कविता‚ कवि र पाठक
कविता‚ कवि र पाठक
–एकु घिमिरे‚ अन्तुडाँडा‚ इलाम
आमाले आँगनमा गाडेका गुलाफका हाँगा
नहल्लाउनू भन्नुहुन्थ्यो
हामी हरेक दिन नहल्लाई उखेल्थ्यौँ जरा निर्क्यौल गर्न ‚
फूल सुकेर मर्थ्यो‚
आमाले भन्नुहुन्थ्यो‚ ‘हाम्रामा गुलाफ फाब्दैन !
आजभोलि कविता त्यही गुलाफको हाँगा भएको छ ।
बाबाले काँक्राको चिचिला औँल्याउनुहुन्न भन्नुहुन्थ्यो
हामी थाङ्ग्रैमा चढेर नऔँल्याई
हातमा उठाएर साथीलाई देखाउँथ्यौँ !
चिचिलो कत्रो भयो ? भनेर मुठ्याउँथ्यौँ
अलिक दिनमा भेट्नु बोटमा र
चिचिलो भुइँमा देखिन्थ्यो
हामी अन्तरेले औल्याएको पोल सुनाउँथ्यौँ
बाबा यो साल काँक्रालाई छेक परेन भन्नुहुन्थ्यो
आजभोलि कविता त्यही काँक्राको चिचिला भएको छ ।
काका बारी खन्नेले वायु छोडे
मूला पिरो हुन्छ भन्नुहुन्थ्यो
हामी गरामा को कता बसेर मुलाबारी खन्छन्‚
हेक्का राख्थ्यौँ
पछि मुला चाखेर पदुवा पत्ता लागाउँथ्यौँ !
मान्छेका अघि ठुलालाई जिस्क्याएर
लबटे चिउरा खान्थ्यौँ !
आजभोलि कविता त्यही मुलाबारीको
लोकविश्वास भएको छ
आजभोलि कवि यिनै चकचकको नायक
बालक भएको छ
आमा‚ बाबा‚ अन्तरे र काकाहरू
पाठक भएका छन् ।
-हाल: चैनपुर‚ सङ्खुवासभा