"को थिए शङ्खधर साख्वा: ?नेपाल संवत् को नालीबेली कस्तो छ ?"

दिलिप घिमिरे · कार्तिक १७, २०८१ ८:३४ PM
Cover Image for News

"को थिए शङ्खधर साख्वा: ?नेपाल संवत् को नालीबेली कस्तो छ ?"
                               - खोलाघरे साहिंलो 

 आज  यमपञ्चकको चौथो दिन । आजको दिनलाई  गोबर्द्धन पूजा,गो(वृषभ) पूजा,हलीतिहार पनि भनिन्छ । आज गोठ,गोरुको पूजा गरिनुका साथै नेवारी संस्कार अनुसार म्हःपूजा पनि गरिन्छ । म्हःपूजा अर्थात् स्वपूजा वा आफ्नै पूजा ।

 यसवाहेक आजको दिन नेपालसम्वत्को आरम्भ भएको दिन पनि हो । यो नेपालसम्वत् नेपालको पुरानो सम्वत् हो । विक्रम सम्वत् चलेको ता १२१ वर्ष मात्रै  हुँदैछ,यो चल्नुभन्दा अघि सरकारी कामकाजमा पनि नेपालसम्वत् नै आधिकारिक सम्वत् थियो । नेपालसम्वत् प्रारम्भ गर्ने व्यक्ति शङ्खधर साख्वा थिए । उनी नवौं शताब्दीको आरम्भमा काठमाडौं तत्कालीन कान्तिपुरमा जन्मिएका थिए ।

लेखक-खोलाघरे साहिंलो
उनले वि सं ९३६ मा राजा राघवदेव( मानदेवका छोरा)बाट यो सम्वत् घोषणा गराएका थिए । भनिन्छ  यो सम्वत् मा ३५४ दिन मात्रै हुन्छन्  रे । यसको पञ्चाङ्ग पनि बनाएको छ भन्छन् मैंले खोजी गरेर हेरेको भने होइन । यही ३५४ दिन हुने कुरालाई  निहुँ बनाएर मलमास पर्दा राज्यका कर्मचारीलाई १३ महिनाको जागिर दिनुपर्छ,राज्यलाई  घाटा हुन्छ भनेर चन्द्र समशेरले वि सं १९६० देखि विक्रम सम्वत् चलाउन थालेका हुन् । तर ३५४ दिनको पञ्चाङ्ग कसरी व्यवस्था गरिएको छ भन्ने जिज्ञासा मलाई पनि भएकै छ,समाधान भेट्टाएँ भने सबैको जानकारीका लागि प्रेषण गर्नेछु । जानकार कोही हुनुहुन्छ भने यसैमा उल्लेख गरिदिनु भए म लगायत अरू जिज्ञासुको पनि कल्याण हुने थियो । अब नेपाल सम्वत् आरम्भ हुनुको आधार एउटा किम्वदन्ती रहेको छ,जुन मैंले मिडियाहरू र गूगलबाट सङ्कलन गरेको हुँ । 

प्रचलित किम्वदन्तीअनुसार ज्योतिषीहरूले निकालेको शुभ साइतमा भद्रमती र विष्णुमतीको दोभान लखुतीर्थबाट बालुवा झिकेर ल्याए त्यो वालुवा सुनमा परिणत हुन्छ भनेर भादगाउँका राजा आनन्ददेवलाई भनेछन् । सोही बमोजिम राजा आनन्ददेवले शुभ साइतमा बालुवा झिक्न भरियाहरूलाई पठाएछन् । शङ्खधर साख्वा व्यापारी थिए र उनी कान्तिपुरको मरुसत्तलका वासिन्दा थिए । यिनले शुभ साइतमा झिकेको बालुवाको भारी ल्याएको देखेछन् । 

शङ्खधरले ती भरियाहरूलाई फकाई फुल्याई पैसा र खाना दिएर त्यो वालुवा आफ्नो घरमा खन्याउन लगाएछन् र पुनः खोलाबाट बालुवा झिकी राजाले भने बमोजिम गर्न भरियाहरूलाई पठाएछन् । ज्योतिषीहरूको भविष्यवाणीअनुसार नै चार दिनपछि सो बालुवा सुनमा परिणत भयो। तर राजाको भण्डारमा खन्याएको बालुवा सुनमा परिणत भएन किन भनें त्यो बालुवा झिक्दा शुभसाइत बितिसकेको थियो । 

राजाले ज्योतिषीलाई देश निकाला गरिदिएछन् । तर भरियाहरूले बालुवा भरेका खर्पन,डोको वा जेसुकै पात्र भए पनि तिनमा सुनका कण देखिएपछि ,सोधीखोजी भयो र  यथार्थ कुरा थाहा पनि भयो । राजालाई पनि शङ्खधरको चतुर्‍याइँ थाहा भयो तर शङ्खधरको बोलबाला र पहुँच पनि निकै रहेछ भन्ने  स्वत:अनुमान हुन्छ नत्र राजाले अह्राएर ल्याएको बालुवालाई आफ्नोमा पार्नु  सामान्य जनताले गरेको भए ठुलै सजायको भागी हुनुपर्ने थियो । त्यसपछिउनले देश निकाला गरेका ज्योतिषीहरूलाई पनि फिर्ता बोलाएछन् । यता शङ्खधरले राजा राघवदेवसँग सल्लाह गरेर त्यो सुनबाट लोकको कल्याण गर्ने विचारले विभिन्न ज्योतिषहरूको राय सुझाव अनुसार उनले कान्तिपुर र भादगाउँका जनताहरूको ऋण मोचन गरिदिने निर्णय गरेछन् । जनता राजऋणबाट मुक्त भए । यही ऋणमोचनको उपलक्ष्यमा राजाको अनुमति लिएर शङ्खधरले नेपाल सम्वत् पनि शुरु गर्न सफल भए ।

 साख्वा:को घर हालको काठमाडौँको मरुसत्तलको इलाछेमा थियो भन्ने लोकोक्ति रहेको छ । उनले एउटा चैत्य कङ्केश्वरीमा बनाएको र पशुपतिनाथमन्दिरको दक्षिणमा आफ्नै प्रतिमा पनि बनाउन लगाएको बताइन्छ । शङ्खधरकै सल्लाहबमोजिम त्यसै बेलादेखि शूद्र मानिएका जातिहरूलाई पशुपतिनाथमा प्रवेश दिइएको  हो । त्यसअघि शूद्र भनिएकाहरूले पशुपतिनाथको दर्शन गर्न पाउँदैनथे ।

 आफ्नो धनबाट जनताको ऋण तिरिदिएर जनताहरूलाई ऋण मुक्त पारिदिएकाले साख्वा:लाई नेपालको तत्कालीन मन्त्रीपरिषदको निर्णय अनुसार २०५६ मङ्सिर २ गते देखि शङ्खधर साख्वालाई नेपालको राष्ट्रिय विभूतिका रूपमा घाोषणा गरिएको छ भने २०६२ कार्तिक ७ गते नेपाल सम्वत् लाई पनि राष्ट्रिय सम्वत् घोषणा गरिएको छ । कसैकसैले तिब्बतको प्रभावबाट मुक्त भएको खुशियालीमा नेपाल सम्वत् चलाएको हो पनि भनेका छन्,तर यो कारण नभएर तिब्बतको प्रभावबाट मुक्त भएको समय चाहिँ यसैबेला परेको हुनसक्छ । 

  भलो विचारका ,बहुजन हिताय काम गर्ने जोसुकैको कल्याण होस् ! 

 नेपाल सम्वत् ११४५, म्ह:पूजा,आजको गो,गोवर्द्धन,बलिपूजा र भोलिको भाइटिका समेतको अशेष शुभकामना  सबै सबैमा । यो तिहार पर्वमा हामी सबैको कल्याण होस् 

           फाकफोकथुम-४,फुएतप्पा,इलाम

ट्यागहरू:
साहित्य #पर्यटन साहित्य #जीवनी
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
आज नाट्य सम्राट बालकृष्ण समको जन्म जयन्ती
आज नाट्य सम्राट बालकृष्ण समको जन्म जयन्ती
खगिन्द्रा खुसी - शनिबार ७ फेब्रुवरी २०२६
आज धरणीधर क‍ोइरालाको जन्म जयन्ती
आज धरणीधर क‍ोइरालाको जन्म जयन्ती
खगिन्द्रा खुसी - शनिबार ७ फेब्रुवरी २०२६
महागुरु फाल्गुनन्द जयन्ती
महागुरु फाल्गुनन्द जयन्ती
दिलिप घिमिरे - मङ्गलबार ११ नोभेम्बर २०२५
गोर्खागौरव सहिद मेजर दुर्गा मल्ल र उनको बलिदान
गोर्खागौरव सहिद मेजर दुर्गा मल्ल र उनको बलिदान
कविता पौडेल शर्मा पोष्ट-दिलिप घिमिरे - शुक्रबार २३ अगष्ट २०२४