कवि चौलागाईँको ‘देश बाँचे म बाँच्दछु’ विमोचन
झापा २७ साउन/कवि हरिप्रसाद चौलागाईँको कविता सङ्ग्रह ‘देश बाँचे म बाँच्दछु’ को विमोचन गरिएको छ ।
सुनकोशी वाङ्मय प्रतिष्ठानको आयोजनामा आइतबार आयोजित कार्यक्रममा प्रा.डा. रामप्रसाद ज्ञवाली, प्रा.डा.लक्ष्मणप्रसाद गौतम, श्रीओम श्रेष्ठ रोदन, ठाकुर शर्मा भण्डारी, कवि चौलागाईँ, रामसुन्दर देउजा लगायतले कविता सङ्ग्रह विमोचन गरे ।
कार्यक्रममा प्रमुख अतिथि प्रा.डा. ज्ञवालीले कविताको खास कुरा भनेकै भावना भएको बताए । उनले भने, ‘कवितामा लयको माधुर्य, शब्दको सौन्दर्य र भाव हुनुपर्छ ।अनि कविता सुन्दर हुन्छ ।’
प्रा.डा. गौतमले जस्तो व्यक्तित्व त्यस्तै सिर्जना भन्दै आफू कवितामा कर्म गर्ने मान्छे भएको बताए । ‘चौलागाईँका कवितामा नेपाली कविता क्षेत्रमा कम प्रचलित छन्दहरू पनि प्रयोग गरिएको पाएँ । संग्रहित कविताहरू सरलतामा पनि गहिरो भाव दिने रहेछन्,’ उनले भने।
कृतिको चर्चा गर्दै समालोचक भण्डारीले भने, ‘कविता सिर्जना गर्दा सबै विषयहरूमा ध्यान गएको देखिन्छ । संवेदनशील भएर भावनालाई ह्रदयस्पर्शी हुने गरी कविताहरू लेखिएका छन् । ’