इन्द्रेणी प्रकाशनले गर्यो छ वटा पुस्तक लोकार्पण

दिलिप घिमिरे · फागुन १८, २०८१ १२:०१ PM
Cover Image for News

फागुन १८गते/पद्मश्री लीलबहादुर क्षेत्रीको ९३ जन्मोत्सवको अवसरमा इन्द्रेणी प्रकाशनद्वारा  छ वटा पुस्तक शनिबार विमोचन गरिएको छ। 

आख्यान पुरुष क्षेत्रीका सम्पूर्ण कृतिहरूको पुनः प्रकाशन गरेर इन्द्रेणी प्रकाशनले ऐतिहासिक महत्वको कार्य गरेको छ। 

विमोचित पुस्तकहरूको संक्षिप्त परिचय इन्द्रेनी प्रकाशन असमले यसरी प्रस्तुत गरेको छ। 

फोटो

१. अतीतका ऐनाभित्र विविध झाँकी
   विधा : निबन्ध
   लेखक : लीलबहादुर क्षेत्री
   सम्पादक : डा. खगेन शर्मा
   प्रकाशक : लीलबहादुर क्षेत्री फाउन्डेसन
   प्रथम प्रकाश : १ मार्च,२०२५
   मोल : ३३० रुपियाँ
    नेपाली साहित्यमा आख्यानकारका रूपले पर्याप्त ख्याति कमाएका र शिक्षा र साहित्य क्षेत्रमा पुर्‍याएको योगदानको लागि भारत सरकारद्वारा 'पद्मश्री' जस्तो सम्मानले सम्मानित बहुमुखी प्रतिभाधर लीलबहादुर क्षेत्रीको प्रस्तुत पुस्तकमा  क्षेत्रीले प्राय: पाँचदशकभित्र विभिन्न पत्र-पत्रिकाका लागि लेखेका ३३ वटा निबन्ध सङ्कलित छन्। वस्तुपरक यी निबन्धहरूमा नियात्रा, संस्मरण, ऐतिहासिक दस्तावेज, पुस्तक समीक्षा, धार्मिक र ऐतिहासिक स्थानको विवरण, विशिष्ट व्यक्तिहरूको व्यक्तित्व र कृतित्व समावेशित छन्। पुस्तकको भूमिकामा प्रख्यात साहित्यकार डा गोविन्दराज भट्टराईले नेपाली साहित्यमा क्षेत्रीको योगदान छर्लङ्ग पार्नुभएको छ। पुस्तकमा असमका कवि-समालोचक रुद्र बरालको शुभकामना पनि समावेशित छ। यस पुस्तकमा असमको गोर्खाली जनसमुदायको इतिहासका विभिन्न अलिखित पाटाहरू उजागर गरिएको छ।

२. लीलबहादुर क्षेत्री उपन्यास समग्र
  विधा : उपन्यास
   लेखक : लीलबहादुर क्षेत्री
   सम्पादक : रुद्र बराल र
          ढाकाराम काफ्ले
   प्रकाशक : इन्द्रेनी प्रकाशन, असम
    प्रथम प्रकाश : १ मार्च,२०२५
   पृष्ठ सङ्ख्या : ६६८
   मोल :  ६८० रुपियाँ
      'लीलबहादुर क्षेत्री उपन्यास समग्र' क्षेत्रीले सन् १९५७ देखि २००४ सम्म लेखेका चारवटा उपन्यास 'बसाइँ', 'अतृप्त', 'ब्रह्मपुत्रका छेउछाउ' र 'प्रतिध्वनिहरू विस्मृतिका समावेशित छन्। बसाइँ उपन्यास नेपाली साहित्यको सर्वाधिक बिक्री भएको आख्यान हो भने 'अतृप्त' पूर्वोत्तर भारतको पहिलो मनोवैज्ञानिक उपन्यास हो।  प्रस्तुत पुस्तकको लामो सम्पादकीयमा पूर्वोत्तर भारतबाट सन् १९२९ देखि २०२४ सम्म प्रकाशित उपन्यास र उपन्यासकारको सूची  राखिएको छ र यस भेकको उपन्यास साहित्यको संक्षिप्त इतिहास छ। सम्पादकीयमा भारत सरकारद्वारा पद्मश्री सम्मानले सम्मानित क्षेत्रीको सामग्रिक साहित्यिक योगदानको विश्लेषण र प्रकाशित पुस्तकको सूची पनि राखिएको छ। यसमा उनका चारैवटा उपन्यासको प्रवृत्तिगत विश्लेषण पनि पाइन्छ।
फोटो
३. पाँच प्रसिद्ध गोर्खा 
    विधा : निबन्ध 
   लेखक : ज्ञानबहादुर क्षेत्री
   प्रकाशक : इन्द्रेनी प्रकाशन, असम
   प्रथम प्रकाश : १ मार्च,२०२५
   पृष्ठ सङ्ख्या : ७४
    मोल : २०० रुपियाँ
      विद्यालय-महाविद्यालयका छात्रा-छात्राहरूको माग पुरा गर्न लेखिएको 'पाँच प्रसिद्ध गोर्खा' असमका वरिष्ठ समालोचक ज्ञानबहादुर क्षेत्रीको एक्काइसौँ पुस्तक हो।  प्रस्तुत पुस्तकमा पाँचजना गोर्खा गौरवको व्यक्तित्व र कृतित्व सहज-सरल भाषामा तथ्यात्मक तरिकाले व्याख्या गरिएको छ। यस पुस्तकमा भएका पाठहरू यस प्रकार छन्- ① युगपुरुष डम्बर सिंह गुरुङ, ② स्वाधीनता सङ्‌ग्रामी छबिलाल उपाध्याय, ③ श्रमिक नेता दलवीर सिंह लोहार, ④ नरबहादुर भण्डारी : भारतीय गोरखीका सान र मानका प्रतीक तथा⑤ वाङ्‌मयका साधक, समाज सुधारक मित्रसेन थापा। 
  यस पुस्तकले असमको जीवनी साहित्यको खाँचो केही मात्रामा पुरा गर्नेछ भन्ने आशा गर्न सकिन्छ। 

४.उत्तरण
विधा- लघुकथा 
कथाकार - इन्दिरा गौतम 
प्रकाशक - सहदेव गौतम 
प्रकाशन मिति - नोभेम्बर,२०२४
सङ्कलित कथा सङ्ख्या - ७० 
मूल्य - १५० रुपियाँ
पृष्ठ -८८
        'उमङ्ग' लघुकथा प्रकाशित गरेर लघुकथाकारका रूपमा निकै प्रसिद्धि कमाएकी इन्दिरा गौतमको  दोस्रो साहित्यिक कृति 'उत्तरण' पनि लघुकथाकै सँगालो हो। यस सङ्ग्रहभित्र सँगालिएका ७० वटा लघुकथा प्रेमका नाउँमा नारीप्रति राखिएको पितृसत्तात्मक मानसिकताको विरोधको उद्गार पोख्तै आरम्भ हुन्छ र पारिवारिक द्वन्द्व, पिँढीको व्यवधान, अन्धविश्वास, विभिन्न सामाजिक विसङ्गति, नारी अस्मिता, जातीय चेत, मानवीय व्यवहार आदिलाई सम्बोधन गर्छन्। सरल भाषामा लेखेका उनका लघुकथाहरूमा  प्रचुर व्यङ्ग्य छ। प्रस्तुत सङ्ग्रहका भूमिकाकार अमेरिका निवासी खेमराज  पोख्रेलले भूमिकामा लघुकथाको परिभाषा, सैद्धान्तिक स्वरूप आदिको व्याख्या गरेका छन् भने असमेली साहित्यकार मोहन सुवेदीको शुभकामना सन्देश रहेको छ। 

५. आमाका लुर्कन 
विधा - कविता
कवि - पुरुषोत्तम उपाध्याय दाहाल
प्रकाशक - पूर्वायण प्रकाशन
प्रकाशन मिति - मार्च १, २०२५
मूल्य - २५० 
      'पातको फिरफिरे' कविता सङ्ग्रहपछि 'लोहितकिनारका गोठ र गोठालाहरू' शीर्षक सृङ्ख्यला कथा सङ्कलन प्रकाशित गरेर निकै चर्चामा आएका र 'गोठाले कवि' नाउँले चिनिन थालेका पुरुषोत्तम उपाध्याय दाहालको 'आमाका लुर्कन'  कविताको दोस्रो कृति। यस कृतिमा सर्वमुठ १०३ वटा रचना सङ्कलित छन्। कविताका साथै यहाँ गोठाले गीत, मुक्तक, गोठाले गजल र चारु पनि  सङ्कलित गरेको पाइन्छ। पुरुषोत्तमका रचनाहरूमा गोर्खाली जनजीवको धुकधुकी पाइन्छ। 

६. ओझेलका प्रवर
विधा - कविता 
कवि - थमन कोइराला
प्रकाशक -  पूर्वायण प्रकाशन
प्रथम प्रकाश - मार्च, २०२५
कविताको सङ्ख्या -६२
मोल - २००/
     धेरै अघिदेखि साहित्य सिर्जनामा लागिरहेका भए पनि 'ओझेलका प्रवर' कविता सङ्ग्रह कवि थमन कोइरालाको पहिलो प्रकाशित कृति हो। यस कृतिलाई वरिष्ठ कवि मोहन सुवेदीको भूमिका तथा पद्मश्री लीलबहादुर क्षत्री र पुरुषोत्तम उपाध्यायका शुभकामनाका हरफहरूले सजाइएको छ। भूमिकाकार मोहन सुवेदी भन्छन्, "थमन कोइराला  एकजना प्रचुर सम्भावनाशील काव्यकारको रूपमा अहिले असमेली साहित्यमा उभिएका छन्।"  यस सङ्‌ग्रहभित्र कविताका साथै केही गीत पनि सङ्‌कलित छन्। कविता र गीतहरू हृदयस्पर्शी, सहज, सरल बोधगम्य हुँदाहुँदै गहन भावमा रुमलिएका छन्। उनका कवितामा वैयक्तिम प्रेम, पीडा, जातीय सङ्‌कट, देशप्रेम, मानवीय भावना आदि पाइन्छ ।

ट्यागहरू:
विश्व साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।