चन्दनको'म मातेको छैन' कृति विमोचन तथा श्रद्धाञ्जली अनुष्ठान
चन्दनको'म मातेको छैन' कृति विमोचन तथा श्रद्धाञ्जली अनुष्ठान
- रजत भारद्वज, असम
आफ्नो पहिलो काव्यकृति प्रकाश गर्ने अदम्म चाहना हुँदाहुँदै अकाल मृत्युलाई अँगाल्न पुगेका युवा कवि चन्दन छेत्रीको सपनाको कविता सङ्ग्रहको गत १३ जानुवरी उनको सुद्धाइँकै दिन विमोचन भयो।
असम शोणितपुरको बालिजान निवासी चन्दन छेत्रीको गत दुई जानुवरीका दिन निजी वाहन दुर्घटनामा मृत्यु भएको थियो भने १३ जानुवारीका दिन उनको सुद्धाइँ थियो। उनले उनको मृत्युको केहीदिन मात्र अघि उनका चालिसवटा कविता छानेर कृतिको नाउँ 'म मातेको छैन' राख्ने तय गरेका थिए भने पुस्तकको आवरण पृष्ठको खाकासमेत तैयार पारिसकेका थिए। उनको मृत्युपश्चात 'इन्द्रेनी प्रकाशन, असम'ले उनका कविताहरू एकट्ठा पार्यो र 'इन्द्रेनी प्रकाशन, असम' र NeLive 24 को संयुक्त प्रयासमा उक्त कविताहरूले पुस्तकको रूप पाएका हुन्।
कवि चन्दन एक कविका अतिरिक्त एकजना सक्रिय सामाजिक कार्यकर्ता थिए। उनी अखिल असम गोर्खा छात्र सङ्घ सिङरी आञ्चलिक समितिका उप-सभापति, असम नेपाली साहित्य सभा, शोणितपुर जिल्ला समितिका कार्यकारिणी सदस्य तथा 'इन्द्रेनी' द्वैमासिक पत्रिकाको सम्पादन समितिसँग मृत्युसम्म संलग्न थिए।
यसउप्रान्त उनको एक पत्रकारका रूपमा पनि प्रसिद्धि थियो र उनी वेव पोर्टेल NeLive 24 सँग आवद्ध थिए। चन्दनको कविता वाचनको शैली पनि सारै राम्रो थिए। उनले असमका धेरै साहित्यकारका कविता, कथा, उपन्यास वाचनका भिडिओ पनि सार्वजनिक गरेको थिए। इन्द्रेनी प्रकाशनसँग संलग्न भएपछि अति छोटो समयमै उनी एक सम्भावनापूर्ण कविको रूपमा देखापरेका हुन्।
गत १३ तारिखका दिन उनकै घरको आडमा रहेको बालिजान सार्वजनीक भवनमा एक सार्वजनिक श्रद्धाञ्जली सभाको आयोजना गरिएको थियो। 'इन्द्रेनी प्रकाशन, असम', NeLive 24 तथा अखिल असम गोर्खा छात्र सङ्घ सिङरी आञ्चलिक समितिको संयुक्त आह्वानमा डाकिएको यस सभामा चन्द छेत्रीका अतिरिक्त सद्य प्रयात अखिल असम गोर्खा छात्र सङ्घ सिङरी आञ्चलिक समितिका सभापति स्वरूप पराजुली, वरिष्ठ कवि, अनुवादक, अकादमी अनुवाद पुरस्कारप्रापक साहित्यकार किरण कुमार राई, असम नेपाली साहित्य सभाका कानुनी सल्लाहकार तथा गुवाहाटी उच्च न्यायालयका वरिष्ठ अधिवक्ता जयन्त पराजुली तथा ननै महाविद्यालयका अध्यापक तथा गुवाहाटी विश्वविद्यालय गोर्खा छात्र सङ्घको मुखपत्र 'लोहित पुत्र' का प्रथम सम्पादक सागर सुवेदीलाई पनि श्रद्धाञ्जली अर्पण गरिएको थियो।
पत्रकार पूजा भारद्वाजको सञ्चालनमा सम्पन्न यस सभामा अनेसासकी कार्यकरी अध्यक्ष तथा वरिष्ठ साहित्यकार प्रा.डा. इन्दु प्रभा देवीले चन्दन छेत्रीको 'म मातेको छैन' शीर्षक कविता पुस्तक विमोचन गर्दै उनका कविताहरूको संक्षिप्त समीक्षा राखेर भावुक बन्दै प्रयात चन्दनलाई प्रचुर सम्भावना बोकेका एक युवा सर्जक थिए भनिन्।
चन्दनको उक्त पुस्तकका रूपकार, असमका वरिष्ठ कवि, समालोचक तथा इन्द्रेनी प्रकाशनका प्रतिष्ठापक रुद्र बरालले चन्दनको कविता यात्रा, उनको इन्द्रेनी परिवारसँगको संलग्नतामा प्रकाश पार्दै उनका केही कविताको विश्लेषण गरेका थिए भने मञ्चमा आसिन वरिष्ठ कथाकार खड्गबहादुर कौशिक, असम गोर्खा सम्मेलनका मूलसचिव जगदिश खनान, आग्सु सिङरी आञ्चलिक समितिका सभापति सुरज पौडेलले पनि चन्दनको सामाजिक र साहित्यिक गतिविधिमाथि छोटो वक्तव्य राखेका थिए।
यस सभामा चन्दन छेत्रीका अभिन्न मित्र तथा NeLive 24 का सञ्चालक रजत भारद्वज तथा आग्सुका पूर्व केन्द्रीय मूलसचिव गोपाल आचार्यले चन्दनका जीवनका विविध पाटाहरूमाथि प्रकाश पारेका थिए।
सभामा गोपालकृष्ण घृतकौशिकले वाचन गरेको चन्दनको कविता 'अन्तिम यात्रा'ले सबै दर्शक श्रोतालाई भावुक बनाएको थियो। यस सभाको अर्को महत्वपूर्ण कुरा हो चन्दनको एक स्मृतिग्रन्थ प्रकाश गर्ने निर्णय लिनु। त्यसदिनको सभामा प्रयात कविको कविता पुस्तकको प्राय: ६०% बिक्री हुनाले आयोजकहरूले दोस्रो संस्करण प्रकाश गर्ने सल्लाह गर्दैछन् भन्ने थाहा लागेको छ।