लेखनाथ पुस्तकालयमा स्रष्टा एक स्वर अनेक कार्यक्रम सम्पन्न
कार्तिक २३ भद्रपुर । लेखनाथ पुस्तकालय चन्द्रगढीमा आज साहित्यिक भेटघाट तथा एक स्रष्टा अनेक स्वर कार्यक्रम सम्पन्न भएको छ । पोखराका छन्दवादी कवि छन्दमणि त्रिपाठी तथा छन्दिका त्रिपाठीको नेतृत्वमा आएको पन्ध्र सदस्यीय साहित्यिक तथा शैक्षिक टोलिसँग स्थानीय साहित्यकारहरुको भेटघाटको अवसरमा आयोजना गरिएको सो कार्यक्रममा पोखरेली कवि छन्दमणि त्रिपाठीका दश कविताहरुलाई स्थानीय नौ र पोखराका एक कवि तथा गायक गायिकाले वाचन गरेका थिए ।
त्रिपाठीका दश कविता मध्ये मन्दाक्रान्ता छन्दको पानी शीर्षकको कविता कवि विरही अधिकारीले, मालिनी छन्दको कविता यो देशलाई सुधारूँ कविता निर्मला बास्तोला दंगालले, राधा रिमालले मेरो देश र तिमी कविता, पिताम्वर अधिकारीले वसन्ततिलका छन्दको के के भयो शीर्षकको कविता, चन्द्रमणि पौडेलले आमा शीर्षकको कविता, गायक विजय दंगाललले म चोर हुँ शीर्षकको पञ्चचामर छन्दको कविता, प्रान्जल दाहालले अनुष्टुप छन्दको यात्रामै चल्छ जीवन शीर्षकको कविता, आर्या त्रिपाठीले हिमाल शीर्षकको प्रमाणिका छन्दको कविता र आयुष्मा घिमिरेले स्रग्विणी छन्दको जिन्दगी शीर्षकको कविता वाचन गरेका थिए । कविता वाचन गरिरहँदा हलमा उपस्थित पचास भन्दा बढी स्रष्टा सर्जकहरु मन्त्रमुग्ध अनि भावविह्वल बनेका थिए । कार्यक्रममा सह-प्राध्यापक एवं साहित्यकार होम सुवेदीले यस्ता भेटघाटका कार्यक्रम गर्दै अगाडि बढेको पुस्तकालयका गतिविधि तथा साहित्यिक सद्भाव यात्राका महत्वका बारेमा आफ्ना धारणा राख्नु भएको थियो भने लेखक छन्दमणि त्रिपाठीले आफ्ना कविता अरुका आवाजबाट सुन्न पाउँदा खुसी अनि भावुक समेत बनेको र एक स्रष्टा अनेक स्वर शीर्षकमा यो कार्यक्रम निरन्तर अगाडि बढ्ने कुरा ब्यक्त गर्नुभएको थियो । कार्यक्रममा छन्दिका त्रिपाठीले झापा र पोखराको यो सम्बन्ध प्रगाढ रहोस् भन्दै मन्दाक्रान्ता छन्दको प्रेमील कविता सुनाएर सबैलाई मन्त्रमुग्ध बनाउनु भएको थियो । कार्यक्रममा साहित्यकार नवराज घिमिरे, महाकाव्यकार हरि प्रसाद न्यौपाने, राजेन्द्र चापागाईं, वीरेन्द्र मा विका पूर्व प्र अ टंक पाण्डे, अनिरुद्र सिटौला पत्रकार राजु वराल, जनार्दन उप्रेती, उषा गुरुङ, जयन्ती मानी लगायतको उपस्थिति रहेको थियो । कोषाध्यक्ष गोविन्द कोइरालाले स्वागत गर्नुभएको कार्यक्रमको सन्चालन सचिव हिरकिशोर आचार्यले गर्नुभएको थियो । उदीयमान तवलावादक युनिक पाण्डेले तवलामा साथ दिएको कार्यक्रमलाई मन्तव्य सहित सभाध्यक्ष खगिन्द्रा खुसीले समापन गर्नु भएको थियो ।