गाउँ , गाउँजस्तो छैन अचेल
गाउँ , गाउँजस्तो छैन अचेल
-विवश बलिभद्र कोइराला
अर्मपर्म चल्दैन
सापटी , उधारो र ऐँचोपैंचो
केही चल्दैन
आसामीहरु
किस्ता,मिटिङ र अभियान
अनि भत्ता चिन्छन्
साहुहरु
गोष्ठी ,सेमिनार, भ्रमण र भविष्य चिन्छन्
गाउँ , गाउँ जस्तो छैन अचेल
नाफा, नोक्सान,बोनस र वृत्ति विकासका
कम्पनीहरु खुलेपछि
कोही, कोहीभन्दा कम छैनन्
छ त केवल
गाउँले मानिसहरुका मलिन अनुहारहरुमा
गाउँको सुगन्ध
धमिलो हुँदै गएका आँखाहरुमा
भरोसा र विश्वासको तरङ्ग।
मान्छे जुट्दैनन् चौताराहरुमा
साट्दैनन् आपसमा दु:ख
पोख्दैनन् कोही कसैसँग गुनासो
लाग्छ दुःख भन्ने चिजै छैन कसैसँग
गाउँ , गाउँ जस्तो छैन अचेल
एक्ला अनुहारका
एक्ला उद्देश्यका
एक्ला स्वार्थका
भव्य पसल खुलेपछि
एक्ला ग्राहकहरुको हुल छ पसलमा
त्यहीँ बिक्छन्
माया , प्रेम, सद्भाव र भरोसाका उत्पादनहरु
त्यहीँ किनिन्छन्
घृणा, स्वार्थ र वितृष्णाका सौदाहरु
र फर्कन्छन् घरमा
बास बस्न,
सुन्दर प्लास्टिकका फूलजस्ता
मान्छेहरु।
अचेल साझा हुदैन हिउँद
साझा हुदैन बर्खा
उत्सव, महोत्सव , जन्ती ,मलामी
शोक, रमझम
सफलता,असफल्ता केहीले
कसैलाई छोए झैं लाग्दैन
दुखाए झैं लाग्दैन
चिनाए झैं लाग्दैन
गाउँ, गाउँजस्तो छैन अचेल
जन्ती आडम्बर हेरेर फर्किन्छ
मलामी झण्डा हेरेर फर्किन्छ
उत्सव, महोत्सव
स्वार्थ हेरेर फर्कन्छ
टोलैभरि
तेरा, मेरा र हाम्रा
आ-आफ्ना स्वार्थका
शिक्षालय खुलेपछि
एक्लो भएको छ गाउँ
एक्लो भएको छ
नदी, खोला,देउरालीको सौन्दर्य
त्यसैले
गाउँ गाउँजस्तो छैन अचेल।