केन्टकी, अमेरिकाका कवि गंगाराम रिजालको कविता “क्यालिफोर्नियाको अग्निकाण्ड”

गंगाराम रिजाल पोष्ट - खगिन्द्रा खुसी · माघ १२, २०८१ ९:५८ PM
Cover Image for News

झिल्को झिल्झिलभो उठ्यो बनभरी सल्क्यो सबै जङ्गल ।

वायूयान भरीभरी जललिई बर्षा गराए तल ।।

लावा लस्करभै जुटे अरूपनि अग्नि नियन्त्रक्हरू ।

फैल्यो लौ सब राज्यमा भुँवरीभै के गर्न सक्थे अरू ।।

हाहाकार भयो सबै जन कठै पीडा कति हो कति ।

निस्के जङ्गलका डढे अरूसबै भो जीवको दुर्गति ।।

खोज्छन् केही उपाय छैन सबको हावा चल्यो बेगले ।

पानी पार्न सकेन आखिरी यहाँ धोका दियो मेघले ।।

यस्तो राज्य थियो धनाढ्य हरूनै आनन्दले बस्दथे ।

लङ्का राज्य सरी थियो सबकुरा सम्पन्नमा मस्तथे ।।

अग्ला लिफ्ट जडानका भवनमा हिँड्थे सुटुक्कै जब 

जल्दा भष्मभए निमेषभरमा के दुर्दशा भो अब ।।

छैनन् कोही सदस्यनै जलिगए गाऊँ कहाँ हो कहाँ ?

दन्क्यो दन्दन अग्निले भईदियो मुर्दा जलेझैँ त्यहाँ।।

बाँचेका अलपत्र छन् घरबिना सन्तानको शोक छ !

थाहा छैन थकाई भो कि गलियो तृष्णा छ कि भोक छ ?

वायू दूषितभो जले पशुत्यहाँ सङ्कष्टमा मानव ।

हेर्दा छैन निसानी आफ्नु घरको मात्रै खरानी सब।।

केहीछैन बचेन भष्मसब भो हुन्थेसफा साधन ।

रित्तो हातभयो रहेन बिचरा बुझ्ला कतिको मन ।।

फर्केलान् बिचरा कहाँ कसरीहो बन्दैन उस्तै घर ?

होला बास कपास गाँस सबको भो रातमा के तर ?

जुट्ला के सहयोगका रकमले बन्ला नयाँजीवन ?

यस्तो कष्ट सहेर बाँच्नु कसरी हा दैव ! आफैँ भन ?

हेर्दा स्वर्गसरी थिए नगरनै धेरैथियो बैभव ।

ठूलो राष्ट्र भएर हुन्न प्रकृति माथिकुनै लौ अब ।।

घुम्दै आउँछ दुर्दशा वरिपरी भोग्नुछ सारा यहाँ ।

आफ्नो कर्म लिएर जानुसबले पर्नेछ आखीरिमा ।।

सुन्दा कष्ट हुने सबै धरधरी रून्छन् बिलौना गरी।

कस्तो स्वर्गपुरी सरी शहरनै भस्मै गरायौ हरी ।।

सुत्केरी,असहाय वृद्ध जतिहुन् ती बालबच्चा रूने।

हाहाकार बचाऊ लौन भगवान् भन्ने पुकारा सुनेँ।।

ठूलो दैवि बिपत्तीले महलनै जल्दै खरानी हुँदा।

यस्तो दृश्य अगाडी हामी सबको बुझ्दैन मन् सँझिदा।।

चाँडै गाऊँ बनोस् फिरून् सबजना बिर्सीदिउन् यो घडी।

ठूलो आँट दिउन् पुनः प्रकृतिले सम्पन्नता होस् बढी।।

१०

आगोले मरूभूमि झैँ भईदियो दर्बार जल्दा सबै।

आशाछैन बनिन्छकी कसरी त्यो सम्भावना छैनहै ।

मिल्दा आश्रय मात्रले हितहुने छन् वेदना धर्धरी।

हे ईश्वर ! सहयोगले पुछिदिनोस् आँसु त्यहाँ क्यै गरी।।

ट्यागहरू:
सहित्य svikarokti nepalisahitya
टिप्पणीहरू
User
Devi Sharma
एक बर्ष अगाडि

दुखलाई सही शब्दले वर्णन गर्नु भएको छ। कलीफोरनियामा आगोको लफेटाले चरम दुख दिएको छ।

सम्बन्धित पोस्टहरू
सडकको रोदन
सडकको रोदन
कवि-कृष्ण धराबासी पोष्ट-दिलिप घिमिरे - सोमबार २० अप्रिल २०२६
म हरिण हुँ
म हरिण हुँ
कवि-दिल भूटानी, पोष्ट-दिलिप घिमिरे - आइतबार ५ अप्रिल २०२६
चाहना
चाहना
कवि कर्ण गुरुङ पोष्ट दिलिप घिमिरे - शुक्रबार ३ अप्रिल २०२६
तिर्खालु रहर
तिर्खालु रहर
कवि-राजिव आचार्य - शनिबार २१ फेब्रुवरी २०२६