हुन्न ?

उद्धव न्यौपाने पोष्ट-दिलिप घिमिरे · असोज २२, २०८१ ५:१० PM
Cover Image for News


 कविता 
 हुन्न ?
               ✍️ उद्धव न्यौपाने
 सुनाखरीको बैँस फुल्ने नै 
 बुकुवाको शिरानडाँडा न हो
 लुइँचे बास्दा नबास्दै
 त्यहीँ आउँछ 
 लाली घाम
 इन्द्रेणीको सातै रङ्गमा खेल्नु
 तिमी पनि आँखाभरि उर्वर जवानी लिएर आउनु
 शिरानडाँडा
 त्यहीँ बिसाउँला
 तिम्रा थुन्सेका केही थान उत्ताउला सपना
 हुन्न ?

त्यति चाँडो आऊ
 हाम्रो भेट लाली घामले नदेखोस्
 त्यहीँ गन्काउँला, गुन्जाउँला
 बुकुवाली हाकपारे
 मारुनी, रोदीका लहरे भाका
 त्यो बेला हामीलाई
 समयले साँच्न नसकोस् हुन्न ?

म पनि बोकिल्याउने छु
 ढाकरको छातीभरि
 सिउँदो सजाउने लालीगुराँस
 त्यो उदाउँदो बिहान
 जनजाति घाट तल
 सेतै कोदो फुलेको होस् वा
 पहेँलपुर तोरी
 तोरीको फूलमा प्यासी भमराको क्रिडा देखेर
 तिमीले पनि माया मार्नु जन्मघर हुन्न ?

मयुरले पखेटा फिँजाउनु अघि
 मैनाले बिहानीको घुम्टो उघार्नु अघि
 आकाशले शित खसाल्नु अघि 
 भरिसक्के बुकुवा पोखरी सुतिसकेको होस्
 उठेकै नहुन
 आँपझोला धारोका पँधेर्नी
 हिँडेकै नहुन रतुवा, मावाघाटका बटुवाहरु
 अन्धाराजा दर्शन गर्ने भक्त पनि
 अझ तिमी आउँदा सुनसान होस्
 हुरीभञ्झ्याङको नाङ्गे चुली
 ढाडे, तिर्तिरे हाङदेवाको दोभाने गल्ली
 हुन्न ?

उहिले पहिले
 तिर्तिरेको उत्पतिमा
 बुकुवाको समाने देउ
 गुलेली मट्याङ्ग्रा खेलाई हिँड्ने पनि
 तिर्तिरे शिरानडाँडा न थियो
 युमासाम्माले सुनको थुन्सेभरि
 भैरुङपाती बोकेर
 काली ओढारमै अल्पेपछि
 खाली भइआको न हो शिरानडाँडा
 डाँडाभरि खोपी पठाउँ न
 पिरतीको अजम्बरी खेती हुन्न ?

धिमाल खोल्सी खोल्सी
 उकालो चढ्दै गर्दा
 मृर्ग मृर्गसाबकहरुले देख्न सक्छ
 बँदेलको जत्थाले बाटो रोक्न सक्छ 
 सिकारीले लखेटेका कालिज र लुँइचेले
 आकाशको जुन छेक्न सक्छ
 फडिरेको मस्टो वनझाँक्रिले बजाई हिड्ने
 ढ्याङ्ग्रोको ढ्याङ्ग–ढ्याङ्ग आवाजले 
 वनविहार पुर्याएर अल्पिन सक्छ ।
 रोक्न नसकुन भनेर
 तिम्रो पाइतालाको बिसाउँनी
 दाहाल डाँडाको लालुपाते चुँडेर
 साँधु गल्लीको भस्मेमाथि
 मेरो नाममा
 युमासाम्मा बक्साई पठाउनु हुन्न ?

भाकेर युमासाम्मा
 उडाएकै छु जोर–जोर परेवा
 चढाएकै छु जलधारा तिरतिरेको
 लु कसम अन्दाराजा कसम
 घाम नझुल्कि काली ओडारमै
 चढाएकै छु धारा दुधको पनि
 बिसाई राख्दा
 हाङदेवा चौतारोमा दुई आत्मा
 त्यो क्षण युमासाम्माले
 आँखा चिम्लिबसे हुन्न ?

दोभानेबाट
 घाँस बोकी फर्केको त्याङ्बेले पनि
 संसारी थुम्की मै
 बाख्रा लखेट्दै गरेकी नाक्चीलाई भेटेर
 अन्यन्त्र सट्टा भर्ना नजाने कसम खाएकै हो
 प्रति उत्तरमा नाक्चीले पनि भनेकी हो
 “मरिगयुङ्ग भने पनि
 चालाचुलीमै मरुङ्ला
 तिम्रो कसम त्याङ्बे
 बाँचि गयूङ्ग भने पनि
 बुकुवामै घरबार गरुङ्ला”
 नाक्चीले झैँ तिम्रो मुखले
 मनको बैँश बोले हुन्न ?
 शुभ साइत पारि
जोडी चखेवा
  भुर्र उडे हुन्न ?
                         - चुलाचुली, इलाम 

ट्यागहरू:
साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
बुवाको पुकार
बुवाको पुकार
कर्ण गुरुङ पोष्ट - खगिन्द्रा खुसी - शुक्रबार १८ अक्टोबर २०२४
दशैैं विशेष कविता
दशैैं विशेष कविता
पोष्ट खगिन्द्रा खुसी - शनिबार १२ अक्टोबर २०२४
नारीहरूप्रति
नारीहरूप्रति
खोलाघरे साहिँलो पोष्ट खगिन्द्रा खुसी - शुक्रबार ११ अक्टोबर २०२४
साम्राज्य
साम्राज्य
कविता शर्मा पौडेल पोष्ट-दिलिप घिमिरे - आइतबार २९ सेप्टेम्बर २०२४