मेरी मायालु आउने दिन

दुर्गा खतिवडा पोष्ट -दिलिप घिमिरे · भदौ ३१, २०८१ ९:५६ PM
Cover Image for News

मेरी मायालु आउने दिन
                - दुर्गा खतिवडा 
आज, मेरी मायालु आउने दिन
स्वागत सम्भाषणको निम्ति
मेरो हृदयमा विभिन्न कार्यसूची रचिए
भावनाका तरङ्गहरू मच्चिए
म उनकै सोचमा हराएको थिएँ
बेला बेला झस्किएको थिएँ
कसैले ढोका ढक्ढकाउँदा
कसैले बड्बडाउँदा
चप्पल फट्फटाउँदा
हिल जुत्ता कट्कटाउँदा
उनै हुन् भनेर आशाले
ढोकाबाट नियाल्थें
तर
अरूकै आफन्तहरू
अरूकै सङ्गिनीहरू


अरूकै मायालुहरू देख्दा
म सेलाएको हुन्थे बरफ झैं
र पनि
मेरो आशा र उमङ्ग हराएको थिएन
यातायातको असुविधाले होला भन्ने कुराले
मेरो भाँचिएको मनलाई टेवा लाउँथ्यो
यसरी नै अडिएको थिएँ ।
सूर्य पनि पश्चिम आकाशमा
आफ्नो रक्तिम आभा बोकेर
बिदा मागिरहेको थियो
तर
म बिदा दिन असमर्थ थिएँ
कसरी बिदा दिनु र ?
अझ पनि मायालुको आगमन नहुँदा
मेरो हृदय भत्किन थालेको थियो
ब्रह्मपुत्रले आफ्नो किनारलाई भत्काए झैं।
कहिले म
पक्षी भएर जान चाहन्थें
मायालुको मायालु भएर ।
यसरी नै दिन डुब्न लागेको थियो
झमक्क साँझ परेको थियो
ढोकाले टक् टक् टक् बोलायो
मेरा हातहरूले ढोका उघार्न बिलम्ब गरेनन्
मेरी मायालुको आगमन भयो
तर अर्कै रूपमा
कुन पापीले मेरी मायालुको सिउँदोमा सिन्दुर पोखेछ
म आत्तिएँ
मेरो मुख बन्द भयो
शरीर शिथिल भयो
आँखाहरू रसिला भए

खुट्टाहरु ठाँसिएको जस्तो लाग्यो
पृथिवी चारैतिर घुम्न थाल्यो 
म बेहोस भएछु
आँखा उघार्दा
म अस्पतालमा रहेछु।
(कवि असम नेपाली साहित्य सभाका सभापति हुनुहुन्छ ,सं.)

ट्यागहरू:
साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
भरोसा त मलाई
भरोसा त मलाई
आभास रिखाम मगर - शनिबार ५ सेप्टेम्बर २०२६
तिमीभित्रको उज्यालो
तिमीभित्रको उज्यालो
ओसीका लिम्बू पोष्ट-दिलिप घिमिरे - शनिबार ५ सेप्टेम्बर २०२६
छोरीको पहिलो उडान
छोरीको पहिलो उडान
पातलो अन्तरे - शुक्रबार ४ सेप्टेम्बर २०२६
 आफ्नै वर्तमान  - नकुल काजी
आफ्नै वर्तमान - नकुल काजी
नकुल काजी - बिहिबार ३ सेप्टेम्बर २०२६