असमेली नेपाली साहित्यमा डम्बर दाहालको स्थान
असमेली नेपाली साहित्यमा डम्बर दाहालको स्थान
- रुद्र बराल
असम कार्बी आङलङ जिरिबासाका अवकाशप्राप्त शिक्षक, अनेसासका पूर्व सभापति, वरिष्ठ साहित्य साधक डम्बर दाहालको अभिनन्दन ग्रन्थ प्रकाशित गर्ने रे। मैले लेख्नुपर्ने 'असमेली नेपाली साहित्यमा डम्बर दाहालको स्थान'। विषयको सम्भाव्य विस्तृति र गहिराइ सोचेर डरै लाग्यो। विषय पटक्कै सजिलो होइन। विशेषगरी हामीजस्ता कटमिरा लेखक र ' भँगेरे कवि' (असमका एक चर्चित समालोचकले दिएको उपाधि)का लागि।
कुनै पनि साहित्यकारको त्यस साहित्यमा स्थान निर्णय गर्नुपर्दा पहिले त सम्पर्कित साहित्य कुन स्तरमा छ, कस्ता कस्ता साहित्यकारका सिर्जनाले आलोच्य साहित्य समृद्ध छ आदि इत्यादि कुराको लेखाजोखा हुनुपर्छ। एक तुलनात्मक दृष्टिकोणले अघि बढ्नुपर्छ। त्यस भाषाको एक निर्दिष्ट भूखण्डभित्र सिर्जिएको साहित्यसँग एक व्यक्तिविशेषको योगदानलाई तौलिनु पर्दछ। फेरि भएन मलाई लाग्छ तुलनात्मक साहित्यका मान्यताले को श्रेष्ठ अथवा को निकृष्ट भन्ने कुरासम्म हामीलाई अघिबढ्न दिँदैन।
यता कुनै व्यक्ति एउटै विधामा रुमलिएको भए पनि उसको स्थान खोज्दै आफ्नै पाइलाहरूको भरोसामा कुनै एक बिन्दुसम्म पुगिएला। तर बहुविधामा सक्रिय, बहु भाषामा कलम चलाउने व्यक्ति हुँदा त झन् गाँडमाथि पिलो थपिन्छ। संलग्न व्यक्तिप्रति अन्याय हुने सम्भावनाहरूले घरी घरी पिरोल्छ। डम्बर दाहाल त्यस्तै एक व्यक्ति हुन् जसले कथा कथे, कविता निर्माण गरे, निबन्ध लेखे, संस्मरण उतारे, समालोचक बने, अनुवाद गरे। उपन्यास र नाटकबाहेक अरू सबैतिर उनको कलम दगुर्यो।
साहित्यका लघुविधा हाइकु, युग्मम, लघुकथादेखि समालोचनाका खेतसम्म जोत्न पुग्यो उनको कलम। बाली राम्रै उमारे। युग्मकजस्तो लघुविधा असममा भित्र्याए। बाल पुस्तक लेखे तर आजसम्म कुनै ठुलो पुरस्कारले सम्मानित भएनन्। उनका पुस्तकहरूको जसरी भकाभक समीक्षा होला भन्ने ठानिएको थियो त्यस्तो पनि खासै भएन। तर नयाँ पिँढीका समीक्षक-समालोचकले भने उनका सिर्जनाहरूको समीक्षा-समालोचना गर्न अघि बढेर आए। यो खुसीको कुरा हो। झन् खुसीको कुरा हो यी बहुआयामिक प्रतिभासम्पन्न सर्जकको आज एक वृहत कलेवरको अभिनन्दन ग्रन्थ प्रकाश हुनु, सबै कृतिहरूका समीक्षा हुनु।
मैले डम्बर दाहाललाई पहिले चिनेको एक सम्पादकको रूपमा, मौलिक सर्जकको रूपमा होइन। 'हाम्रो आँट' का सम्पादक। प्रकाशक : हवाइपुर नेपाली साहित्य सम्मेलन। हामी कलेज पढ्दाको समय। १९८४-८५ ताका। त्यसताक असममा असम आन्दोलनको धङधङे सकिएकै थिएन। असममा नेपालीभाषी जनता स्थायित्व र अस्तित्वको सङ्कटमा भोगेको समय। अर्कोतिर नेपाली भाषाको संवैधानिक स्वीकृतिको माग चर्किरहेको,यहाँ बस्न पाइने हो कि होइन भन्ने डरले गोर्खाहरूको मुटु थर्किरहेको। त्यस समय असममा मकैका फुल उठेझैँ नेपाली पत्रपत्रिकाको प्रकाश हुनथालेको थियो र जातीय सङ्कट, हक र अधिकारका आवाज उठाउनमा यी पत्रिकाहरूको ठुलो योगदान रहेको थियो।
मैले लामो अन्तरालपछि डम्बर दाहाललाई फेरि पनि साहित्यमा भेटेँ सम्पादककै रूपमा। 'सभा पत्रिका' का सम्पादक, असम नेपाली साहित्य सभाको मुखपत्रको पहिलो अङ्क। 'पूर्वाञ्चलीय नेपाली साहित्य सर्वेक्षण अङ्क' का रूपमा अनेसासको टिङराई अधिवेशनमा सन् २०११ को अप्रेल महिनामा प्रकाशित।
यो पत्रिकाको स्तरीयताले सम्पादकको साहित्यिक गहिराई, जाँगर र राम्रो परिकल्पना गर्न सक्ने स्पष्ट आभास दिएको थियो। यद्यपि मैले उनलाई एक कुशल सम्पादकका रूपमा दोस्रोपटक आविष्कार गरेँ तथापि उनी सम्पादक मात्र थिएनन् योभन्दा देरैअघि नै सन् १९८६ मा उनलाई नेपाली पाठकहरूले 'आविष्कार' लघुकथा सङ्कलनको माध्यमबाट एक आख्यानकारका रूपमा पनि आविष्कार गरिसकेका थिए। उनको निबन्ध यात्रा 'हाम्रा केही मार्गदर्शक' (२००८) शीर्षकको बाल निबन्धबाट सुरु भयो। त्यसको एकसालपछि 'भानुभक्त नेपाली संस्कृति आरु अन्यान्य'(२००९) शीर्षकको असमिया भाषाको निबन्ध सङ्ग्रह प्रकाशित गरे भने सन् २०१३ मा अर्को निबन्धकृति 'निबन्ध सम्भार' प्रकाशनमा आयो। यस कृतिले उनलाई एक दक्ष निबन्धकारका रूपमा चिनायो। यसैबिच सन् २००९ मै उनको अर्को कृति प्रकाशनमा आयो 'उकुस-मुकुस' शीर्षकको हाइकु सङ्ग्रह।
पुस्तक प्रकाशनको यो तालिका हेर्दा दाहाललाई हामी एक सम्पादक, बाल साहित्यकार, आख्यानकार र निबन्धकारका रूपमा पाउँछौँ भने उनी द्विभाषी साहित्यकार हुन् भन्ने प्रमाण पनि पाउँछौँ। यो छोटो तालिकामै मैले दाहालको पूर्ण मूल्याङ्कन गर्न चाहेको होइन, तर उनको प्रारम्भिक कालका यी प्रकाशनहरूले उनको बहुआयामिक रुचि, बहुभाषिक दक्षता र लघुविधाप्रतिको उनको झुकाउको आभास दिन्छन् जो अद्यावधि अपरिवर्तित छ, अन्यविधामा अरू केही संलग्नताहरू थप्तै र जोड्दै। उनीद्वारा सिर्जित र प्रकाशित पुस्तकहरूको पूर्ण पठनले यो भनाइको अझ पुष्ठि गर्दछ।
डम्बर दाहालका हालसम्म प्रकाशित कृतिहरू :
कथा विधा :
१) आविष्कार - सन् १९८६ (लघुकथा सङ्कलन)
२) यात्राक्रममा - सन् २००८ (कथा र लघुकथा सङ्कलन)
बाल साहित्य :
१) हाम्रा केही मार्गदर्शकहरू सन् २००८
२) गाउँदै जाऔँ, सिक्दै जाऔँ सन् २०२१ (बालसाहित्य)
काव्य विधा :
१) उकुस मुकुस - सन् २००९ (हाइकु सङ्कलन)
२) अतीतका पाइलाहरू सन् २०१२ (कविता सङ्कलन)
३) हाइकु प्रवाह - सन् २०२१( हाइकु सङ्ग्रह)
४) मनका पाहुना - सन् २०२१ (युग्मक सङ्ग्रह)
निबन्ध/ समीक्षा :
१) निबन्ध सम्भार - सन् २०१३ (निबन्ध सङ्ग्रह)
२) निबन्ध पुष्प - सन् २०२१ (निबन्ध सङ्ग्रह)
३) सिर्जना सन्दर्भ - सन् २०२१ (समीक्षा)
४) भानुभक्त, नेपाली संस्कृति आरु अन्यान्य - सन् २००९ - (निबन्ध सङ्ग्रह, असमिया)
संस्मरणात्मक निबन्ध
१) विगत तीनवर्षलाई फर्केर हेर्दा सन् २०१६
२) स्मृतिप्रवाह (भाग - १) - सन् २०१८
३) स्मृतिप्रवाह (भाग-२) - सन् २०२१
४) व्यक्ति सान्निध्य - सन् २०२१
अनुवाद :
१) वीरभद्र कार्कीढोलीर निर्वाचित कविता -सन् २००९ - (असमिया अनुवाद)
२) बाहुनीचरी - सन् २०१९ (अनुवाद)
३) 'अस्तित्वर समय 'का चयनित कविता - सन् २०२१ (अनुवाद)
यसका अतिरिक्त उनी असम नेपाली साहित्य सभाको सभापतिको अभिभारा सम्हालेको समयमा विभिन्न पुस्तक, पत्र-पत्रिकाका लागि लेखेका शुभकामनाहरूलाई पनि 'शुभेच्छा सम्भार' (सन् २०१६) शीर्षकमा पुस्ताकाकार रूप दिएका छन् र यसरी उनीद्वारा हालसम्म प्रकाशित पुस्तकको सङ्ख्या २० पुग्न गएको छ भने मोठ सम्पादित कृतिको सङ्ख्या १० रहेको छ। उनले 'हाम्रो आँट'का एघार अङ्क र 'सभा संवाद'का नौ अङ्क सम्पादन गरेका हुन्।
यो तालिकाबाट डम्बर दाहाल लगनशील-जाँगरिला साहित्यकार हुन् भन्ने पनि छर्लङ्ग हुन्छ। प्रस्तुत लेखमा दाहालको साहित्य र सामाजिक सङ्गठनमा रहेको अमूल्य योगदानको बारेमा चर्चा नगरेर उनको साहित्यिक योगदानतिर मात्र ध्यान आकर्षण गर्ने प्रयास गरिएको छ।
डम्बर दाहाल बाँचेको युग :
पूर्वोत्तर भारतको लिखित नेपाली साहित्यको थालनी सन् १८९३ मा मणिपुरका लेन्सनायक तुलचल आलेको 'मणिपुरको लडाइँको सवाइँ' बाट हो भन्ने मानिन्छ। यो युग मुख्यत सवाइँ र लहरी काव्यको युग थियो। बिसौँ शताब्दीको दोश्रो दशकदेखि असममा नेपाली नाटकको युगारम्भ भयो र हरिनारायण विद्याभूषणहरूले अनुवाद नाटकको परम्परा बसाले। उता कोहिमाका हरिप्रसाद गोर्खा राई, धनबहादुर सुनार र गोविन्दचन्द्र पैराहरूको अगुवाइमा नेपाली साहित्यका अन्य फाँट निबन्ध, आख्यानतिर लम्कियो।
हरिप्रसाद गोर्खा राईको नेतृत्वमा असमिया र नेपाली साहित्यको सेतु निर्माणको कामको थालनी भयो विगत शताब्दीको तेस्रो दशकमा। चौथो दशकमा नेपाली साहित्यको नेतृत्वमा रह्यो सिलाङ। यसै कालावधिमा मणिसिंह गुरुङको नेतृत्वमा सिलाङबाट सन् १९३६ मा 'गोर्खा सेवक' नाउँको यस भेकको पहिलो पत्रिका प्रकाशनमा आयो। त्यसपछि तेजपुरबाट 'प्रभात' र गुवाहाटीबाट 'हिमाद्री' प्रकाशनमा आए। नेपाली भाषा साहित्यको चर्चाले पूर्वोत्तर भारतको यो दोस्रो चरणमै एउटा गति प्राप्त गर्यो।
तेस्रो चरण अर्थात् स्वाधीनोत्तर कालमै असमेली नेपाली साहित्यमा स्वच्छन्दतावाद तथा आधुनिकतावाद भित्रियो। प्रगतिवादको उठान पनि यही समयवधिमा भयो भने दार्जिलिङमा इन्द्रबहादुर राईको नेतृत्वमा चलेको आयामेली आन्दोलनको प्रभाव पनि श्याम लिवाङलगायत दुई एक कविमा परेको देखिन्छ। अविनाश श्रेष्ठले नाटकमा नयाँ प्रयोग भित्र्याए। यसै समय असमेली नेपाली साहित्यको कविता विधामा हरिभक्त कटुवाल, आख्यानमा लीलबहादुर क्षेत्री र विक्रमवीर थापा, नाटकमा प्रेमसिंह सुवेदीको उल्लेखयोग्य योगदान रहेको देखिन्छ।
यस चरणमै प्रेमसिंह सुवेदी, गोकुलप्रसाद जोशी, दील साहानीहरूको नेतृत्वमा असमेली नेपाली प्रगतिशील साहित्यले पनि जग बसाइसकेको थियो। नेपाली साहित्य परिषद, असम जन्मिसकेको थियो, अखिल भारतीय नेपाली भाषा समितिको राज्य शाखा खोलिएको थियो र युवा कवि-नाटककार अविनाश श्रेष्ठका नेतृत्वमा 'कोलाज' साहित्यिक आन्दोलन चलिसकेको थियो।
डम्बर दाहाल असमेली नेपाली साहित्यका चौथो चरणका साहित्यकार हुन्, अर्थात उनी बिसौँ शताब्दीको ८० को दशकपछिका साहित्यकार हुन्। असमेली नेपाली साहित्यमा सन् १९८० देखि समकालीन युगको आरम्भ भएको मानिन्छ। कविता क्षेत्रमा नवसापकोटा र युद्धवीर राणालाई समकालीन धारा भित्र्याउने कविको श्रेय दिइने गरिएको छ। यस समयमा असममा चलेको विदेशी वहिस्कार आन्दोलन, नेपाली भाषाको संवैधानिक मान्यताको आन्दोलन, गोर्खाल्यान्ड आन्दोलन, आर्थिक उदारीकरण, सञ्चार माध्यममा टिभीले ल्याएको नयाँ क्रान्ति आदिले मानिसको चिन्तन-मननमा नयाँ ज्वार ल्यायो। साहित्यमा नयाँ वाद-मान्यता भित्रिए, आधुनिकताबाट साहित्य उत्तर-आधुनिकतातिर ढल्कियो, असमेली नेपाली साहित्यमा पनि विनिर्माणवादी लेखन, लीला लेखनको प्रभाव पर्यो।
उत्तर-उपनिवेशवादी चिन्तन, किनारीकृतहरूको पक्षधरता, नारीवादी लेखनदेखि परिवेश विमर्श भित्रिनुसम्मका घटनाहरूको डम्बर दाहाल साक्षी हुने मौका पाए। उनले साहित्यमा अनेक लघुविधाहरूको आगमन देखे-पढे-लेखे। उनको समयसम्ममा असमका लेखकहरूले रामप्रसाद ज्ञवाली, चन्द्रकुमार शर्मा आदिका उच्चकोटिका निबन्ध, चन्द्रेश्वर दुवे, भीमकान्त उपाध्यायहरूका समालोचना पनि पढिसकेका थिए। डम्बर दाहाललाई यही साहित्यिक घडेरीमा उभ्याएर उनको बहुमुखी साहित्य सिर्जनाको स्थान निर्धारण एक जटिल कार्य हो।
हरेक साहित्यिकको आआफ्नो रुचि हुन्छ, दर्शन हुन्छ, शैली र संरचना आफ्नै हुन्छ। पाठकको रुचि र उपलब्धिको स्तर पनि भिन्न भिन्न हुन्छ। सायद त्यसैले होला कहिलेकाहीँ एक समयका निकै लोकप्रिय सिर्जनाहरूको पनि समालोचकहरूले त्यति चर्चा गर्दैनन्। जस्तै - नेपाली उपन्यासकार प्रकाश कोविदका उपन्यासहरू। अब यही कुरो डम्बर दाहाल अथवा तपाईं हामी सबैका क्षेत्रमा प्रयोग हुन सक्छ - हामी लोकप्रिय हौँ कि समालोचकीय दृष्टिले स्तरीय हौँ? यो कुराको अझ पुष्ठि गर्न हामी इन्द्रबहादुर राइसम्म पुग्न सक्छौँ। राईका धेरै कृतिहरू पाठकका लागि सुबैध्य छैनन् - जस्तै 'यहाँ रमिता छ' उपन्यास। सोही प्रकारले ईश्वरवल्लभको 'आगोका फूलहरू हुन्, आगोका फूलहरू होइनन्' कविता कृतिभित्रका कविताहरू कति आम पाठकका लागि बोधगम्य होलान? तर, नेपाली साहित्यमा यी कृतिहरूको छुट्टै स्थान छ, कसैले नकार्न सक्तैन।
रचनाहरूमा डम्बर दाहाल :
दाहालको साहित्य यात्रा कथा विधाबाट थालिएको हो। उनको पहिलो लघुकथा सँगालो 'आविष्कार' प्रकाशित भएको २२ वर्षपछि उनको अर्को कथाकृति 'यात्राक्रममा' प्रकाशित हुन्छ। लघु आयामका कथा लेख्ने दाहालका कथाहरू शैली र संरचनागत दृष्टिले पारम्परिक भए तापनि विषयगत, विचारगत दृष्टिकोणले भने प्रभावकारी छन्। छोटो आयाम उनका कथाहरूमा मात्र होइन कवितामा पनि पाइन्छ।
मोठ कृतिको सङ्ख्या हेर्नु हो भने दाहाललाई निबन्ध लेखनमा अधिक आग्रही देखिन्छ। उनको नेपाली र असमिया मिलाएर निबन्धका आठ पुस्तक प्रकाशनमा आएका छन्। यी निबन्धहरूमा चार संस्मरणात्मक निबन्ध रहेका छन्। दाहालको पहिलो निबन्ध कृति 'निबन्ध सम्भार' को भूमिकामा प्राध्यापक दुर्गा घिमिरेले लेखेका छन् "विद्धतापूर्ण र अध्ययनपुष्ट यी निबन्धहरू पर्गेल्नु र मौरीका घारमा हात हाल्नु एकै हो जस्तो भएको छ। लेखकको मानसिक गहिराइको पीँधसम्म पुग्न डुबुल्की मार्नुपर्छ र पो लेखक एवम् पाठकको तादात्म्य हुन सक्छ नभए प्रयास यसै खेर जान सक्छ।" भूमिकाकारले भनेजस्तै छन् यस कृतिमा समावेशित निबन्धहरू। कुल पन्ध्रवटा निबन्धको यस सङ्कलनमा मुख्यत वस्तुपरक निबन्धले स्थान पाएका छन्। सङ्कलन विविधतापूर्ण छ।
इतिहासपरक, समीक्षात्मक, भाषा-साहित्यसम्बन्धित निबन्धका अतिरिक्त यहाँ कृष्ण धरावासीसँग लिइएको एक अन्तर्वार्तासमेत समेटिएको छ। निबन्धहरू तथ्यपरक र तार्किक छन्। उनको विषयको गहिराईसम्म पुगेर विश्लेषण गर्न सक्ने क्षमताको प्रमाण यी निबन्धहरूले दिने गर्छन्।
'निबन्ध पुष्प' शीर्षकको उनको अर्को निबन्ध सङ्ग्रहमा पनि उनले पन्ध्रैवटा निबन्ध समावेशित गरेका छन्। यस सङ्ग्रहमा भने केही आत्मपरक निबन्ध पनि रहेका छन्, रिपोर्टहरू छन्, ईतिहास छ। भूमिकाकार मोहन सुवेदीले, "यो सङ्कलन उहाँको सुदीर्घ समयको अनुभव र अभिज्ञताको सुनौलो फसल हो। उहाँका निबन्धहरू निरन्तर प्रवाहित जलश्रोत जसरी सामाजिक जीवनबाट प्रवाहित स-साना घटनालाई सहज र सरल भाषामा लिपिबद्ध भएको पाइन्छ' भनेका छ्न्। हो , पनि दाहाल समाजका स-साना विषयहरूलाई सहज भाषामा रोचक ढङ्गले प्रस्तुत गर्न सक्ने निबन्धकार हुन्।
'सिर्जना सन्दर्भ' दाहालको चौधवटा समीक्षात्मक लेखहरूको सँगालो हो। यहाँ केही निर्दिष्ट साहित्यिक कृति र केही साहित्यिक व्यक्तित्वलाई विश्लेषणमा ल्याइएको छ र प्रभाववादी स्वरमा व्यक्तित्व र कृतित्वको विश्लेषण गरिएको छ। उनले यहाँ तुलनात्मक समीक्षा समेत अघिबढाएका छन् जुन चाहिँ पूर्वोत्तरको नेपाली साहित्यमा विरलै पाइन्छ।
'व्यक्ति सान्निध्य' डम्बर दाहालको संस्मरणात्मक निबन्धहरूको पुस्तक हो। यस कृतिमा १२ वटा निबन्ध समेटिएको छ। प्रस्तुत कृतिमा दाहालले नेपाली साहित्य, समाज र साहित्य सङ्गठनका कार्यकर्ताहरूसँगको आफ्नो भेटघाटका रमाइला पल र उनीहरूको सान्निध्यको अनुभव लिपिबद्ध गरेका छन्। यसो गर्न जाँदा सर्जक व्यक्तित्वको सिर्जनाका केही विश्लेषणसमेत राखेका छन्, केही उद्धरण प्रस्तुत गरेका छन्, उनीहरूको व्यक्तित्वको छविसमेत यहाँ प्रस्तुत गरेका छन्। प्रस्तुत पुस्तक धेरै तथ्यपरक पनि रहेको छ। दाहालको स्मृति कति प्रखर रहेको छ उल्लिखित पुस्तकबाट थाहा हुन्छ।
दाहाल मुख्तत संस्मरणात्मक लेख लेख्न खप्पिस छन्। 'स्मृतिप्रवाह-१' र स्मृतिप्रवाह-२' आफ्ना जीवनका ससाना रोचक घटनाहरूका शृङ्खलित गरेर लेखेका दस्तावेज हुन्। यी दुई पुस्तकलाई लेखकको आत्मजीवनी पनि भन्न मिल्दछ। उनको बाल्यकाल, विद्यार्थी जीवनदेखि सांगठनिक जीवनका रोचक प्रसङ्गहरूलाई यहाँ कथात्मक शैलीमा प्रस्तुत गरिएको छ।
'विगत तीन वर्षलाई फर्किएर हेर्दा' उनी असम नेपाली साहित्य सभामा सभापतिको दायित्व सम्भालेर बसेको तिन वर्षको गतिविधिको दैनिकी हो। यस ग्रन्थले उनको साङ्गठनिक दक्षताको प्रमाण दिँदछ।
'हाम्रा केही मार्गदर्शकहरू' बाल उपयोगी जीवनी हो। यसमा दाहालले साहित्यिक र सामाजिक क्षेत्रमा योगदान पुर्याउने सफल व्यक्तित्वको जीवनी प्रस्तुत गरेका छन्।
नेपाली साहित्यमा लघुकथाकारका रूपमा झुल्किएका दाहालका दुई थान कथा सङ्ग्रह प्रकाशित छन्, 'आविष्कार' र 'यात्राक्रममा'। दाहालको भनाइ ''कथा, कविता र निबन्धहरू लेखिरहे पनि मेरो प्रिय विधा हो लघुकथा'' बाट उनको लघुकथाप्रतिको प्रेम स्पष्ट हुँदछ। सायद त्यसैले होला उनले 'यात्राक्रममा' पुस्तकलाई कथा सँगालो भनेर लेखे पनि पुस्तकभित्र तिनवटा मात्र कथा र बाँकी तेत्तिसवटा लघुकथालाई स्थान दिएका छन्। यसरी उनका लघुकथाको सङ्ख्या ३१ र ३३ गरी ६४ पुग्न गएको छ।
आविष्कार लघुकथा सँगालोलाई साहित्यकार मोहन सुवेदीले पूर्वाञ्चल भेकबाट प्रकाशित पहिलो लघुकथा सँगालो हो भनेका छन्। हुन त उनीभन्दाअघि हरिभक्त कटुवालले पनि यस भेकबाटै लघुकथाहरू लेख्न थाले, प्रकाशित पनि गरे, तर उनको पूर्णाङ्ग लघुकथा सँगालो निस्किएन 'स्पष्टीकरण' कथा सङ्ग्रहभित्रै केही लघुकथाका स्वरूपका कथा गाभेका छन् भने ' चपरी र टपरी' जस्ता फुटकर लोककथा पनि सिर्जना गरेका छन्।
दाहालको लघुकथाको सँगालो 'आविष्कार'लाई त्यसैले पूर्वोत्तरको पहिलो लघुकथा सँगालो मानिएको हो। आविष्कारभित्र रहेका लघुकथाले लघुकथाका सबै लक्षणहरूको निर्वाह गरेका छन्। विविध विषय समेटेका यी कथाहरू प्रतीकात्मक छन्, भाषाशैली सरल छ, ठेट नेपाली भाषाको प्रयोग छ। यात्राक्रममा पनि यो परम्परा छ, यहाँ केही विनिर्माणवादी कथा र लघुकथा छन्, तर लघुकथाको बनोट र बुनट हेर्दा आविष्कारलाई यात्राक्रममा भन्दा माथि राख्न कर लाग्छ। तर, यात्राक्रममा रहेको कथा 'यसरी दु:खीको दिन गुज्रन्छ' एक उत्कृष्ट कथा हो।
दाहालका कथाहरूमा जातीय प्रेम, सामाजिक विसङ्गतीको भण्डाफोर, शोषण, अन्याय, अन्धविश्वासको विरोध, निम्नवर्गको दु:ख-दुर्दशाको अन्त्यको कामना र समाज परिवर्तनको चाहनाले उनलाई एक विशुद्ध प्रगतिवादी कथाकारका रूपमा उभ्याएको छ। जो अझै गहन गरी अध्ययन गर्ने विषय हो।
कविता विधामा उनले एक कविता सँगालो दुई हाइकु कृति र एक मुक्तक सङ्ग्रह प्रकाशित गरेका छन्। असममा हाइकुलाई लोकप्रिय पार्न गोविन्द शान्डिल्यपछि नै उनैको नाउँ लिनुपर्छ। अर्कोतिर डम्बर दाहाल नै हुन् असमबाट युग्मक सङ्ग्रह निकाल्ने अहिलेसम्मका एकमात्र सर्जक। उनको अतीतका पाइलाहरू कविता सङ्ग्रहको समीक्षा गर्ने क्रममा समालोचक नैना अधिकारी लेख्छिन्, 'डम्बर दाहाल पाठकले सहजै कविता बुझून् भन्ने मनसाय राखेर कविता लेख्ने कवि हुन्। अतीतका पाइलाहरू कविता सङ्ग्रहमा उनले विविध विषयका कविता लेखेका छन्। उनले विशेषगरी प्रेमसम्बन्धित कविताहरूमा प्रकृतिप्रेम, जातिप्रेम, देशप्रेम, मानवीय प्रेमका कविताहरू लेखेका छन्। कवि दाहालको आफ्नै जीवन दर्शन छ र यो जीवन दर्शनमा उनले जीवनलाई अनेक कोणबाट निहालेर हेरेका छन्।
उनी कहिले जीवनको क्षणभङ्गुरतादेखि निराश छन्, कहिले फेरि आशावादी देखिन्छन्। मानवीय प्रवृत्तिलाई राम्रोगरी निरीक्षण गर्ने दाहाल मानवतावादी, सुधारवादी र परिवर्तनकामी सोच राख्तै मानिसका अमानवीय हरकत, भ्रष्टाचारी चरित्र, अन्यायपूर्ण आचरणको विरोध गर्न पुगेका छन्। ... उनका कविताहरूको मूल स्वर हो प्रेम र भाइचारा भएको एउटा सुन्दर समाजको चाहना।"( साहित्य सिर्जनाका बान्कीहरू, पृ. २६-२७)
यति हुँदाहुँदै पनि उनको कथाकार र निबन्धकार व्यक्तित्वले कवि व्यक्तित्वलाई उछिन्न सकेको छैन। तर, असमेली नेपाली कवितामा युग्मक विधा भित्र्याउने र हाइकुलाई लोकप्रिय पार्ने श्रेय उनमा जान्छ।
उपसंहार :
बहुआयामिक प्रतिभाका धनी डम्बर दाहालको नाउँ समकालीन असमेली नेपाली साहित्यमा अग्रपङ्क्तिमा गनिन्छ। निबन्धको सन्दर्भमा उनले संस्मरणात्मक निबन्ध लेखनमा असमेली नेपाली साहित्यकारहरूलाई उछिनेका छन्, उनका जति र उनको स्तरका संस्मरणात्मक निबन्ध लेख्ने साहित्यकार निस्कन बाँकी नै छ। लघुकथामा आजको मितिसम्म उनका हाराहारीका लघुकथा लेख्ने अन्य साहित्यकार देखापरेका छैनन्। त्यसैगरी कविताका लघुविधाप्रति उनको निकै झुकाउ देखेन्छ जसलाई नयाँ छिमलका साहित्यकारले अनुकरण गरेको देखिन्छ।
आदरणीय डम्बर दाहालज्युको बारेमा धेरै जानकारी प्राप्त भएको छ। गहकिलो रचना। रचनाकार रुद्र बराल ज्युलाई बधाई छ।