मेरी मायालु आउने दिन
मेरी मायालु आउने दिन
- दुर्गा खतिवडा
आज, मेरी मायालु आउने दिन
स्वागत सम्भाषणको निम्ति
मेरो हृदयमा विभिन्न कार्यसूची रचिए
भावनाका तरङ्गहरू मच्चिए
म उनकै सोचमा हराएको थिएँ
बेला बेला झस्किएको थिएँ
कसैले ढोका ढक्ढकाउँदा
कसैले बड्बडाउँदा
चप्पल फट्फटाउँदा
हिल जुत्ता कट्कटाउँदा
उनै हुन् भनेर आशाले
ढोकाबाट नियाल्थें
तर
अरूकै आफन्तहरू
अरूकै सङ्गिनीहरू
अरूकै मायालुहरू देख्दा
म सेलाएको हुन्थे बरफ झैं
र पनि
मेरो आशा र उमङ्ग हराएको थिएन
यातायातको असुविधाले होला भन्ने कुराले
मेरो भाँचिएको मनलाई टेवा लाउँथ्यो
यसरी नै अडिएको थिएँ ।
सूर्य पनि पश्चिम आकाशमा
आफ्नो रक्तिम आभा बोकेर
बिदा मागिरहेको थियो
तर
म बिदा दिन असमर्थ थिएँ
कसरी बिदा दिनु र ?
अझ पनि मायालुको आगमन नहुँदा
मेरो हृदय भत्किन थालेको थियो
ब्रह्मपुत्रले आफ्नो किनारलाई भत्काए झैं।
कहिले म
पक्षी भएर जान चाहन्थें
मायालुको मायालु भएर ।
यसरी नै दिन डुब्न लागेको थियो
झमक्क साँझ परेको थियो
ढोकाले टक् टक् टक् बोलायो
मेरा हातहरूले ढोका उघार्न बिलम्ब गरेनन्
मेरी मायालुको आगमन भयो
तर अर्कै रूपमा
कुन पापीले मेरी मायालुको सिउँदोमा सिन्दुर पोखेछ
म आत्तिएँ
मेरो मुख बन्द भयो
शरीर शिथिल भयो
आँखाहरू रसिला भए
खुट्टाहरु ठाँसिएको जस्तो लाग्यो
पृथिवी चारैतिर घुम्न थाल्यो
म बेहोस भएछु
आँखा उघार्दा
म अस्पतालमा रहेछु।
(कवि असम नेपाली साहित्य सभाका सभापति हुनुहुन्छ ,सं.)