"को थिए शङ्खधर साख्वा: ?नेपाल संवत् को नालीबेली कस्तो छ ?"

दिलिप घिमिरे · कार्तिक १७, २०८१ ८:३४ PM
Cover Image for News

"को थिए शङ्खधर साख्वा: ?नेपाल संवत् को नालीबेली कस्तो छ ?"
                               - खोलाघरे साहिंलो 

 आज  यमपञ्चकको चौथो दिन । आजको दिनलाई  गोबर्द्धन पूजा,गो(वृषभ) पूजा,हलीतिहार पनि भनिन्छ । आज गोठ,गोरुको पूजा गरिनुका साथै नेवारी संस्कार अनुसार म्हःपूजा पनि गरिन्छ । म्हःपूजा अर्थात् स्वपूजा वा आफ्नै पूजा ।

 यसवाहेक आजको दिन नेपालसम्वत्को आरम्भ भएको दिन पनि हो । यो नेपालसम्वत् नेपालको पुरानो सम्वत् हो । विक्रम सम्वत् चलेको ता १२१ वर्ष मात्रै  हुँदैछ,यो चल्नुभन्दा अघि सरकारी कामकाजमा पनि नेपालसम्वत् नै आधिकारिक सम्वत् थियो । नेपालसम्वत् प्रारम्भ गर्ने व्यक्ति शङ्खधर साख्वा थिए । उनी नवौं शताब्दीको आरम्भमा काठमाडौं तत्कालीन कान्तिपुरमा जन्मिएका थिए ।

लेखक-खोलाघरे साहिंलो
उनले वि सं ९३६ मा राजा राघवदेव( मानदेवका छोरा)बाट यो सम्वत् घोषणा गराएका थिए । भनिन्छ  यो सम्वत् मा ३५४ दिन मात्रै हुन्छन्  रे । यसको पञ्चाङ्ग पनि बनाएको छ भन्छन् मैंले खोजी गरेर हेरेको भने होइन । यही ३५४ दिन हुने कुरालाई  निहुँ बनाएर मलमास पर्दा राज्यका कर्मचारीलाई १३ महिनाको जागिर दिनुपर्छ,राज्यलाई  घाटा हुन्छ भनेर चन्द्र समशेरले वि सं १९६० देखि विक्रम सम्वत् चलाउन थालेका हुन् । तर ३५४ दिनको पञ्चाङ्ग कसरी व्यवस्था गरिएको छ भन्ने जिज्ञासा मलाई पनि भएकै छ,समाधान भेट्टाएँ भने सबैको जानकारीका लागि प्रेषण गर्नेछु । जानकार कोही हुनुहुन्छ भने यसैमा उल्लेख गरिदिनु भए म लगायत अरू जिज्ञासुको पनि कल्याण हुने थियो । अब नेपाल सम्वत् आरम्भ हुनुको आधार एउटा किम्वदन्ती रहेको छ,जुन मैंले मिडियाहरू र गूगलबाट सङ्कलन गरेको हुँ । 

प्रचलित किम्वदन्तीअनुसार ज्योतिषीहरूले निकालेको शुभ साइतमा भद्रमती र विष्णुमतीको दोभान लखुतीर्थबाट बालुवा झिकेर ल्याए त्यो वालुवा सुनमा परिणत हुन्छ भनेर भादगाउँका राजा आनन्ददेवलाई भनेछन् । सोही बमोजिम राजा आनन्ददेवले शुभ साइतमा बालुवा झिक्न भरियाहरूलाई पठाएछन् । शङ्खधर साख्वा व्यापारी थिए र उनी कान्तिपुरको मरुसत्तलका वासिन्दा थिए । यिनले शुभ साइतमा झिकेको बालुवाको भारी ल्याएको देखेछन् । 

शङ्खधरले ती भरियाहरूलाई फकाई फुल्याई पैसा र खाना दिएर त्यो वालुवा आफ्नो घरमा खन्याउन लगाएछन् र पुनः खोलाबाट बालुवा झिकी राजाले भने बमोजिम गर्न भरियाहरूलाई पठाएछन् । ज्योतिषीहरूको भविष्यवाणीअनुसार नै चार दिनपछि सो बालुवा सुनमा परिणत भयो। तर राजाको भण्डारमा खन्याएको बालुवा सुनमा परिणत भएन किन भनें त्यो बालुवा झिक्दा शुभसाइत बितिसकेको थियो । 

राजाले ज्योतिषीलाई देश निकाला गरिदिएछन् । तर भरियाहरूले बालुवा भरेका खर्पन,डोको वा जेसुकै पात्र भए पनि तिनमा सुनका कण देखिएपछि ,सोधीखोजी भयो र  यथार्थ कुरा थाहा पनि भयो । राजालाई पनि शङ्खधरको चतुर्‍याइँ थाहा भयो तर शङ्खधरको बोलबाला र पहुँच पनि निकै रहेछ भन्ने  स्वत:अनुमान हुन्छ नत्र राजाले अह्राएर ल्याएको बालुवालाई आफ्नोमा पार्नु  सामान्य जनताले गरेको भए ठुलै सजायको भागी हुनुपर्ने थियो । त्यसपछिउनले देश निकाला गरेका ज्योतिषीहरूलाई पनि फिर्ता बोलाएछन् । यता शङ्खधरले राजा राघवदेवसँग सल्लाह गरेर त्यो सुनबाट लोकको कल्याण गर्ने विचारले विभिन्न ज्योतिषहरूको राय सुझाव अनुसार उनले कान्तिपुर र भादगाउँका जनताहरूको ऋण मोचन गरिदिने निर्णय गरेछन् । जनता राजऋणबाट मुक्त भए । यही ऋणमोचनको उपलक्ष्यमा राजाको अनुमति लिएर शङ्खधरले नेपाल सम्वत् पनि शुरु गर्न सफल भए ।

 साख्वा:को घर हालको काठमाडौँको मरुसत्तलको इलाछेमा थियो भन्ने लोकोक्ति रहेको छ । उनले एउटा चैत्य कङ्केश्वरीमा बनाएको र पशुपतिनाथमन्दिरको दक्षिणमा आफ्नै प्रतिमा पनि बनाउन लगाएको बताइन्छ । शङ्खधरकै सल्लाहबमोजिम त्यसै बेलादेखि शूद्र मानिएका जातिहरूलाई पशुपतिनाथमा प्रवेश दिइएको  हो । त्यसअघि शूद्र भनिएकाहरूले पशुपतिनाथको दर्शन गर्न पाउँदैनथे ।

 आफ्नो धनबाट जनताको ऋण तिरिदिएर जनताहरूलाई ऋण मुक्त पारिदिएकाले साख्वा:लाई नेपालको तत्कालीन मन्त्रीपरिषदको निर्णय अनुसार २०५६ मङ्सिर २ गते देखि शङ्खधर साख्वालाई नेपालको राष्ट्रिय विभूतिका रूपमा घाोषणा गरिएको छ भने २०६२ कार्तिक ७ गते नेपाल सम्वत् लाई पनि राष्ट्रिय सम्वत् घोषणा गरिएको छ । कसैकसैले तिब्बतको प्रभावबाट मुक्त भएको खुशियालीमा नेपाल सम्वत् चलाएको हो पनि भनेका छन्,तर यो कारण नभएर तिब्बतको प्रभावबाट मुक्त भएको समय चाहिँ यसैबेला परेको हुनसक्छ । 

  भलो विचारका ,बहुजन हिताय काम गर्ने जोसुकैको कल्याण होस् ! 

 नेपाल सम्वत् ११४५, म्ह:पूजा,आजको गो,गोवर्द्धन,बलिपूजा र भोलिको भाइटिका समेतको अशेष शुभकामना  सबै सबैमा । यो तिहार पर्वमा हामी सबैको कल्याण होस् 

           फाकफोकथुम-४,फुएतप्पा,इलाम

ट्यागहरू:
साहित्य #पर्यटन साहित्य #जीवनी
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
गोर्खागौरव सहिद मेजर दुर्गा मल्ल र उनको बलिदान
गोर्खागौरव सहिद मेजर दुर्गा मल्ल र उनको बलिदान
कविता पौडेल शर्मा पोष्ट-दिलिप घिमिरे - शुक्रबार २३ अगष्ट २०२४