जिन्दगानी किताब
जे जे पढ्छौँ नियमित सबै चाहिँदै चाहिँदैनन्
जे चाहिन्छन् सहजसित ती पाइँदै पाइँदैनन् ।
जान्यौँ जे त्यो हरपल कतै काम लाग्दैन खास
शिक्षाको यो कठिन पथ हो मर्मभेदी हिसाब ।।
भोक्ता हामी विषय कति हुन् पढ्नुपर्ने अपार
भोगी आफैँ महसुस गरी खिच्दछौँ चट्ट सार ।
छैनन् ठेली, गुरुजन कुनै सारिणी, पाठशाला
दिन्छन् शिक्षा कतिपय कुरा लाभकारी निराला ।।
लज्जा ढाक्ने कठिन पलमा पातलो हुन्छ धोती
सेतो कालो रङ छ घनको गर्जिई छर्छ मोती ।
हाँसेका छन् कुसुम जसको जिन्दगानी छ छोटो
'आत्मज्ञानी' हुन नसकिए पढ्नु के ग्रन्थ मोटो ?
पढ्दै भोग्दै नियमित जहाँ देखियो तालमेल
त्यो शिक्षाले सहजसित नै बुझ्छ संसार खेल ।
खोजी छानी नियम नबुझी सूत्र घोकौँ तथापि
भारी कार्यान्वयन नहुने ज्ञान कोरा किताबी ।।
दिन्छन् आफ्नै अनुभवहरू सारभोगी सुशिक्षा
लिन्छन् हाम्रो असहज घडी धीरताको परीक्षा ।
राखुन् मान्छे निज हृदयमा चित्र कोरेर देश
खाली गोजी, उदर गुरु हुन् जिन्दगीका विशेष ।।
✍️वासुदेव पाण्डेय