एउटा पागल युग
एउटा पागल युग
-नैना अधिकारी
असहाय पीडाका पिँजडामा थुनिएका भावनाहरू
हल्लिन्छन् चारैतिर
पिपलको रङ्गहीन साम्राज्यमा
निरन्तर चिच्याइरहेछ
एउटा डराएको काग
सुनसान गल्लीहरूमा
एक बेसुरा गीत गुन्जिन्छ
थकित कुकुरहरू लपलपाँछन् जिब्रो
उकेलिदिन्छन्
आफ्नो र्यालमा
मरेको सहर
अपच यथार्थ
यहाँ कुकुरले पाकेको मासु
मानिसले काँचो मासु खान्छन्
टिभीको ब्रेकिङ न्युज
सुगन्ध भरिएको छ
सम्पूर्ण मृत सहरमा
पकाएको मासुको,
साँप्राको, कपालको
पुस्तकमा पोतिएका तेजस्वी कविताहरूजस्तै
केटीहरूको
सहरका विस्तृत भूखण्डमा
चुपचाप बग्छ
एउटा निलो नदी
रुन्छ
आँसु झार्न नसकेको दु:खमा
अट्टालिकाहरूमा
मैथुनरत
कुकुर र गिद्धहरूले
सेकिरहेछन्
आफ्ना शरीरका अङ्गहरू
चुपचाप
म एक्लै बग्छु,
दुर्गन्धित नदीको बगाइ र
मेरो बगाइको हिसाब जोड्दै
बोल्न जान्दछु जस्तो लाग्थो हिजोसम्म
तर,
एक चुप्पीकासाथ बग्दै जान्छु
राखिदिन्छु हात
एउटा भत्किएको घरमाथि
जहाँ सङ्गमरमरको छतमाथि
मैले हत्या गरेको थिएँ
एउटा सहरको
एउटी अपरिचित केटीको
भागेको थिएँ
विवेकहीन भएर
लगाइदिएथेँ आगो घरघरमा
आज पनि त्यो आगो सल्किरहेछ
सहरका घरभित्रका मनभित्रभित्रै
जलिरहेछन्
खेत, खलियान
शरीर
छाती र स्तनका जोडी
सजिएको छ आज चारैतिर
मृत्युु भोग
म खुसी छु -
आज म नाच्नेछु
अनि
पिउनेछु
रगत र बोसोसहितको रक्सी !
यो युगलाई प्रतिनिधित्व गर्न सक्ने
ममा योग्यता छैन!!
ऐना हेर्छु
ऐनाभित्र मजस्तै एउटा पागल युग
उभिरहेको छ।
-असम गुवाहाटी
(कवि नैना अधिकारी साहित्य अकादमी २०२३ युवा पुरस्कारबाट सम्मानित प्रतिभा हुन्। सं.)
एक जाना उजस्वि कवि जो आफ्नु पीडा शब्दमा उतार्नु सक्षम भएको देखिन्छ।