एक मृत्यु घोषणा
हिँड्दा हिँड्दै पुगे
एकछिन टक्क उभिनू त्यो बर-पिपलको छेउमा
ओरालो बगेको खोलामा ओरलैतिर फर्किएर सोध्नू
कस्को हो यो मृत्यु ?
छेवैमा बूढेसकाल जमाएका बूढाबूढीले भन्नेछन्
पिपलको पातजस्तो हो जीवन, एकदिन त झर्नै पर्नेछ पत्कर बनेर
बर-पिपल टेक्तै जाने हावाजस्तो हो जीवन, बहनै पर्छ पहाडमा ठोक्किएर
हो यो मृत्यु पनि ठ्याक्कै बसन्तऋतुसँगै झर्ने
पुरानो पात हो
यो मृत्यु पर्वतसँग जुध्न हिँडेको मेघसहितको बादल हो ।
मान्नू ! सत्य मान्नू !
एक अनुपम उत्सव हो यो मृत्यु ।
यही उत्सव मनाउन
ए झ्याउँकिरी हो ! आओ संगीत बजाओ
ए जुनकिरी हो ! दियो बालेर जाओ म जाने बाटोसँगै
दलिनका गौँथलीहरुले संगीत भरुन्
र परेवाहरुले परपरसम्म पुर्याउन् धून
बासका पातमा नाच्ने ए हावा !
उसैगरी रमाएर जानू पहाडतिर गुराससँग खेल्न ।
सूर्याग्निमाथि उभिएर नुहाउन चाहन्छु
आकाशबाट धरतीमा हाम फाल्दै गरेको तृषित जूनको बैँसले
म सडकको मान्छे सडकमै उभिएर हेर्न चाहान्छु
घाम देखेपछि मुस्कुराउँदा मुस्कुराउँदै ओइलिएको
सूर्यमुखीको थुङ्गा
मैले देख्न नपाएका पुर्खाका अनुहारमा लिपिएको ताराको धिपधिप
हेर्दा हेर्दै तीनै धिपधिपमा मिसिन चाहान्छु पुर्खा हुन ।
ओ जून !
साक्षी बसेर सत्यको, मलाई मिसिन दे तारापुञ्जमा
पुर्खाको छेवैमा बसी नीलो आकासको चम्किलो तारा भएर
मात्र, एकदिन म आफैँ हिँड्ने गोरेटो हेर्न चाहन्छु ।
त्यसदिन पनि पिठ्युँमा घाम बोक्ने बिहान
उसैगरी झर्नेछ आँगनको डिलमा खुत्रुकखुत्रुक र
नाच्नेछ केटाकेटीसँग
बादलको मजेत्रो ओढेर हिमाली गाउँपारिको डाँडामुनि
निदाउनेछ रातभरि घाम
र चरा ब्युँझिनासाथ डाँडामाथि उक्लिएर हेर्नेछ विशाल
आकाशमुनिको पृथ्वी
नदीहरुले लेख्ने गरेका चीसा जमीनमा फल्ने अन्नका
गेडाहरु तीनै हुनेछन्
तीनै हुनेछन् इन्द्रेणीले लुकामारी गर्ने खोल्साहरु
स्कुले नानीका केश बाँधेको रिबनजस्तो गुजुमुज्ज परेर
म हिँडेको सडक उत्सव मनाउनेछ बिदाइको
विश्वास गर्नुस्
एनेस्थेसियाबाट ब्युँझनुअघि बर्बराएको पनि हैन
यो साँझमा खुल्ला चौरमा उभिएर हात फिँजाउँदै
मात्तिएर बौलाउँदै कराएको पनि हैन
दाहिने हात देब्रे छातिमाथि र देब्रे हात तालुमाथि
राखेर
पोखरीमा लुकेको आकाश अनि देउता मानिएको ढुङ्गा
साक्षी राखेर भन्छु
'सीमा आभासको मृत्यु घोषणा भएको छ ।'
सत्य सत्य
यो मृत्यु श्रद्धा हो
यो मृत्यु पूजा र आराधना हो
यो मृत्युको घोषणालाई नसम्झनू आत्महत्या ।
जरुर तपस्याको प्राप्ति हो मृत्यु ।