बसन्त बस्नेतको ‘सिमसारा’सार्वजनिक
बसन्त बस्नेतको ‘सिमसारा’सार्वजनिक
१६असोज / लेखक तथा पत्रकार बसन्त बस्नेतको दोस्रो उपन्यास ‘सिमसारा’ लोकार्पण गरिएको छ।
फिल्म निर्देशक मीन भाम, संगीतकर्मी उज्ज्वल सागर,अस्मिता गौतम र लेखक बस्नेतले आज नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित समारोहमा पुस्तक लोकार्पण गरेका हुन्।
यसअघि उनको पहिलो पुस्तक ‘७२ को विष्मय’ हो। दोस्रो ‘महाभारा’ उपन्यास लेखेका बस्नेतको ‘सिमसारा’ दोस्रो उपन्यास हो भने कृतिका रुपमा तेस्रो हो ।
कार्यक्रमको सुरुवात गायक तथा संगीतकार उज्ज्वल सागरको २० मिनेट लामो पियानो प्रस्तुतिबाट भएको थियो ।त्यसपछि कार्यक्रममा पुस्तकको लोकार्पण भएको थियो ।पुस्तकमाथि निर्देशक भामले समीक्षा गरेका थिए भने त्यसपछि अस्मिता गौतमसँग लेखक बस्नेतको अन्तरसंवाद भएको थियो ।
पुस्तकमाथि धारणा राख्दै चलचित्र निर्देशक मीन भामले आफू ‘सिमसारा’का पात्रहरूको प्रेममा परेको टिप्पणी गरे ।
लेखक बस्नेतले नेपालको पूर्वी क्षेत्रको सेरोफेरोमा रहेर उपन्यास लेखेको र आफू कर्णालीको एउटा जिल्ला मुगुमा जन्मेहुर्केको भए पनि कथा आफ्नै भनिदिएको जस्तो लागेको चलचित्र निर्देशक भामले जनाए ।
कार्यक्रममा सांगीतिक प्रस्तुति दिने क्रममा गायक एवं संगीतकार उज्ज्वल सागरले यो पुस्तक आफूलाई असाध्यै मन परेको बताए । सरल भाषामा सुललित ढंगले लेखिएको उपन्यास ‘सिमसारा’ सबै पाठकलाई रुचिकर लाग्ने उनको भनाइ छ ।
कार्यक्रममा लेखक बस्नेतले आफूले हृदय निचोरेर उपन्यास ‘सिमसारा’ लेखेको बताए । यसमा आफूले बाल्यकालमा देखेको र केही भोगेको कथालाई प्रस्तुत गरेको उनको भनाइ छ ।
पुस्तक फाइनप्रिन्टले प्रकाशनमा ल्याएको हो भने ‘सिमसारा’को मूल्य ६५० रुपैयाँ राखिएको छ ।