लीला शर्मा ‘अस्मिता’को ‘युद्ध लडेँ, क्यान्सर जितेँ’ पुस्तक विमोचन

दिलिप घिमिरे · असोज ७, २०८३ १०:३७ AM
Cover Image for News

झापा ७ असोज /लेखक लीला शर्मा ‘अस्मिता’को पुस्तक ‘युद्ध लडेँ, क्यान्सर जितेँ’ शनिबार घोराहीमा विमोचन गरिएको छ । 

दाङमा जन्मे–हुर्केकी शर्मा जन्मस्थान देउखुरीको धैरेनीबाट घोराहीमा कलेज पढ्न आउँदा ३० वर्षअघि यही शरद याममा चिठी पुर्‍याइदिने बहानामा आफूलाई माओवादीसित पुर्‍याइएको स्मरण गर्दै लेखक शर्माले विमोचनका लागि घोराही रोजेको बताइन् । 

‘जहाँबाट आफ्नो बाटो मोडियो, त्यहीँ आइपुगेकी छु । यी दौरानमा दुइटा लडाइँ लडियो । एउटा युद्ध र अर्का क्यान्सर । जे देखेँ भोगेँ, त्यही लेखेकी छु’ लेखक लीला शर्माले भनिन्, ‘युद्धकालभरि म धेरै डायरी लेख्थेँ । अझै धेरै डायरी जोगाएर राखेकी छु । आफ्नो कथा आफैँ लेख्नुपर्छ भन्ने लागेर पुस्तक लेखेकी हुँ ।’ 

कार्यक्रमका प्रमुख अतिथि ९६ वर्षीय सक्रिय पत्रकार तथा लेखक नारायणप्रसाद शर्माको उपस्थिति र मन्तव्यले धेरैको मन जितेको थियो । दाङमा ‘नयाँ युगबोध’ दैनिक सञ्चालन गर्ने अग्रज पत्रकार नारायण शर्माले लीलाको पुस्तकले नयाँ युगबोध गराएको महसुस आफूले गरेको टिप्पणी गरे । आफ्नो दाङबाट बलियो लेखकको जन्म भएको उनको भनाइ थियो ।  

समालोचक तथा कवि अमर गिरीले पुस्तकबारे टिप्पणी गरे । माओवादी विद्रोहबारे लेखिएका धेरै किताब आफूले पढेको र ती तीन थरी रहेको गिरीले बताए । 

एकथरी विद्रोहको अँध्यारो पाटोमा मात्र, अर्काथरी उज्यालो पाटोमा मात्र र तेस्रो थरी अँध्यारो–उज्यालो जे छ त्यही प्रस्तुत गर्ने यथार्थ पाटोमा । गिरीले लीलाको लेखनलाई यथार्थ पस्किएको सुन्दर र पठनीय संस्मरणको संज्ञा दिए । 

पत्रकार महासङ्घ दाङको सभाहलमा करिब दुई सय जना सहभागीबीच लेखक शर्मासहित अग्रज पत्रकार तथा लेखक नारायण शर्मा, समालोचक तथा कवि अमर गिरी, सर्वोदय पुस्तकालयका अध्यक्ष सुशील गौतम तथा नेपालयका सम्पादक विमल आचार्यले पुस्तक लोकार्पण गरेका थिए ।

ट्यागहरू:
साहित्य कला र संस्कृति
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।