लासको बकपत्र
वसन्तमा पाउलिएका हरिया नयाँ मुना
शरदका रङबिरङ फूलहरू
ग्रीष्मको पहिलो वर्षा
र माटाको सुगन्ध
कोइलीको सप्तक स्वर
यी कुनै कुराको केही अर्थ छैन हामीलाई
बाहिरी संसारसँग कुनै सरोकार छैन हामीलाई
हामीलाई त मालिकको चरणधुली
हाम्रो पृथ्वी हो
ख्वामितको हँसिलो मुहार
हाम्रो स्वर्ग हो ।
उसको फुटेको कुर्कुच्चा र डढेको अनुहार
अहिलेलाई बिर्सिदिनोस्
त्यसको चाउरिएको अनुहार र दाउरिएको शरीरको कुरै नगर्नोस्
तिनको चुहिने छानो र चिसो चुलो
उनको लुटिएको यौवन र उजाडिएको सिउँदो
यी कुराको केही अर्थ छैन हामीलाई
बाहिरी संसारसँग
कुनै सरोकार छैन हामीलाई
हाम्रो त मालिक हाँसे
जीवनमा वसन्त आउँछ
ख्वामित रिसाए
आकाशमा कालो बादल छाउँछ
माफ गर्नुहोला
हाम्रो आफ्नो अनुभूति छैन
ओठ हाम्रै हो
तर मुस्कान मालिकको राखेका छौँ
आँखा आफ्नै हुन्
तर आँसु ख्वामितको साँचेका छौँ ।
यहाँहरूलाई लाग्यो होला :- यी त दास रहेछन्
यदि तपाईं हामीलाई दास ठान्दै हुनुहुन्छ भने
तपाईं सोह्रै आना गलत हुनुहुन्छ
हामी त
उन्मुक्ति सस्तैमा बेचेर
विवेक र स्वाभिमानको मलामी हिँडेका
दास होइन लास हौं
यो मुलुकको सर्वनास हौं
समयको सत्यानाश हौं
किनभने
सास गएर मर्नु मात्रै मर्नु होइन रहेछ
बाँचेको थाहा नपाउनु पनि मर्नु हो रहेछ
बाँचेको थाहा नदिनु पनि मर्नु हो रहेछ
शरीर निस्चेष्ट निष्प्राण हुनु मात्रै मर्नु होइन रहेछ
प्राविधिक बाँच्नु मात्र पनि मर्नु हो रहेछ ।
त्यसैले हामीलाई दास भनेर
दासको अपमान नगर्नुहोला
दासले त कैयौं पटक विद्रोह गरेथे
उन्मुक्तिका लागि
हामी दास हुनसम्म सकेनौं
मात्र लास बन्यौँ --- सेलाएका
ओल्टाईपल्टाई अर्कैले खेलाएका
मालिकको चरणमुनि किचिएका
र चिसिएका
ब्रह्माण्डभरिका सूर्यले पनि तताउन नसक्ने
हो हामी दास होइन लास हौं
हामी मात्र लास हौँ ।
बुद्धशान्ति - झापा
अति सुन्दर र सशक्त कविता। अझै पढ्न पाऊँ ।