एउटा कथा लेखिदिनू मेरो नाउँमा
मध्यरात
खुल्ला आकाशमा
पूर्णिमाको जून
धपधपी बलेझैं,
प्रणय दिवसको अवसरमा
सामाजिक सञ्जालका भित्ताहरूमा
सुन्दर तस्विहरु सजिए झैं
बडो स्नेहले , श्रद्धा र प्रेमले
सजाइरहेछु प्रिये,
छातीभित्र तिमीलाई ।
यद्यपि बुझेको छु मैले
पूर्णीमाको जून
सक्तैन अवतरण गर्न धर्तीमा
सामाजिक सञ्जालका भित्ताहरुमा सजिएका
सुन्दर तस्विरहरु सक्तैनन् बोल्न
अवाक छन् ती निर्जीव आकृतिहरु
फगत सीमित छन्
सामाजिक सञ्जालकै भित्ताहरुमा
थाहा छैन मलाई प्रिये
खै! कस्तो प्रेम हो यो
कस्तो आकर्षण हो यो
कस्तो आत्मियता हो यो
तिमी प्रतिको ?
फगत एकोहोरो !
नितान्त एकोहोरो !!
बुझेको छैन मैले
बुझौं पनि कसरी
तिमी भित्र के छ ?
नदीका दुई किनार हामी
जसको मिलन हुनै सक्तैन
धर्ती र आकाश
कहिल्यै एक हुनै सक्तैन
तथापि
किन छाइरहन्छौ तिमी ? सधैंसधैं
किन आइरहन्छौ तिमी? सधैंसधैं
मेरो मन मुटुहरुमा ।
मेरा प्रत्येक सपना र
विपनाहरुमा !
मेरो विन्ती छ प्रिये, तिमीसित
कृपया, म अस्ताएँ भने
कुनै दिन यो संसारबाट
वा बिलाएँ भने यो धर्तीबाट
यौटा कथा लेखिदिनु
मेरो नाउँमा
कहिल्यै नओइलाउने
पवित्र प्रेमको फूल चढाइदिनु
मेरो पार्थिव शरीरमा
झर्यो भने श्रद्धाका दुईथोपा आँसु
तिम्रो नयनबाट
तप्पतप्प झारिदिनु
मेरो समाधिस्थलमा
र कतै खाली भए थोरै ठाउँ
राखिदिनु मेरो स्मृति
तिम्रो हृदयको एक कुनामा।
देवीचरण भण्डारी "सरोज"
चन्द्रगढी- झापा