सञ्चारमाध्यमहरूले समाजमा नकारात्मकता फैलाएका कुराहरू पनि आएका छन् भने परसंस्कृतिले आफ्नोपन भुलाउँदै गएको स्थिति पनि कवितामा देखिन्छ । अभावमा बाँचेको हाम्रो इतिहासको सर्वेक्षण छ, सामाजिक मूल्य मान्यताहरूको लेखाजोखा छ । पितृवात्सल्य छचल्किएका कुरा छन् ।पुराना चिठीहरूले उतारेका पुराना स्मृतिबिम्बहरू छन् ।देशको जर्जर अवस्था र युवाहरूको विदेश पलायनका कुराहरू छन् र हाम्रो वर्तमान दुःखद भए पनि जीवनमा आशा जगाएर बाच्नुपर्छ भन्ने आशावादी स्वर व्यक्त भएको छ ।
केही कवितामा मानव स्वभावका कुरा पनि आएका छन् । यस कित्ताका कवितामा ः ब्याग, ऐनाको तर्क, मलाई चिन्नु भो ?,गएको उमेर, मान्छे र बोली जस्ता कविता पर्दछन् ।
यी कविताहरूमा अनावश्यक कुराको खोजीनिति गर्ने हाम्रो चलनका कुराहरूको चित्रण पाइन्छ । हाम्रो समाजकाआडम्बरी चरित्रलाई उदाङ्गो पारिएको छ । उमेरजन्य अवस्थालाई नक्कली प्रशाधनले छोप्ने प्रवृत्तिका कुराहरू छन् अनिमान्छेका कथनी र करनीमा बेमेल हुने गरेका कुरा पनि व्यक्त भएका छन् ।
अर्का थरी कवितामा मानिसका विवशता र बाध्यताका कुरा छन् । जस्तै ः नोटको चाङ, इनारमा छायाँ, कोलाहलमा म, बिर्सेर जानेलाई, अँगालोमा आँसु
यी कविताहरूमा सीमाक्षेत्रमा नोट साट्नेहरूका अवस्थाको मन छुने चित्रण गरिएको छ । कर्तव्यपथमा निर्लिप्त हुँदा परिचय नै हराउनेहरूको अवस्थालाई देखाइएको छ ।रिमोटले चलेको यान्त्रिक जीवनको चित्र प्रस्तुत गरिएको छ । बिर्सिजानेहरूका कुराहरू छन् अनि देश छोडेर जानेहरूप्रति आमाको ममत्व छचल्किएका सन्दर्भहरू आएका छन् ।
पाँचौं वर्गका कवितामाजीवनसत्यर विश्वास व्यक्त भएको पाइन्छ । यस वर्गका कवितामाः स्वाभिमानको मूल्य, बाटोसँग, आँसुको माला, मनै त हो, नाताहरू, सुन ! केही सुन, आकाशको अनुहार, अर्को जुनी, बाटो किनार, उमेरको सिँढीशीर्षकका कविताहरू छन् ।
यी कविताहरूमा स्वाभिमानको महत्ता दर्साइएको पाइन्छ । बाटो र जीवनको समानतालाई चित्रण गरिएको छ ।नारी जीवनका विविध रूपको चित्रण छ ।आँसुको मूल्य, मनका संवेदनाहरू,नातासम्बन्धमा अपनत्व शून्य हुँदै गएको अवस्था जस्ता मानवीय संवेदनाका कुराहरू आएका छन् । सुख–दुःख अँध्यारो उज्यालो जीवनका दुई पाटा हुन् भन्ने कुरा आएका छन् । जन्म र मृत्युको अभिशापमा च्यापिएको जीवनको चित्रण छ ।पूर्वजन्म परजन्म जस्ता रूढिवादी विचारको खण्डन छ । जीवनका विविधताका कुराहरू छन् ।उमेरसँगै आउने शारीरिक परिवर्तन जन्म–जरा–मृत्युचक्रसम्बन्धी सत्यको प्रकाशन छ ।
अर्को वर्गका कवितामा जीवन र प्रकृतिसम्बन्धी विषय छन् । यस वर्गका कवितामा ःप्रेमका फूलपात, सिमलका फूल, किनारबाट, बगर, फूलको अनुहार, बादल सँगसँगै, नदीको गीत, बाँसघारीकविताहरू आउँछन् ।
यी कविताहरूले प्रेम र प्रकृतिबिच अनि जीवन र प्रकृतिबिचको तादात्म्यलाई देखाएका छन् ।प्राकृतिक सौन्दर्य र निर्माण–विनासको मध्यबिन्दुमा रहेको जीवनको चित्रण गरेका छन् ।बगर र जीवनको समान नियतिका कुराहरू छन् । प्रकृतिसँग जीवनको तादात्म्यका साथै प्रकृतिबाटै जिवन जिउन र सङ्घर्ष गर्न अनि जीवन सिक्न सकिन्छ भन्ने सन्देशव्यक्त छ ।
समग्रमा भन्नुपर्दा यहाँका कविताहरू विविध भाव र स्वादका छन् । रमरम विचार आएको छ तर भावको प्रबलता, स्वच्छन्द अभिव्यक्ति नै कविताको मूल शैली बनेको छ । प्रकृति, मानव स्वभाव, प्रकृति र मानवको तादात्म्य, बौद्धिकता र विद्रोह, अतीतप्रतिको आत्मीयता, देश दुख्नुको पीडा आदि कुरा अभिव्यक्त छन् । कतै कतै शब्दको खेलमा कवि अल्झिँदा भाव खज्मजिएको स्थितिपनि पाइन्छ । प्रस्तुति शैली प्राञ्जल छ । भाषा प्रायः शुद्ध र एकाध सन्दर्भ बाहेक भावसम्प्रेषणमा सक्षम देखिन्छ ।
कविलाई तेस्रो कृतिका लागि बधाई !यहाँ ठिङ्ग्याएर बकबक गर्न दिएकोमा आयोजकलाई धन्यवाद !
२०८१।४।२४ काँकरभिट्टा, झापा