आफ्नै वर्तमान - नकुल काजी

नकुल काजी · भदौ १८, २०८३ ८:२३ PM
Cover Image for News


 पहिला पनि  पटक-पटक
समसामयिक परिस्थितिको पाषाण अदालतमा
भक्ति र स्तुतिका शब्दहरू खोजिएर
काउछोकै जातको 'दरपिठ' भोगेको
तर, अहिले अदालतमा दर्ता त भएको
दर्ता भइसकेको ला...मो फेरादपत्र !...
..चार बीस एक बित्ता लामो फेरादपत्रमा
कुनै पनि होस् न किन ?
'एउटा कुनै गिरोह-सापेक्ष देखिनुपर्थ्यो नि !'
हो त्यो कुरोको दफा छुटेर
अर्थात् ,
समयोचित सप्ल्याँटा शब्दहरू नपुगेर
'निरपेक्ष भावनाद्वारा निर्देशित' भन्ने ठहर  भई
हारेको मुद्दा जस्तै -
मेरा यो वर्तमान !

गाँजा,भाङ, धतुरो र भित्तीका पुच्छर खाइहिंड्ने
निकम्मा भइसकेका 'पङ्स'-हरूको हुद्दा जस्तै
मेरो यो वर्तमान !

सञ्चित खातामा दाम सिद्धिएर
भुक्तानी काउन्टरबाट फर्काइएको चेक जस्तै !
सयौँ इष्टमित्रहरूको भीडमा पनि लाग्दैछ -
एक्लोपनको शून्यताले बिदीर्ण अभेक जस्तै
मेरो यो वर्तमान !

गेट-किपरले वेपर्वाह च्यातेर फिर्ता थमाउने
सिनेमा हलको अर्द्धकट्टी टिकट जस्तै
(के काम त्यो खोस्टोको !?!) ....
र, दाहसंस्कारपछि उदास मलामीहरू
निन्याउरा अनुहारका छाँयामा 'मनोभाव'-हरू दफन गर्दै
चिया-नास्तामा लागेका खिन्न 'विकट' जस्तै
मेरो यो वर्तमान !

गाडी पर्खिंदा-पर्खिंदा बल्ल आयो
भेट्न कुद्दाकुद्दै हार खुवायो
र, क्लान्त-उद्विग्न बनेको मुहार जस्तै
बलात्कारले पवित्र चीर लथालिङ्ग भएकी लज्जावती  किशोरीले -
बलात्कारीसँगै गरिरहेकी गुहार-पुकार जस्तै
मेरो यो वर्तमान  --
भड्किरहेछ !
खट्किरहेछ !
पोलिइरहेछ ! .....
कहिले मुलायम कल्पनाको उडानभित्र
र, कहिले क्रूरतम् यथार्थको जर्कटे गेगरमाथि
उदास, अनुतप्त, अँध्यारो....
प्रियजनको चोला उठेको घर-प्राङ्गणमा कहालिएको 'तिहार' जस्तै
मेरो यो वर्तमान !

सँगैका साथी-सङ्गीहरू मान्छेको मानिसबाट उड्दै
पन्सिएर प...र  पर पुगे
र, शक्तिको सिंहासन हाँक्ने भए
र, उनका बोलीहरूको महिमा भयो
म 'सत्य'-को सुकोमल काखमा भाेक न निद्रामा अलल्लिएछु
र, मेरो रुग्न दैनिकी ....
सदा कागजको खेतमा अक्षर रोपाइँको  रमिता भयो
अन्ततः मेरो बोलीको यस्तै कविता भयो !                                       

 

                             *   *   *   *   *

टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।
सम्बन्धित पोस्टहरू
आर्यान प्रसाईंको कविता - पानी
आर्यान प्रसाईंको कविता - पानी
आर्यान प्रसाईं - बिहिबार ३ सेप्टेम्बर २०२६
साथी
साथी
✍️रीदम गिरी, पोष्ट-दिलिप घिमिरे - बिहिबार ३ सेप्टेम्बर २०२६
एक्लो बाटोको गीत
एक्लो बाटोको गीत
रिमेन आलोक - मङ्गलबार १ सेप्टेम्बर २०२६
म मरेको दिन…
म मरेको दिन…
कर्ण गुरुङ - मङ्गलबार १ सेप्टेम्बर २०२६