हजुरबाले नबुझेको गणतन्त्र

विरही अधिकारी · जेठ ३०, २०८१ ९:१६ PM
Cover Image for News

हजुरबाले गायत्री मन्त्र जप्न छाडेर
सधैं गणतन्त्र जप्नु हुन्थ्यो । 
गणतन्त्र, गणतन्त्र भनिरहँदा
नबुझेर म प्रश्न गर्थे 
गणतन्त्र किन जपेको हजुरबा ?
हजुरबा भन्नुहुन्थ्यो “भ्रष्टाचारको एसिड छर्किएर 
देशको मुहार विकृत छ
व्यभिचार र वेथितिको सीमा भत्किएर
समाज रुपान्तरणको पर्खाइमा छ
जन अभिमतबाट बाङ्गिएको छ ।
दया, पखालेर विवेक फुकालेर
समाज नाङ्गिएको छ, 
गणतन्त्र चाहिन्छ–
बलिदानको ब्याख्या गर्दै भन्नुहुन्थ्यो
गणतन्त्र चाहिन्छ ।
अझै कुरा नबुझेर म भन्थें
गणतन्त्र कस्तो हुन्छ हजुरबा?
हजुरबा भन्नुहुन्थ्यो–
गणतन्त्र–खश्रो हुँदैन, मसिनो हुन्छ
कठोर हुँदैन, कोमल हुन्छ, 
फुस्रो हुँदैन, चिल्लो हुन्छ
कालो होइन, उज्यालो हुन्छ,
यसै भन्नु हुन्थ्यो ।
गणतन्त्र–खडेरी होइन वर्षा हुन्छ
आवाज होइन, स्पर्श हुन्छ ।
आफ्नै हातले कोरेको संविधान हुन्छ 
रूढिवादको धमिलो फाटेर
स्वतन्त्र विहान हुन्छ ।
फटाहाहरुको वर्चस्व हराउँछ
सिकारी पनि निर्दोष चराहरुलाई 
गुलेली हान्न डराउँछ
साँडे बालीमा पस्न पाउँदैन
निरङ्कुशताले यति ठूलो गुँड लाउँदैन
अझै सुन्छस् बाबु?
गणतन्त्रमा–
सत्तामा जङ्ग बहादुरको गन्ध हुँदैन
समानताको शङ्खघोष पछि
देश कहिल्यै बन्द हुँदैन
यसै भन्नु हुन्थ्यो
बुझेर वा नबुझेर हो
यसै भन्नु हुन्थ्यो
यसै भन्दै वित्नु भयो
अहिले गणतन्त्र आयो
हजुरबाले भनेको जस्तो त आएन
मैले सोचेको जस्तो पनि त आएन
गणतन्त्र चिल्लो होइन फुस्रो आयो
मसिनो होइन खस्रो आयो
उज्यालो होइन कालो आयो
देशलाई नयाँ पहिरन चाहिन्थ्यो
तर पुरानै फटेको टालो आयो
कोमल होइन कठोर आयो
भ्रष्टाचारका खम्बाहरु नढाली आयो
अँध्यारोमा छामछुम गर्दै बत्ती नबाली आयो
हजुरबाले भनेको मैले नबुझेर हो
वा हजुरबाले नै नबुझेको हो ।
गणतन्त्र त आयो –
तर संविधानको पत्रमा मात्र आयो
सदनको वन्दसत्रमा मात्र आयो
ठालुहरुकै बोलवाला धान्दै आयो
पुरानै ढाँचाका दसैं तिहार मान्दै आयो
हो गणतन्त्र सिकिस्त बिरामी भएर 
अस्पताल सोद्धै आयो
शल्यक्रियाको चिकित्सक खोज्दै आयो
झन्डै-झन्डै
कालो परम्परा नै ओडेर आयो
मान्छे, मान्छे भएर बाँच्ने नीति छोडेर आयो
गणतन्त्र आयो
न हजुरबाले बुझेजस्तो आयो
न मैले बुझेजस्तो आयो ।
तर अनुहार बिगारेर आयो ।
ठुल्ठुला महल नै सिंगारेर आयो
आयो ! गणतन्त्र आयो
तर नियत विगारेर आयो !
२०७६/३/१५

                                                                            स्रष्टा भद्रपुर- ७ चन्द्रगढी निवासी हुनुहुन्छ ।

ट्यागहरू:
सहित्य कविता literature
टिप्पणीहरू
User
लक्ष्मण अधिकारी
३ महिना अगाडि

सुन्दर कविता।

सम्बन्धित पोस्टहरू
मेरी मायालु आउने दिन
मेरी मायालु आउने दिन
दुर्गा खतिवडा पोष्ट -दिलिप घिमिरे - सोमबार १६ सेप्टेम्बर २०२४
भगवानसँग  रिसाएको मान्छे
भगवानसँग रिसाएको मान्छे
कर्ण गुरुङ पोष्ट - खगिन्द्रा खुसी - बुधबार ११ सेप्टेम्बर २०२४
भोक
भोक
देवान किताती पोष्ट-दिलिप घिमिरे - मङ्गलबार १० सेप्टेम्बर २०२४