प्रलेसबाट पाँचजना अग्रज स्रष्टा सम्मानित
आज प्रगतिशील लेखक सङ्घ,कोशी प्रदेशको आयोजनामा अग्रज स्रष्टाका रचना वाचन तथा सम्मान कार्यक्रममा सम्पन्न गरिएको छ।
कार्यक्रममा प्रलेस केन्द्रिय उपाध्यक्ष नमूना शर्माको प्रमुख अतिथ्य तथा प्रलेस केन्द्रिय महासचिव डा.देवी क्षेत्री दुलालको विशिष्ट अतिथ्यमा बेलबारी बहुमुखी क्याम्पसको सभाहलमा कार्यक्रम सम्पन्न गरिएको हो।
अग्रज सम्मानित स्रष्टाहरुमा हर्कमान तामाङ,समालोचक प्रा.डा.बद्रीबिशाल पोखरेल ,गजलकार मधु पोखरेल ,प्राज्ञ सुमित्रा वाङ्देल चेली,कवि तथा समालोचक वैजयन्ती मिश्रले तीन तीनवटा सृजनाहरु वाचन गरेका थिए।त्यसपछि पाँचै जना अग्रज स्रष्टाहरूलाई सम्मान समेत गरिएको थियो।
कार्यक्रमका प्रमुख अतिथि, विशिष्ट अतिथि लगायतका साहित्यकारहरुले सम्मानित अग्रज स्रष्टाहरूलाई दोसल्ला अबिर टीका र सम्मान पत्रद्वारा सम्मान गरिएको थियो।
कार्यक्रममा प्रलेस कोशी प्रदेश सह-इन्चार्ज बोधकुमार घिमिरे ,विश्व नेपाली साहित्य महासंघका अध्यक्ष सुरेन्द्र परदेशी ,स्रष्टा जेवी थुलुङ,प्रलेस झापा अध्यक्षता लिलाप्रसाद अधिकारी लगायतका साहित्यकारहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रममा पूर्व केन्द्रिय सदस्य प्रलेस राममणी पोखरेल र अमृत आचार्यले शुभकामना मन्तव्य राखेका थिए।
प्रलेस कोशी प्रदेश अध्यक्ष तीला लेकालीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रलेस कोशी प्रदेश उपाध्यक्ष रामप्रसाद खरेलले गरेका थिए।
कार्यक्रममा स्वागत मन्तव्य भने कोषाध्यक्ष सृजना सरोवरले गरेकी थिइन् ।कार्यक्रममा कोशी प्रदेशका विभिन्न ठाउँबाट साहित्यकारहरुको बाक्लो उपस्थिती रहेको थियो।