विश्व नेपाली साहित्य महासङ्घको कार्यक्रम काठमाडौंमा आज उद्घाटन हुदै

दिलिप घिमिरे · कार्तिक १०, २०८१ ७:१३ AM
Cover Image for News

१०गते कार्तिक /विश्व नेपाली साहित्य महासङ्घ, विश्व केन्द्रीय समितिको आयोजनामा आजबाट विश्व सम्मेलन हुदै छ ।

 आज सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख अतिथ्यमा काठमाडौंको गौशलास्थित होटल आनन्दमा भोलिसम्म  चल्ने  कार्यक्रमको पहिलोसत्र उद्घाटन हुने महासङ्घका केन्द्रीय अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले जानकारी गराउनुभयो ।

 कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयन मन्त्री, विभिन्न विश्वविद्यालयका उपकुलपतिहरू, प्रज्ञा-प्रतिष्ठानहरूका कुलपतिहरू, उपकुलपतिहरू, राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका वौद्धिक व्यक्तित्वहरू, प्रतिष्ठित लेखक साहित्यकारहरू, विश्वविद्यालयहरूका विभाग प्रमुखहरू, प्राध्यापकहरू, राजदूतहरू, समाजमा प्रत्यक्ष सरोकार राख्ने चर्चित व्यक्तित्वहरू, कलाकारहरू, साहित्यकारहरू लगायतको बाक्लो उपस्थिति रहने कुरा पनि अध्यक्ष लिम्बूले अवगत गराउनु भएको छ । 

कार्यक्रमलाई पाँच सत्रमा विभाजन गरिएको छ ।
 साहित्यको महाकुम्भ मानिने यो कार्यक्रममा विश्वका विभिन्न देशको सहभागिता रहने उक्त कार्यक्रममा एकै साथ १४ वटा पुस्तकहरूको लोकार्पण हुनेछ भने राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका विभिन्न विशिष्ट व्यक्तित्वहरूलाई पुरस्कृत एवम् सम्मानित पनि गरिने छ ।

 कार्यक्रम “नेपाली साहित्यको विश्वव्यापीकारण, हाम्रो अभियान” मूल नाराका साथ आयोजना गरिएको हुनाले यो मूल विषयमा प्रा.डा. गोविन्दराज भट्टराईले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । त्यसैगरी अहिलेको जल्दोबल्दो विषय पर्यावरणीय समस्या रहेको हुनाले लामो समयदेखि पर्यावरण क्षेत्रमा काम गरिरहनु भएका असमका प्रा.डा. देवेन सापकोटाले पर्या कार्यपत्र प्रस्तुत गर्नु हुनेछ ।

पहिलोसत्रमा कार्यक्रमको उद्घाटन गर्नु हुनेछ त्यसपछि पुस्तक लोकार्पण, पुरस्कार सम्मान समर्पण र विशिष्ट व्यक्तित्वहरूको मन्तव्य रहने छ ।
  दोस्रोसत्र सम्मेलनको प्रमुखसत्र हुनेछ । यो सत्रमा कार्यपत्रहरू प्रस्तुत हुनेछन् । केही सृजना वाचन र विशिष्ट मन्तव्यहरू रहने छन् । तेस्रोसत्र बेलुका हुनेछ । यो सत्रमा केही मन्तव्यहरू रहेतापनि सृजना वाचन प्रमुख हुनेछ ।

Photo

 चौथो सत्र भोलि ११ गते बिहान सात बजे हुनेछ । यो बन्दसत्र पनि हो । यो सत्रमा महासङ्घ परिवारको मात्रै सहभागिता रहनेछ । यसमा शाखाहरूले गरेको कार्य र भावी योजनाहरूको बारेमा रिपोर्टिङ हुनेछ । पाँचौसत्र खाजापछि साढे आठमा सुरु हुनेछ । यो सत्रको प्रमुखता पनि केही मन्तव्य र सृजना प्रस्तुती नै रहनेछ । यसरी एघार बजे दुई दिने विश्व सम्मेलनको समापन हुनेछ ।

 खानापछि अपरान्ह विदेशी पाहुनाहरूलाई महामहिम राष्ट्रपतिसँग साक्षात्कार गराइने कार्यक्रम रहेको छ भने १२ गते बिहान अतिथिहरूको बिदाई हुने महासङ्घका केन्द्रीय उपाध्यक्ष तथा स्वीकारोक्ति दर्शनका प्रवर्तक डेन्जम साम्पाङले जानकारी गराउनुभयो ।

ट्यागहरू:
विश्व साहित्य
टिप्पणीहरू
User
यहाँ अझै कुनै टिप्पणी छैन। यस पोस्ट सम्बन्धी कुनै टिप्पणी भए माथिको फर्ममा टिप्पणी थप गर्नुहोस गर्नुहोस्।