लेखक पाठकको रचना समग्रको लोकार्पण र टिप्पणी
लेखक पाठकको रचना समग्रको लोकार्पण र टिप्पणी
गत २६ अगस्ट २०२४ को दिन असमका प्रगतिवादी लेखक रूपनारायण पाठकको रचना समग्र पुस्तक विमोचन गरिएको छ।
कार्यक्रममा असमका प्रगतिवादी बयोवृद्ध लेखक पाठकको रचना समग्र पुस्तक अवकाशप्राप्त अध्यापक हेमकुमार गौतमको सम्पादन र असम नेपाली साहित्य सभा विश्वनाथ नगर शाखाको प्रकाशन बजारमा आएको हो।
कथाकार तथा अनुवादक हरि लुइँटेलको अध्यक्षतामा सम्पन्न यस रङ्गारङ कार्यक्रममा पाठकको रचना समग्र असमका चर्चित समालोचक अविकेशर शर्माको हस्त बाहुलीबाट विमोचन भएको थियो भने कार्यक्रममा विशिष्ट अतिथिको आसनमा आसिन साहित्यकारहरू ड.खेमराज नेपाल, मित्रदेव शर्मा, रुद्र बराल, पूर्ण कुमार शर्मा, धनेश्वर बरा, ज्ञानेन्द्र सरकार, गोपाल दास, तुलसी कार्की उपस्थिति रहेको थियोे ।
रूपनारायण पाठक असमेली नेपाली प्रगतिवादी साहित्यका तेस्रो छिमलका सर्जक हुन्। असममा नेपाली प्रगतिवादी साहित्यको बियाड जोत्ने काम गुवाहाटीका प्रेमसिंह सुवेदीले गरेका हुन्, पचासको दशकमा। असमिया प्रगतिवादी साहित्यको थालनी सन् १९३५ देखि भएको मानिन्छ।
धीरेन्द्रनाथ दत्तको 'अभियान' कविता सङ्ग्रहले यो अभियानको थालनी गर्यो भने नेपाली प्रगतिवादी साहित्य यसको डेढ दसकपछि प्रेमसिंह सुवेदीका नाटकहरू, गोलीको निशान, लइन छोकडो आदिबाट भएको हो। यो परम्परालाई सिलाङका गोकुलप्रसाद जोशी, दिल साहानी, तुलबहादुर 'मालेमा'हरूले निकै मलजल गरे। सुरुवाती चरणमा हरिभक्त कटुवाल र के.बी. नेपालीका सिर्जनाहरूमा पनि प्रगतिशीलताको छाप पाइन्छ।
शोणितपुरका रूपनारायण पाठक असमेली नेपाली प्रगतिवादी साहित्यका तेस्रो चरणका स्रष्टा हुन्। सुवेदीदेखि पाठकसम्म आइपुग्दा असमको नेपाली प्रगतिवादी साहित्यले उपन्यासको चाख लिने मौका पायो।
असमबाट मात्र तिनवटा प्रगतिवादी उपन्यास लेखिए - पाठकको 'दोसाँध' (१९९८), यसअघि के.बी. नेपालीले सन् १९७३ मा प्रकाशित गरेको 'तस्बीर एक रातको' (जसमा प्रगतिवादी उपन्यासका उपन्यासका केही अभिलक्षणहरू पाइन्छ) र पाठककै समसामयिक लेखक रवि शर्माद्वारा रचित 'अर्को बाटो' ।
रूपनारायण पाठकले 'दोसाँध' को अतिरिक्त अरू केही कृतिहरूको पनि सिर्जना गरेका छन्। ती हुन् - 'फिलिङ्गो' (२०००) उनको मुक्तक काव्य र 'अलिखित दस्तावेज' (२०१४) असमिया सामाजिक उपन्यास। 'निसाफ' पाठकको असङ्कलित नाटक हो जसलाई पहिलोपटक उनको रचना समग्रमा स्थान दिइएको छ। यद्यपि फिलिङ्गोलाई मुक्तक काव्य भनिएको छ तथापि भूमिकाकार कवि-निबन्धकार हरि गजुरेलले यसलाई ''९८ अनुच्छेदमा लेखिएको एउटा लामो कविताखण्ड'' भनेका छन्।
३७२पृष्ठको यस रचना समग्रमा पाठकका उल्लिखित कृतिका अतिरिक्त 'असमर नेपाली राइजर संस्कृति आरु आर्थ-सामाजिक इतिबृत्त' भन्ने असमिया भाषामा लेखिएको एक लामो निबन्ध, उनले लेखेका अनेक संस्मरण, पुस्तक समीक्षा, जीवनी, पुस्तकका भूमिका, विभिन्न पत्र-पत्रिकाको लागि लेखेका सम्पादकीय, व्यङ्ग्य रचना, फुटकर कविता र निबन्धले पनि स्थान पाएका छन्।
यस रचना समग्रमा पाठकको राजनैतिक र साङ्गठनिक जीवनका अनेक दस्ताबेज पाइन्छ।पाइन्छ नेपाली भाषाको संवैधानिक मान्यता आन्दोलनको असममा पहिलो पर्वको इतिहास, दरङ नेपाली छात्र सङ्घको गतिविधि, नौदुवार अञ्चलको साहित्यिक गतिविधि, ओझेलमा परेका केही साहित्यकार र सामाजिक कार्यकर्ताहरूको योगदानको लेखाजोखा।
सम्पादनामा केही त्रुटिहरू देखिए तापनि प्रस्तुत ग्रन्थ असमेली नेपाली प्रगतिवादी साहित्यकारको पहिलो रचना समग्र हो, प्रगतिवादी साहित्यको इतिहास लेखनमा अवश्य पनि यस ग्रन्थले ठुलो सहयोग पुर्याउने साहित्यकार रुद्र बरालको टिप्पणी रहेको छ।
सराहनिय