कालेबुङमा भानु स्मृति तथा नेपाली भाषा दिवस मनाइयो

२१ अगस्त २०२४- का दिन कालेबुङको क्लुनी महिला महाविद्यालयले भानुस्मृति दिवस र नेपाली भाषा दिवस संयुक्त रुपमा पालन गरेको छ । भानु जयन्तीको सरकारी विदा १३ जुलाई र भाषा दिवस २० अगस्तमा पर्ने भए पनि यी दिनहरूमा परीक्षा परेकाले २४ अगस्तका दिन कार्यक्रम गर्नु परेको हो । कार्यक्रममा कविता गीत तथा गजल वाचन, नृत्य प्रस्तुति, रामायण पाठ तथा पुस्तक लोकार्पण गरिएको थियो । कार्यक्रममा मेहेरमान सुब्बाको समालोचनाको पुस्तक 'नारी विमर्श, लैङ्गिक अध्ययन र नेपाली उपन्यास' -को लोकार्पण गरियो । साहित्यका गम्भीर अध्येता मेहेरमान सुब्बाको यो दोस्रो समालोचनात्मक कृति हो । महाविद्यालयकी प्राचार्या डा.पुष्प माइकलको सभाध्यक्षता रहेको उक्त कार्यक्रममा प्रसिद्ध कवि डा.राजेन्द्र भण्डारीको प्रमुख आतिथ्य रहेको थियो ।




